मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शान्ति तामाङ काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार ०८:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शुक्रबारदेखि फोहोर उठ्ने

सरकारले असहयोग गरेको भन्दै वडाध्यक्ष दलबहादुर कार्कीले बागमतीमा फोहोर फाल्न गरे प्रस्ताव

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार ०८:१०:००

लामो समयदेखि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएको फोहोर शुक्रबारदेखि उठ्ने भएको छ । बिहीबार बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख बालेन्द्र साहले शुक्रबारदेखि फोहोर उठ्ने जानकारी दिएका हुन् । बैठकमा कार्यपालिका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रमुख साहले २३ साउन राति फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन तोडफोड भएकाले फोहोर नउठेको भन्दै शुक्रबारदेखि उठ्ने बताए । ‘फोहोर व्यवस्थापनको गाडीमा तोडफोड भएका कारण हिजो र अस्ति फोहोर गएन । त्योभन्दा अगाडि दुईदेखि तीन सय टनसम्म फोहोर गएको छ,’ साहले भने, ‘सिसडोलमा दुई सय मिटर ट्र्याक बन्दै छ ।

सहरी विकास मन्त्रालयले भनेअनुसार हामीले आठ दिन फोहोर रोक्यौँ । तैपनि बाटो बनेन । बर्खा र फोहोरमाथिको बाटो भएका कारण बाटो बनाउन पनि अप्ठ्यारो छ । मन्त्रालयले १० दिनभित्र बाटो बन्छ, अहिले एकतर्फी चलाउन भनेको छ । शुक्रबारदेखि फोहोर लान सकिन्छ ।’

बिहीबारको कार्यपालिका बैठकमा प्रमुख साहले एजेन्डा प्रस्तुत गर्दैगर्दा शुक्रबारदेखि सुरु हुने चाडपर्व र जात्रालाई मध्यनजर गरेर सडकका फोहोर उठाउनुपर्ने भन्दै सदस्यहरूले अन्य एजेन्डा प्रस्तुत गर्न दिएनन् । वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले शुक्रबार र शनिबार गाईजात्रा भएकाले जसरी पनि फोहोर व्यवस्थापन गर्न माग गरे । ‘कोर एरियाको फोहोर उठाउन सकेनौँ भने महानगरका सबै जनताले हामीलाई गाली गर्नेछन् । हामी पनि खट्न परे खटौँला, तर राति नै कोर एरियामा गाईजात्रा हुने ठाउँको फोहोर क्लियर गर्नुपर्‍यो,’ उनले भने, ‘टेकुमा हजारौँ टिप फोहोर भइसक्यो । त्यहाँ राख्न सक्ने अवस्था छैन । त्यसैले जसरी हुन्छ कोर एरियाको जात्रा हुने क्षेत्रमा भोलि होइन, आजै अहिले नै फोहोर व्यवस्थापन गर्नुपर्छ ।’ 

बर्खा र फोहोरमाथिको बाटो भएका कारण बाटो बनाउन पनि अप्ठ्यारो छ । सहरी विकास मन्त्रालयले १० दिनभित्र बाटो बन्छ, अहिले एकतर्फी चलाउन भनेको छ । शुक्रबारदेखि उपत्यकाको फोहोर लान सकिन्छ ।
 बालेन्द्र साह, मेयर, काठमाडौं महानगरपालिका

वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले प्रमुख साह एक्लै हिँड्न खोजेकाले फोहोर व्यवस्थापनलगायतका समस्या समयमै समाधान हुन नसकेको आरोप लगाए । ‘मेयरज्यू सिसडोल जानुहुन्छ । मन्त्रालय जानुहुन्छ । एक्लैएक्लै जानुहुन्छ । टिमलाई लिएर जानुभएको छैन । टिम लिएर जाँदा दबाब पनि पर्छ । तर, त्यस्तो गर्नुहुन्न,’ उनले भने । बैठकमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले फोहोर बाग्मतीमा फालिदिनुपर्ने बताए । ‘बन्चरेडाँडामा फोहोर फाल्न दिँदैन । सिसडोलमा दिँदैनन् । कहीँ पनि फोहोर फाल्न दिँदैनन् । सरकार हेरेर मात्र बस्छ । असहयोग मात्र गर्छ भने हाम्रो विरुद्ध सरकार लागेको सम्झनुपर्छ । राजधानीको समस्या सरकारले समाधान नगर्ने हो भने त्यो फोहोर बाग्मतीको पुलबाट फाल्नुभन्दा अन्य विकल्प छैन,’ कार्कीले भने । उनले काठमाडौंवासीलाई फोहोरमा राखेर नर्कको जिन्दगी बिताउन बाध्य गराएको भन्दै अब काठमाडौंवासी प्रमुख साहको नेतृत्वमा सरकारविरुद्ध उत्रिनुपर्ने बताए । 

वडाध्यक्ष नवीन मानन्धरले फोहोर लान सकिएको अवस्थामा पनि महानगरको फोहोरको भोलुम नघटाउँदा यस्तो अवस्था आएको बताए । ‘सहज अवस्थामा महानगरको मात्र फोहोर दुई सय टिप लान पाएको भए हाम्रो फोहोरको भोलुम घट्थ्यो । तर, त्यसो गरिएन । जसकारण यस्तो समस्या आयो,’ उनले भने, ‘भक्तपुर, धरान नगरपालिका र हेटौँडा उपमहानगरपालिका फोहोर व्यवस्थापनमा अगाडि बढिसके । हामी पनि प्लान ए, बी, सीमा कहाँ जान्छौँ भन्ने कुरामा अगाडि जान सकेनौँ ।’