मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार ०८:३३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अंकितलाई डेब्युमै सफलता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार ०८:३३:००

नेपाली सिनेमा उद्योगका लागि आशा लाग्दा नाम हो, अंकित शर्मा । निर्माता, निर्देशक तथा कलाकार अशोक शर्माका छोरा भएकै कारण पनि उनी सानैदेखि कलाकारिता माहोलमा हुर्किए । तर, उनमा कलाकारिता भने सानैदेखि अंकुराएको थियो । उनी स्कुलका कार्यक्रममा पनि नाटक देखाउँथे । ‘प्लस टु’सम्म आइपुग्दा उनमा कलाकारिता फैलिइसकेको थियो । कलेजमा पनि उनले थुप्रै नाटकमा अभिनय गरे । नेपाली सिनेक्षेत्रमा भने ‘रातो टीका निधारमा..’बाट डेब्यु गरेका हुन् । 

बुबाका कारण उनलाई सिनेक्षेत्रमा प्रवेश गर्न खासै गाह्रो थिएन । तर, उनले सजिलो बाटो हिँड्न मन गरेनन् । सोहीकारण, फिल्मबारे औपचारिक अध्ययन गर्न उनी मलेसिया हान्निए । मलेसियामा फिल्म मेकिङमा स्नातकसम्मको पढाइ सकेर उनी नेपाल फर्किए । मलेसियामा रहँदा पनि उनले अध्ययन र अभिनय गरिरहेका थिए । उनले भने, ‘इरानी र पास्कितानी डाइरेक्टरसँग मिलेर सर्ट फिल्म पनि बनायौँ । त्यस फिल्ममा मेरो ‘लिड रोल’ थियो । फिल्म प्रदर्शन पनि गर्‍यौँ, राम्रो प्रतिक्रिया पाएका थियौँ ।’

मलेसियाबाट फर्केर उनले ‘जय भोले’मा सहनिर्देशकका रूपमा काम गरे । त्यसपछि उनले शिल्पी थिएटरमा तीन महिना अभियन कोर्स गरे । मलेसियाको अध्ययन र नेपाल फर्किएपछिको कामको अनुभवलाई एकत्रित गर्दै उनले ‘रातो टीका निधारमा...’बाट नेपाली सिनेमामा डेब्यु गरे । यो फिल्म उनकै बाबु अशोक शर्माको निर्देशनमा बनेको छ । 

डेब्यु फिल्ममा अभिनय कौशल देखाएकै कारण दर्शकको तारिफ पाए । तर, उनी भने अझै आफूलाई सुधार गर्नुपर्ने बताउँछन् । डेब्यु फिल्म ‘रातो टीका निधार...’माबाटै राष्ट्रिय चलचित्र अवार्ड तथा डिसिने अवार्डमा डेब्यु अभिनेताको अवार्ड पाए । पहिलो गाँसमै मीठो खाना पाएका अंकितले अर्काे फिल्ममा आउन समय लागेको सुनाए । 

सिनेमामा डेब्यु गरेपछि म्युजिक भिडियोमा अधिकांश जमेका छन् । फिल्मपछि उनलाई पनि म्युजिक भिडियोहरूमा अफर नआएको भने होइन । तर, म्युजिक भिडियोमा देखिनुलाई उनले उपयुक्त नठानेको बताए । उनी भन्छन्, म्युजिक भिडियोमा पनि क्यारेक्टर त निभाउनुपर्छ । बरु सिनेमामा राम्रो काम गर्ने भनेर नदेखिएको हुँ । उनी करिअरसँगै पढाइलाई पनि अघि बढाउने क्रममा मास्टर्स गर्न अमेरिका जाने तयारीमा छन् । अंकित भन्छन्, ‘अमेरिका गए पनि समय मिलाएर फिल्ममा काम गर्छु, छुट्टीको समयमा नेपाल आएर फिल्म गर्ने सोच छ ।’