मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २९ आइतबार ११:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा चितवन (२) बाट एमालेका कृष्णप्रसाद पौडेलकाे दाबी

Read Time : > 1 मिनेट
२०७९ श्रावण २९ आइतबार ११:३०:००

चितवनको निर्वाचन क्षेत्र नं. २ बाट डा. कृष्णप्रसाद पौडेलले उम्मेदवारी घोषणा गर्ने बताएका छन्। भरतपुरमा पत्रकार सम्मेलन गर्दै कृषिविज्ञसमेत रहेका उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारीको आकांक्षा जनाएका हुन्।

‘खानाका लागि खेतीपाती’ अभियानका अभियन्ता डा. पौडेल विगत चार दशकदेखि एमालेसँग नजिक रहेर राजनीतिमा सक्रिय छन्। ०३६ सालदेखि ०३९ सालसम्म तीन वर्ष नेकपा (माले) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र युवा दलमा सक्रिय रहेका उनी ०३७ सालमा अनेरास्ववियु पश्चिमाञ्चल कमिटी सदस्य हुँदै  ०३७ सालमा पक्लिहवा कृषि क्याम्पसको स्ववियु उपसभापतिमा निर्वाचित भएका थिए। ०३९ सालमा भैरहवामा जेल परे उनी ०४६ मा अनेरास्ववियुको केन्द्रीय परिषद् सदस्य भएका थिए। पौडेलले ०४७ सालमा पार्टी सदस्यता प्राप्त गरेपछि ०५६ सालसम्म संगठित सदस्यको हैसियतले चितवनमा पनि काम गरे।

आफू सक्षम भएकाले पार्टीले नै आफ्नो उम्मेदवारी सिफारिस गर्न सहजीकरण गर्ने उनको दाबी छ। आफ्नो राजनीतिक जीवनमा आफूले पार्टीबाट अन्यायको विरुद्ध विद्रोह गर्न सिकेको भन्दै उनले आस्था राखेको दलबाट टिकट नपाए पार्टीले सिकाएकै बाटोमा हिँड्ने चेतावनी दिएका छन्। आफ्नो उम्मेदवारी अहिले देश, जनता र पार्टीको आवश्यकता भएको पौडेल दाबी गर्छन्।

माटोलाई विषमुक्त राख्दै मानव स्वास्थ्य जोगाउने, खाना–खेतीपाती सपार्ने, स्थानीयतामा आधारित प्रकृतिमैत्री विकासमा जोड दिने, प्रशासनिक नेतृत्वको पुनर्गठनको आवश्यकताको बहस, पहल र राजनीतिक नेतृत्वमा युवा हस्तक्षेपका लागि सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको उनले बताएका छन्।

एमालेको प्राकृतिक स्राेत केन्द्रीय विभाग सदस्य र नेकपा विभाजन हुनुअघिसम्म केन्द्रीय कृषि विभागका सदस्यका रूपमा काम गरेका ६० वर्षीय पौडेलले रामपुरबाट कृषिमा बिएस्सी गरेका छन्। उनले बेलायतबाट वन विज्ञानमा स्नातकोत्तर समेत गरेका छन्।

डा. पौडेलले उम्मेदवारी घोषणा गरेको क्षेत्रबाट अहिले एमालेका कृष्णभक्त पोखरेल प्रतिनिधिसभा सदस्य छन्। एमाले उपाध्यक्ष रामबहादुर थापाको क्षेत्र पनि यही नै हो।