आन्तरिक पर्यटकमाझ प्रसिद्ध लमजुङको दूधपोखरी कुण्ड संरक्षणको अभावमा संकटमा परेको छ। मनास्लु हिमालको काखमा रहेको दूधपोखरी कुण्डमा जनैपूर्णिमामा जिल्ला तथा छिमेकी जिल्लाहरूबाट समेत धार्मिक पर्यटकहरू आउने गरेका छन्। तर, सरकारी निकायले संरक्षणमा चासो नदेखाउँदा कुण्ड संकटमा परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
वर्षको एकपटक जनैपूर्णिमाबाहेक अन्य समयमा यहाँ बाहिरी जिल्लाका पर्यटक आउँदैनन्। यद्यपि, जिल्लाभित्रका पर्यटकहरू भने दैनिकजसो आइरहने बताउँछन् दूधपोखरी गाउँपालिका– २ का स्थानीय गोविन्द दवाडी। कुण्डको संरक्षण मात्र नभएर यहाँ आउने भक्तजनका लागि बास बस्ने ठाउँसमेत नरहेकोमा अर्की स्थानीय रेखी गुरुङको गुनासो छ।
दूधपोखरी गाउँपालिका– १ मा रहेको दूधपोखरी कुण्ड समुद्री सतहदेखि चार हजार तीन सय मिटरको उचाइमा छ। हरेक वर्ष जनैपूर्णिमाका दिन यहाँ मेला लाग्ने गर्छ। देवादीदेव महादेवको वासस्थानको रूपमा परिचित यस कुण्डमा जनैपूर्णिमाका दिन नुहाए सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ। तर, चेपे नदीको मुहानसमेत रहेको यस पोखरीको संरक्षणको पहल नहुँदा पोखरी पुरिँदै गएको छ।
लमजुङबाहेक गोरखा, तनहुँ, कास्की, चितवन र काठमाडौंलगायत विभिन्न जिल्लादेखि यहाँ धार्मिक पर्यटक आउने गरेका सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलिया बताउँछन्। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे बजारदेखि २५ किलोमिटर उत्तर लमजुङको पाउँदी बजार हुँदै तार्कुघाट, मोहोरियाकोट, प्यारजुङ, गौँडा, जोर्ने हुँदै इलमपोखरीदेखी पैदलयात्राबाट लिपेलेक, बांगेओडार, गैरीखर्क, धर्म गौँडो हुँदै दुई दिनको यात्रापछि दूधपोखरी पुग्न सकिन्छ।
जोर्नेभन्दा माथि कुनै पनि गाउँ नभएकाले त्यहाँ खानेकुरा र पिउने पानीको समेत अभाव हुने गरेको पर्यटकहरूको गुनासो छ। ‘यात्राका क्रममा पर्याप्त खानेकुरा र खानेपानीको जोहो तीर्थयात्री स्वयंले गर्नुपर्छ,’ अघिल्ला वर्षहरूमा दूधपोखरीमा मेला हेरेर आएका बेँसीसहर नगरपालिका– ११ चितिका भवदत्त कमलीले भने, ‘दूधपोखरीको यात्रामा वासका पनि त्यतिकै समस्या छ। वास बस्नका लागि जंगलका ओढार तथा भेडीगोठमा पुग्नुपर्ने बाध्यता छ।’ धार्मिक तथा पर्यटकीय महत्व बोकेको दूधपोखरीको संरक्षण सम्बर्द्धन र प्रचारप्रसार गर्न सके जिल्लाकै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।