१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ पौष ८ आइतबार १०:१७:००
Read Time : < 1 मिनेट
विश्व

जब पाक प्रेमिका भेट्न जाँदा भारतीय इन्जिनियर पक्राउ परे

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष ८ आइतबार १०:१७:००

‘फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस्, अन्यथा मैलेजस्तै दुःख पाउनुहोला,’ पाकिस्तानी जेलमा ६ वर्ष जीवन बिताई यसै साता स्वदेश फिर्ता भएका एक भारतीय नागरिक भन्छन् । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक पाकिस्तानी किशोरीसँग मायाजालमा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै भारतीय इन्जिनियर हमिद नेहाल अन्सारी पाकिस्तान पुगेका थिए ।

सामाजिक सञ्जालमार्फत आफूलाई दिइएको ठेगाना पछ्याउँदै अन्सारी पाकिस्तानी किशोरीको घरमा पुग्दा त्यहाँ पाकिस्तानी प्रहरी तैनाथ थिए । उनी त्यहीँबाट पक्राउ परेका थिए । उनलाई जासुसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा ६ वर्षको जेल सजाय तोकियो । ‘अपरिचित व्यक्तिसँग भावनामा नडुब्नुस् र फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत ‘मायाजाल’मा नफस्नुस्,’ आफू रिहा भई भारत फर्केको तीन दिनपछि अन्सारीले भने ।

पाकिस्तानी जेलमा ६ वर्षको बसाइपछि मंगलबार घर फर्किएका इन्जिनियर अन्सारीले भारतीय सिमाना आएपछि भावुक मुद्रामा आफ्नी आमासँग गालामा गाला जोडेको र जन्मभूमिलाई पूरै घोप्टो परेर ढोगेको श्रव्यदृश्य स्थानीय सञ्चारमाध्यमहरूले उच्च महत्वका साथ प्रसारण गरेका थिए । सो दृश्य सामाजिक सञ्जालमा पनि ‘भाइरल’ बनेको छ ।

‘रिहा हुनु मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो,’ ३३ वर्षीय अन्सारीले भने, ‘अब म एउटा व्यवसाय सुरु गर्छु । विवाह गर्छु । आफ्नो र परिवारको सुखमा रमाउँछु । मलाई थप सामाजिक बन्नु छैन ।’

क्षेत्रीय प्रतिस्पर्धी भारत र पाकिस्तानबीच सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि तीन ठूला युद्ध भएका छन् । उनीहरूले फरक–फरक समय र परिस्थितिमा एक–अर्काका नागरिकलाई जासुसी आरोपमा पक्राउ गर्ने र थुन्ने विषय सामान्यजस्तै देखिँदै आएको छ ।