मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १०:५६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा पहिलो बैठकबाट अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख नियुक्त पाण्डे दोस्रो बैठकबाटै बर्खास्त

नवनिर्वाचित एन्फा कार्यसमितिको बिहीबार बसेको दोस्रो बैठकले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षक चयनदेखि लिग प्रतियोगिताहरूको मितिसमेत तोकेको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १०:५६:००

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखबाट बर्खास्त गरेको छ । एन्फा कार्यसमितिको बिहीबार बसेको दोस्रो बैठकले पाण्डेलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारीबाट मुक्त गरेको हो ।एन्फा मुख्यालयमा बसेको बैठकले पाण्डेलाई अर्को जिम्मेवारी दिएको छ । पाण्डेलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको सल्लाहकारका रूपमा मनोनयन गर्ने निर्णय गरेको छ । यसअघि ६ असारको एन्फाको पहिलो बैठकले पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा सर्वसम्मत रूपमा चयन गरेको थियो । तर, पूर्वअध्यक्ष गणेश थापा समूहसहितका अन्य सदस्यले पाण्डेको नियुक्ति एन्फा ऐनविपरीत भएको आरोप लागाउँदै आएका थिए । 

सो समूहले बैठकको एजेन्डा नै पाण्डेको बर्खास्ती बनाएको थियो । यसअघि ५ साउनका लागि तोकिएको एन्फा बैठक स्थगित हुनुको मुख्य कारण पनि यही थियो । यद्यपि, एन्फा अध्यक्ष नेम्बाङ बिरामी भएका कारण बैठक स्थगित गरिएको जनाइएको थियो ।एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १३ जनाले पाण्डेलाई तत्काल बर्खास्त गर्न माग गर्दै निवेदन पनि दर्ता गराएका थिए ।

एन्फा कार्यसमितिका १९ सदस्यमध्ये १३ जना उनको बर्खास्तीको पक्षमा थिए । बहुमतले पाण्डेको बर्खास्ती माग गरेपछि अध्यक्ष नेम्बाङ आफ्ना प्रमुख विश्वासपात्रलाई हटाउन राजी भएको बैठकमा सहभागी एक सदस्यले नयाँ पत्रिकालाई बताए । ‘बोर्डमा भएका १३ सदस्यले पाण्डेको बर्खास्तीलाई पहिलो एजेन्डा बनाएका थिए, त्यसपछि अध्यक्ष उनलाई हटाउन राजी भए,’ उनले भने ।यसैबीच बैठकले पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठलाई मानार्थ एन्फा अध्यक्ष, किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष र सुरेश शाहलाई प्रवक्तामा नियुक्त गरेको छ ।

यसैगरी एन्फाको विशेष साधारणसभा १२ असोजमा हुने भएको छ । बैठकले रोकिएको महिला राष्ट्रिय लिगको दोस्रो चरणका खेल विराटनगरमा गर्ने जनाएको छ । २९ जेठदेखि १० असार २०८० सम्म ललित स्मृति यू–१९ फुटबल प्रतियोगिता हुनेछ ।बैठकले बहराइनमा हुने एएफसी यू–२० छनोट, श्रीलंकामा हुने साफ–१७ च्याम्पियनसिप तथा भियतनाममा हुने एसियन कप यू–१७ छनोट प्रतियोगितामा भाग लिने निर्णय पनि गरेको छ । 

 टिकट शुल्क पाँच सय र तीन सय
एन्फाले महिला साफ च्याम्पियनसिपका लागि टिकट शुल्क निर्धारण गरेको छ । दशरथ रंगशालामा २१ भदौदेखि ३ असोजसम्म हुने छैटौँ साफ महिला साफ च्याम्पिनसिपका लागि भिआइपीतर्फ पाँच सय र साधारणतर्फ तीन सय रुपैयाँ तोकेको छ ।साफ च्याम्पियनसिपमा दक्षिण एसियाका सात राष्ट्रका टोलीको सहभागिता रहनेछ । नेपालसहित श्रीलंका र भुटान समूह ‘बी’मा छन् । समूह ‘ए’मा साविक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् ।

यसै महिना एन्फाले महिला टोलीको मुख्य प्रशिक्षकका रूपमा कुमार थापालाई नियुक्त गरेको थियो । थापाले दोस्रो चरणमा ३५ खेलाडी छनोट गरेका छन् । यसअघि साफ च्याम्पियनसिपको पाँचौँ संस्करण विराटनगरमा भएको थियो । सो फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । पाँचमध्ये चार संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । सन् २०१५ मा भारतले नेपाललाई सेमिफाइनलमा रोकेको थियो ।

 असोजमा एनएसएल 
एन्फाले दसै‌ लगत्तै नेपाल सुपर लिग (एनएसएल)को आयोजना गर्ने भएको छ । एनएसएलको दोस्रो संस्करण सञ्चालनका लागि एन्फाले २३ असोजदेखि २ मंसिरसम्मको मिति तोकेको छ । निर्धारित मितिअनुसार कोजाग्रत पूर्णिमाकै दिन एनएसएल सुरु हुनेछ । एनएसएल र गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको मिति जुधेको छ ।  नवौँ राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्मका लागि तय भइसकेको छ । एनएसएल आयोजकसँग छलफलका लागि अध्यक्ष नेम्बाङको संयोजकत्वमा समिति गठन भएको छ । गतवर्ष पहिलोपटक आयोजना भएको एनएसएलमा सात टोली सहभागी थिए । 

 हुमागाईं कार्यवाहक प्रशिक्षक 

एन्फाले दशरथ रंगशालामा ११ असोजमा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी प्रदीप हुमागाईंलाई दिएको छ । बैठकले एक मात्र मैत्रीपूर्ण खेलका लागि हुमागाईंलाई कार्यवाहक प्रशिक्षक बनाउने निर्णय गरेको हो । हुमागाईं  एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । फिफा र एएफसीको प्रतियोगिताको प्रशिक्षक हुन प्रो–लाइसेन्स प्राप्त हुनुपर्छ ।

हुमागाईं हाल अमेरिका बस्दै आएका छन् । उनले एक दशकअघि थ्री स्टार क्लबलाई सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनाएका थिए । गत वर्ष नेपाल सुपर लिग (एनएसएल)मा उनले ललितपुर सिटी एफसी क्लबलाई सम्हालेका थिए । एनएसएलमा खराब सुरुवात गरेपछि ललितपुरले उनलाई बर्खास्त गरेको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी अहिले कुवेतमा छन् । उनी जेठमा कुवेतमा सम्पन्न एसियन कप छनोट खेलेपछि नेपाल फर्केका छैनन् ।