१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
मञ्जु टेलर काठमाडाैं
२०७९ श्रावण २९ आइतबार ०६:२४:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमआरआई गर्न बिरामीले सरकारी अस्पतालमा महिना दिन कुर्नुपर्छ, बाध्य भएर निजीमा दोब्बर तिर्नुपर्छ

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
मञ्जु टेलर, काठमाडाैं
२०७९ श्रावण २९ आइतबार ०६:२४:००

विपन्न बिरामीको अत्यधिक चाप हुने वीर अस्पतालमा एउटा मात्रै एमआरआई मेसिन, ४६८ बिरामी पालो कुर्दै

टाउकोमा समस्या देखिएपछि धनुषाबाट उपचारका लागि राजधानी आएका दिलीप विक ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे । परीक्षणका लागि एमआरआई गर्नुपर्ने थियो, तर १० दिनसम्म पालो नपाइने भयो । छिटो रिपोर्ट ल्याउन चिकित्सककै सल्लाहमा उनी बुधबार मानभवनको ‘थ्री टेस्ला एमआरआई सेन्टर’ पुगे । पाटनमा आठ हजार रुपैयाँमा हुने एमआरआई परीक्षणका लागि उनले निजी ल्याबमा १६ हजार तिर्नुपर्‍यो । 

‘सरकारीमा सस्तो पर्छ भनेर पाटन अस्पताल आएको, तर अस्पतालमा एमआरआई मेसिन हुँदाहुँदै बाहिर पठायो । महँगो शुल्क तिरेर उपचार गर्न सक्ने भए निजीमा उपचार गराउन जान्थेँ नि ! के गर्नु डाक्टरले भनेपछि गर्नैपर्‍यो,’ दिलीपले गुनासो गरे । 

काभ्रेका सूर्यबहादुर बस्नेतले पनि आफ्नो छोरालाई एमआरआई गराउन यही ल्याबमा ल्याएका थिए । मेसिन बिग्रिएको भन्दै नयाँ बानेश्वरको सिभिल अस्पतालले उनलाई त्यहाँ पठाएको थियो । ‘मेसिन बिग्रिएको छ भनेर अस्पतालले हामीलाई यहाँ पठायो,’ बस्नेतले भने, ‘एमआरआई शुल्क चर्कै तिर्नुपर्ने रहेछ ।’ काठमाडौंको महाराजगन्जस्थित नेसनल न्युरो सेन्टरले पनि बिरामीलाई एमआरआईका लागि यहीँ रिफर गर्ने गरेको छ । 

मानभवनमा रहेको यो एमआरआई सेन्टरले दैनिक २० देखि ३० जनासम्मको परीक्षण गर्दैआएको छ । सेन्टरकी प्रशासन प्रमुख निर्मला श्रेष्ठले आफूहरूकहाँ अत्याधुनिक एमआरआई मेसिन भएकाले अस्पतालहरूले बिरामी पठाउने गरेको दाबी गरिन् । ‘हामीकहाँ यही आसपासका बिरामी आउँछन्,’ उनले भनिन् ‘यहाँ अत्याधुनिक ल्याब छ, त्यसैले अस्पतालहरूले यहीँ पठाउँछन् ।’ 

सरकारी अस्पतालमा एमआरआई परीक्षणका लागि हप्तौँ प्रतीक्षा गर्नुपर्ने र निजीमा दोब्बर शुल्क तिर्नुपर्ने हुँदा बिरामी मारमा परिरहेका छन् । एमआरआई अभावका कारण समयमै रोग पहिचान नहुँदा बिरामीले जटिलता खेपिरहे पनि ठूला सरकारी अस्पतालहरूको ध्यान यसतर्फ गएको छैन । 

दैनिक हजार बिरामी आउने प्रसूतिगृहमा एमआरआई मेसिन नै छैन : प्रत्येक महिना ५० देखि ६० बिरामी अन्यत्र रिफर 

प्रसूतिका लागि देशकै सबैभन्दा ठूलो अस्पताल परोपकार प्रसूतिगृहमा एमआरआई मेसिन नहुँदा प्रत्येक महिना ५० देखि ६० जना बिरामी अन्यत्र रिफर हुन्छन् । सिटिस्क्यान मेसिनबाट परीक्षण गर्न नसकिने केसलाई मात्रै रिफर गर्ने गरिएको अस्पतालले जनाएको छ । विशेषगरी गर्भवती अवस्थाका बिरामीलाई सिटिस्क्यान सुरक्षित नहुने भएकाले अन्यत्र रिफर गर्ने गरिएको चिकित्सकहरूको भनाइ छ, तैपनि अस्पतालले एमआरआई मेसिन खरिदमा चासो दिएको छैन ।

