मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार ०९:११:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक महिनामै दर्ता भए सात अर्ब लगानीका ६ वटा तारे होटेल

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार ०९:११:००

बुढानीलकण्ठमा खुल्दै छ पाँचतारे ‘बुढानीलकण्ठ हेरिटेज’, झापामा मात्रै चार अर्ब लगानीका दुई होटेल खुल्ने

एक महिनाको अवधिमा सात अर्ब १० करोड रुपैयाँ लगानी प्रतिबद्धता गर्दै ६ वटा तारे होटेल दर्ता भएका छन् । चालू आर्थिक वर्ष ०७९/८० को पहिलो महिना साउनमा दुईवटा झापा र चारवटा काठमाडौंमा सञ्चालन गर्ने गरी होटेलहरू दर्ता भएको उद्योग विभागले जनाएको छ । यी होटेल सञ्चालनमा आउँदा तारे होटेलमा चार सय ७१ कोठा थपिनेछन् । 

उद्योग विभागमा दर्ता भएको पाँचतारे होटेल ‘बुढानीलकण्ठमा हेरिटेज’ जनवरी २०२३ देखि सञ्चालनमा आउने तयारीमा छ । करिब १३ रोपनी क्षेत्रफलमा बनिरहेको होटेल नौ तलाको हुनेछ, जहाँ एक सय दुई कोठा रहनेछन् । दुई अर्ब ४० करोड रुपैयाँ लगानी हुने होटेलको ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । होटेलको व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड ल्याउने तयारी छ । यो होटलमा शिक्षाविद् डा. राजेन्द्र केसी, व्यवसायीहरू बाबुकाजी कार्की, हरिप्रसाद पाठक, जलेश्वर पाण्डे, सिए दीपक पाण्डेय, अम्बिकाप्रसाद पौडेल, सिए नवराज बुर्लाकोटी, जनकप्रसाद भट्ट तथा दीपेन्द्र श्रेष्ठलगायत विभिन्न क्षेत्रमा कार्यरत टिमको संयुक्त लगानी रहेको छ । होटेल चक्रपथबाट करिब पाँच किलोमिटर दूरीमा रहेको एक सञ्चालकले बताए ।

बुढानीलकण्ठमै अर्को पाँचतारे होलिडे इन होटेल पनि सञ्चालनको अन्तिम तयारीमा छ । २६ रोपनी क्षेत्रफलमा दुई अर्ब ६० करोड लगानीमा बनिरहेको होलिडे इनमा एक सय १५ कोठा हुनेछन् । यस्तै, बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले पनि बुढानीलकण्ठमा करिब ६ अर्ब लगानी गरेर पाँचतारे होटेल खोल्न गत वर्षमै उद्योग विभागमा दर्ता भइसकेको छ । 

झापाको मेचीनगरमा होटेल सञ्चालन गर्ने गरी ‘होटेल इस्टर्न नेपाल’ दर्ता भएको छ । यो होटेलमा एक अर्ब ६९ करोड रुपैयाँ लगानी हुनेछ । ९९ कोठा रहने यस होटेलमा दुई सय ५० सिट क्षमताको रेस्टुरेन्ट पनि हुनेछ । यो होटेल पनि स्वदेशी लगानीमै सञ्चालनमा आउन लागेको हो । झापाकै मेचीनगर–१३ मा सञ्चालन गर्ने गरी अर्को होटेल आयुष्मान होटेल पनि दर्ता भएको छ । ९५ कोठा हरने यस होटेलमा दुई अर्ब ५१ करोड लगानी गर्ने प्रतिबद्धता छ । शतप्रतिशत स्वदेशी लगानी रहने यस होटेलमा एक सय ९० सिट क्षमताको रेस्टुरेन्ट हुनेछ ।

१५ करोड रुपैयाँ लगानीमा काठमाडौं–२६ मा मारिया होटेल एन्ड रेस्टुरेन्ट सञ्चालनमा आउने भएको छ । यो होटेलमा ४५ कोठा हुनेछन् भने एक सय ७२ सिट क्षमताको रेस्टुरेन्ट हुने उद्योग विभागले जनाएको छ । यो होटेल शतप्रतिशत विदेशी लगानीमा सञ्चालनमा आउन लागेको हो । यस्तै, काठमाडौं–१६ मा २० करोड पूर्णतया विदेशी लगानीमा युवान होटेल एन्ड रेस्टुरेन्ट सञ्चालनमा आउने बताइएको छ । यो होटेलमा ५० कोठा र एक सय ५० सिट क्षमताको रेस्टुरेन्ट हुनेछ । काठमाडौं–२६ मा १५ करोड लगानीमा हुवालिन होटेल एन्ड रेस्टुरेन्ट खोल्न उद्योग विभागमा दर्ता भएको छ । ४० बेड र ५० सिटको रेस्टुरेन्ट रहने यस होटेलमा पनि पूरै विदेशी लगानी हुनेछ ।

 साउनमा समग्रमा साढे ३५ अर्बका उद्योग दर्ता
साउनमा विभिन्न क्षेत्रका २० वटा उद्योग–परियोजना विभागमा दर्ता भएका छन्, जहाँ ३५ करोड ४८ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता छ । ऊर्जामूलक चारवटा परियोजनामा २५ अर्ब ७३ करोड लगानी हुनेछ । दोलखाको बिगु गाउँपालिकामा ९९.८ मेगावाट क्षमताको तामाकोसी पाँचौँ जलविद्युत् आयोजना निर्माण गर्नका लागि १६ अर्ब ४६ करोड लगानीको एउटै परियोजना दर्ता भएको छ । 

यस्तै, सूचना तथा सञ्चार प्रविधिमा आधारित पाँच करोड लगानीको एउटा उद्योग दर्ता भएको छ । उत्पादनमूलक क्षेत्रका पाँचवटा उद्योगमा दुई अर्ब ३९ करोड, सेवामूलक चार उद्योगमा २९ करोड र पर्यटनका ६ परियोजनमा सात अर्ब १० करोड लगानी गर्ने प्रतिबद्धता छ । यी परियोजना सञ्चालनमा आउँदा एक हजार ६ सय ६९ जनाले रोजगारी पाउनेछन् ।