१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७९ श्रावण २९ आइतबार ०९:३७:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

रुस्दीले विभिन्न समूहबाट धम्की र मृत्युको चेतावनी सामना गरिरहेका थिए 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७९ श्रावण २९ आइतबार ०९:३७:००

भारतीय मूलका बेलायती उपन्यासकार सलमान रुस्दीमाथि न्युयोर्कमा छुरा प्रहार भएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा भएको छुरा प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । 

पाँच दशकदेखि साहित्य क्षेत्रमा सक्रिय रुस्दीले विभिन्न समूहबाट धम्की र मृत्युको चेतावनी सामना गरिरहेका थिए । ७५ वर्षीय सलमान रुस्दीका धेरै पुस्तक लोकप्रिय छन् । जसमध्ये दोस्रो पुस्तक ‘मिडनाइट चिल्ड्रेन’ ले सन् १९८१ मा बुकर अवार्ड प्राप्त गरेको थियो ।

उनको सन् १९८८ मा प्रकाशित चौथो उपन्यास ‘सटानिक  भर्सेस’ निकै विवादित बन्यो । यस उपन्यासलाई लिएर विश्वभर हंगामा नै मच्चियो । रुस्दीलाई मार्ने धम्कीहरूसमेत आए । आफ्नो ज्यान जोगाउन उनी लुकेर बस्नुपरेको थियो । बेलायती सरकारले सलमान रुस्दीलाई प्रहरी सुरक्षा पनि दिएको थियो । सलमान रुस्दीको यो उपन्यासले मुस्लिमहरूलाई चोट पुर्‍याएको आरोप छ । यसले इरान र बेलायतले कूटनीतिक सम्बन्धसमेत तोडिने अवस्था आयो । यद्यपि, सलमान रुस्दीलाई पश्चिमा मुलुकबाट समर्थन मिलिरहेको थियो ।

सन् १९८९ मा इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीले सलमान रुस्दीको हत्याको आह्वान गर्दै फतवा नै जारी गरे ।सलमान रुस्दीको जन्म भारत स्वतन्त्र हुनुभन्दा दुई महिनाअघि मुम्बईमा भएको थियो । उनी १४ वर्षको उमेरमा अध्ययनका लागि इंग्ल्यान्ड गए र इंग्ल्यान्डकै नागरिक बने । त्यसपछि बिस्तारै इस्लाम धर्मबाट टाढिए । उनले किंग्स कलेज, क्याम्ब्रिजबाट इतिहासमा डिग्री लिएका थिए । उनले केही समय अभिनेताको रूपमा पनि काम गरे । पछि उनी विज्ञापनको क्षेत्रमा आए र प्रतिलिपि लेखकको भूमिकामा काम गरे । योसँगै उनले उपन्यास पनि लेखिरहे ।

२४ वर्षीय हादी पक्राउ
प्रहरीले न्यु जर्सीका हादी मतर नाम गरेका २४ वर्षीय सन्दिग्ध व्यक्तिलाई आक्रमण गरेको आरोपमा पक्राउ गरेको छ । हमलाकारीले आक्रमण किन गरे भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी कार्यक्रममा दौडदै मञ्चतर्फ गएको र सलमान रुस्दीको घाँटी र पेटमा चक्कु प्रहार गरेको भिडियो सार्वजनिक भएको छ ।