अस्पतालमा दैनिक आठ सयदेखि हजारसम्म बिरामी विभिन्न समस्या लिएर उपचारका लागि पुग्ने गर्छन् । जसमध्ये लगभग पाँचदेखि ६ सयजति गर्भवती छन् । तीन सयदेखि पाँच सयसम्म गाइनोसम्बन्धी अन्य समस्या लिएर अस्पताल पुग्छन् । अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट डा. श्रीप्रसाद अधिकारीका अनुसार प्रतिमहिना अस्पतालमा पुग्ने करिब ६० देखि सयजनासम्म बिरामीको सिटिस्क्यान भइरहेको हुन्छ र त्यति नै संख्यामा एमआरआई परीक्षण पनि आवश्यक छ ।

उनी भन्छन्, ‘एमआरआई सेवा उपलब्ध भएमा बिरामीलाई सहज उपचार दिन सकिन्छ । एउटा परीक्षणका लागि मात्र बाहिर रिफर गर्नुपर्ने अवस्था हुँदैनथ्यो ।’ तर, एमआरआईबाहेक अन्य सेवा–सुविधा बढी प्राथमिकतामा रहेकाले तत्काल एमआरआई मेसिन आवश्यक नभएको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठ बताउँछन् ।

कान्ति बाल अस्पतालमा पनि मेसिन छैन, बिरामी शिक्षण अस्पताल रिफर गरिन्छन्

कान्ति बाल अस्पतालमा पनि एमआरआई मेसिन छैन । अस्पतालले परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने गरेको छ, तर यहाँ बालबालिकाको परीक्षण बिहीबार मात्रै हुने भएकाले बिरामी निजीमा महँगो शुल्क तिरेर परीक्षण गर्न बाध्य छन् । कान्तिमा हाल दैनिक झन्डै हजार बालबालिका उपचारका लागि ओपिडी र इमर्जेन्सीमा पुग्ने गरेका छन् । कान्तिमा अधिकांश सेवा निःशुल्क छन् । तर, एमआरआईका लागि अन्यत्र रिफर भएका बिरामीले यस सेवाका लागि मात्रै १२ देखि १८ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । त्यही कारण अस्पतालमा तत्काल एमआरआई मेसिन अत्यावश्यक रहेको डा. अजित रायमाझी बताउँछन् ।

उनी भन्छन्, ‘अहिले एमआरआई परीक्षण आवश्यक पर्ने सबै बिरामी बाहिर पठाइन्छन् । एउटा परीक्षणका लागि निजीमा गएर महँगो शुल्क तिर्नुपर्ने भएपछि सरकारी अस्पतालले निःशुल्क सेवा दिनुकोे अर्थ नै हुँदैन ।’ एमआरआई मेसिन नहुँदा बिरामी मात्रै नभई फेलोसिपमा आउने मेडिकलका विद्यार्थीसमेत प्रभावित भइरहेका छन् । अस्पतालका निर्देशक डा. युवानिधि बास्तोलाले भने, ‘न्युरोलोजीका विद्यार्थी फेलोसिपका लागि आएको एक हप्ताभन्दा बढी भइसक्यो । अस्पतालमा एमआरआई मेसिन नै नहँुदा उनीहरूको सिकाइ प्रभावित भइरहेको छ । एमआरआई मेसिन खरिदका लागि प्रक्रिया भने अगाडि बढाएका छौँ ।’ 

सेवा दिइरहेका अस्पतालमा पनि छैन सहज : वीरमा एक महिनापछि र शिक्षणमा १० दिनपछि मात्रै पालो

वीर अस्पतालमा चार सय ६८ जना बिरामी एमआरआई गर्न पालो कुरिरहेका छन् । इमर्जेन्सीबाहेक दैनिक सरदर ३० जना बिरामीले एमआरआई परीक्षणका लागि नाम टिपाउने गरेको रेडियोलोजी विभाग प्रमुख डा. सरोज शर्माले बताए । उनका अनुसार बाहिरबाट रिफर भएर आउने र अस्पतालमै एमआरआई गर्नुपर्ने बिरामी प्रशस्तै भएकाले परीक्षणका लागि एक महिनापछि मात्रै पालो पाइरहेका छन् । ‘एउटा मात्रै मेसिन भएकाले बिहानदेखि बेलुका १०–११ बजेसम्म परीक्षण गर्नुपरिरहेको छ । तैपनि इमर्जेन्सीका केस आइरहने भएकाले महिना दिन कुर्नुपर्ने बाध्यता छ,’ उनले भने । 

औषधिसहितको परीक्षणका लागि नौ हजार रुपैयाँ र औषधिविनाको परीक्षणका लागि आठ हजार मात्रै शुल्क लिइरहेका कारण वीर अस्पतालमा एमआरआई परीक्षणका लागि ठूलो संख्यामा बिरामी आउँछन् । डा. शर्माले भने, ‘अस्पतालले अर्को मेसिन खरिद प्रक्रिया अगाडि बढाएको महिनौँ भइसकेको छ, तर आएको छैन । पर्याप्त मेसिन नहुँदा सबैलाई समयमा सेवा दिन सकिँदैन ।’

त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा पनि पर्याप्त एमआरआई मेसिन नहुँदा हप्तौँसम्म पालो कुर्नुपर्ने बाध्यता छ । हाल टिचिङमा दुईवटा एमआरआई मेसिन सञ्चालनमा छन्, तर यो पर्याप्त नरहेको अस्पतालका उपनिर्देशक डा. सन्तकुमार दासले बताए । ‘अत्यधिक भिड हुने हुँदा इमर्जेन्सीबाहेकका केसहरूले १० दिनसम्म पालो कुर्नुपर्ने व्यवस्था गरेका छौँ । पुरानो मेसिनले दैनिक सातदेखि आठवटासम्म मात्रै परीक्षण गर्न सकिने भएकाले पे्रसर बढी हुन्छ,’ उनले भने । त्रिवि शिक्षण अस्पतालमा पनि मेसिन खरिदका लागि २० करोडको टेन्डर खोलिएको थियो । तर, कम लागत भएको भन्दै कम्पनीहरूले टेन्डर नै नहालेपछि रद्द भएको छ । 

सिभिलमा डेढ महिनादेखि सेवा नै ठप्प
सिभिल अस्पतालमा रहेको एक मात्र एमआरआई मेसिन बिग्रिएर थन्किएपछि डेढ महिनादेखि सेवा ठप्प छ । सञ्चालनमा रहेको मेसिन १० वर्ष पहिले चीन सरकारले अनुदानमा दिएको थियो । मेसिन बिग्रिएपछि एमआरआईका लागि बिरामी निजीमा धाउन बाध्य छन् । अहिले करिब २२ करोड पर्ने ‘थ्री टेस्ला एमआरआई’ मेसिन ल्याउन टेन्डर सम्झौता गरिएको अस्पतालले जनाएको छ ।

मेसिन बिग्रिएको छ, छिट्टै नयाँ खरिद गर्दै छौँ : विधाननिधि पौडेल, निर्देशक, सिभिल अस्पताल
एउटा एमआरआई मेसिन छ, त्यो पनि डेढ महिनादेखि बिग्रिएको छ । बनाउनका लागि इन्जिनियर पनि बोलायौँ, तर पुरानो भएकाले बन्ने सम्भावना कम छ । २२ करोड लागतमा नयाँ एमआरआई मेसिन छिट्टै खरिद गर्दै छौँ ।

पाटन अस्पतालमा दैनिक १५ जनाको क्षमता, तीनवटा मात्र परीक्षण
पाटन अस्पतालले दैनिक तीनजनाको मात्रै एमआरआई परीक्षण गर्दै आएको छ । पाटन अस्पतालको ल्याबमा कम्तीमा १५ जनासम्मको एमआरआई गर्न सकिने भए पनि दैनिक तीनजनाको मात्रै गर्ने गरिएको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यले बिरामीको अत्यधिक चाप र जनशक्ति अभावका कारण एमआरआई परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता रहेको दाबी गरे । ‘कहिलेकाहीँ अस्पतालको बेडमा उपचार गराइरहेका बिरामीको पनि एमआरआई गर्नुपर्ने हुन्छ, त्यसैले नयाँ बिरामीमध्ये कमैले मात्रै पालो पाउँछन्,’ उनले भने ।

हामीकहाँ ल्याबमा काम गर्ने कर्मचारी कम छन् : डा. रवि शाक्य, निर्देशक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
यहाँ बिरामीको चाप छ । एकजनाको एमआरआई गर्न ३५ देखि ४५ मिनेट लाग्छ । त्यसकारण पनि नयाँ बिरामीमध्ये केहीलाई मात्रै एमआरआई सेवा दिन सकेका छौँ । अर्को कुरा हामीकहाँ ल्याबमा काम गर्ने कर्मचारी संख्या पनि कम छ ।