१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण ३० सोमबार ०८:३९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भदौ दोस्रो साता पोखरामा राष्ट्रिय खुला स्नुकर प्रतियोगिता

Read Time : > 1 मिनेट
२०७९ श्रावण ३० सोमबार ०८:३९:००

भदौ दोस्रो सातादेखि पोखरामा प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता २०७९ हुने भएको छ । पोखरा महानगरपालिका– ८ स्थित डेभिज स्नुकर क्लबमा प्रतियोगिता १२ देखि १९ भदौसम्म हुन लागेको हो । डेभिज स्नुकर क्लबको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका खेलकुद विकास समिति, नेपाल विलियार्डस् स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । 

देशभरका १२८ जनाले प्रतिस्पर्धा गर्ने
प्रतियोगितामा देशभरका एक सय २८ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक शंकर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कास्कीका ४८ जनासँगै काठमाडाैं, भक्तपुर, ललितपुर, बुटवल, धरानसहित देशका प्रमुख सहरबाट खेलाडीहरू आउनेछन् । नकआउटका आधारमा खेलाइने प्रतियोगिता मान्यताप्राप्त राष्ट्रिय निर्णायक मार्करहरूबाट सञ्चालन हुनेछ । 

प्रतियोगिताका विजेताले एक लाख ५१ हजार एक सय ११, दोस्रोले ७१ हजार एक सय ११, सेमिफाइनलिस्ट (दुईजना)ले १५ हजार एक सय ११ र हाइयस्ट ब्रेकरले २१ हजार एक सय ११ रुपैयाँका साथमा सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि २१ लाख ५० हजार आम्दानी र १८ लाख २८ हजार खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

राष्ट्रिय खेलकुदमा समावेश नगरिएकोमा गुनासा
नेपाल विलियार्डस स्नुकर तथा पुल संघका पदाधिकारी एवं खेलाडीहरूले राष्ट्रिय खेलकुदमा स्नुकरलाई समावेश नगरिएको भन्दै गुनासो गरेका छन् । प्रतियोगिताबारे जानकारी दिन आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघ कास्कीका अध्यक्ष सागरकुमार शाहीले छैटौँ र सातौँ संस्करणको खेलकुद प्रतियोगितामा स्नुकरलाई समावेश गरे पनि आठौँमा हटाइएको थियो । आगामी असोजमा हुने नवाैँ संस्करणमा समावेश गर्न आग्रह गरिए पनि नगरिएको उनीहरूको गुनासो छ । 

राष्ट्रिय खेलाडी मनीष प्रधान र महेन्द्र नेपालीले देशको प्रतिनिधित्व गर्दै खेलाडीहरूले विदेशबाट पदक ल्याए पनि आफ्नै देशमा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा समावेश नगरिनु दुःखको कुरा भएको गुनासो गरे । प्रतियोगिताका संयोजक गुरुङले जिल्ला तथा राष्ट्रियस्तरबाटै विलियार्ड, स्नुकर खेलको विकासका साथै शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा सचेत र सामूहिक भावना अभिवृद्घि गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए ।