निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
उपचार अभावमा गुल्मी अस्पतालमा छटपटाइरहेका इस्मा गाउँपालिका–५ का विनोद नेपालीलाई नियाल्दै गरेका चार वर्षीय छोरा अमृत ।
२०७९ श्रावण २७ शुक्रबार ०७:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ब्रेनमा रगत जमेका विनोद आर्थिक अभावले उपचारबाट वञ्चित

मजदुरी गर्ने क्रममा लडेर घाइते भएका विनोद नेपालीको ब्रेनमा रगत जम्यो, तर चार लाख नदिएसम्म अस्पतालले उपचार गर्न मानेन

Read Time : > 1 मिनेट
२०७९ श्रावण २७ शुक्रबार ०७:०८:००

गुल्मी अस्पतालको इमर्जेन्सी बेडमा अचेत भएर पल्टिएका बाबु विनोद नेपालीलाई एकटकले निहालिरहेका थिए चार वर्षीय अमृत । न बाबु बोल्थे, न छोरा नै । बेडको बाहिरबाट चिहाएका अमृतका आँखामा बाबुसँग जोडिएका आशाका सपना थिए । उनी घरि बाको कोठामा पुग्थे, घरि अस्पताल आएकासँग आमाले गरेका याचना सुन्थे । अमृतकी आमा सरिता नेपाली श्रीमान्को उपचार खर्चको जोहो र छोराहरूको भविष्य सम्झिएर चिन्तामा छिन् । 

बेडमा उनका बाबु मात्र ढलेका छैनन्, उनको भविष्यको सपना पनि ढलेको छ । अमृतलाई बाबु कहिले उठ्छन् भन्ने चिन्ता छ । किनभने, बाको पाखुरामा अमृतको छाक थियो । मिठो खाने, राम्रो लगाउने र विद्यालय पढ्ने अमृतको भरोसा बेडमा ढलिरहेको छ । अमृतका ११ वर्षीय दाइ असीम पीडाले बोल्न सक्ने अवस्थामा थिएनन् । 

काम गर्ने क्रममा घरमाथिबाट खसेर विनोद अचेत बने । उनले गुल्मीको तम्घासमा मजदुरी गर्न थालेको एक दशक बितिसकेको छ । दैनिक गिटी, बालुवा र रङसँग खेल्थे । यसबीचमा उनले कैयौँ घर बनाए । कतिका घरमा रङ लगाए । तर, आर्थिक अभावकै कारण उनी अहिले जीवनमरणको दोसाँधमा छन् । यतिवेला उनका अनुहारका रङ उडेका छन्, आशा मरेका छन् । केवल आँखाबाट आँसुबाहेक अरू व्यक्त गर्न सक्ने अवस्थामा विनोद छैनन् ।

विनोदको आर्थिक अवस्था बलियो भएको भए उनको अहिले राम्रो अस्पतालमा उपचार हुन्थ्यो । तर, विपन्न परिवारको एउटा मजदुर ब्रेनमा रगत र आँखामा आँसु बगाएर मृत्यु कुरिरहेको छ । उनीसँग अहिले न परको सिंहदरबार छ, न गाउँको सिंहदरबार नै । विपन्न दलित परिवारको पीडा देख्ने कोही छैन ।

विनोदकी पत्नी सरिता भन्छिन्- साथमा एक हजार छैन, चार लाख कसरी खोज्ने ?
गुल्मीको इस्मा गाउँपालिका–५ लाम्टारीका ३० वर्षीय विनोद नेपालीदम्पती तम्घासमा ज्यालामजदुरी गर्थे । मंगलबार विनोद रेसुंगा नगरपालिका–२ का प्रेम थापाकोमा काम गर्ने क्रममा लडेर अचेत भए । श्रीमती सरिता नेपालीले विनोदलाई गुल्मी अस्पताल पुर्‍याइन् ।

टाउकोमा गम्भीर समस्या देखिएकाले थप उपचारका लागि गुल्मी अस्पतालले बिरामीलाई बाहिर रेफर गर्‍यो । सरितालाई झन् पीडा भयो, पैसा कहाँ खोज्ने र कसरी उपचार गर्ने भनेर ।निकै बेर सोचेपछि केही उपाय नलागेर काम गराउने थापासँगै पाँच हजार रुपैयाँ मागेर श्रीमान्लाई लुम्बिनी मेडिकल कलेज पाल्पा लगिन् । सरिताका अनुसार अस्पतालले सुरुमै टाउकोको सिटिस्क्यान गर्‍यो । आफूसँग भएको साढे सात हजार पनि त्यहीँ सकियो । केही बेरमा अस्पतालले अप्रेसन गर्न चार लाख लाग्ने बतायो । तर, सरितासँग सिटिस्क्यानको पैसा तिरेपछि एक हजार पनि साथमा थिएन । अस्पतालले मागेको रकम सुनेर सरिता केही बेर अत्तालिइन् ।

नेपाली दम्पतीको गाउँमा एक माना फल्ने जग्गा छैन । श्रीमान् ढलेपछि घरभाडा र छोराहरूको लालनपालनमा सरितालाई चुनौती थपिएको छ । तैपनि, घरपरिवार र आफन्त सबैसँग ऋण खोजिन् । तर, कहीँ कतैबाट पैसाको जोहो भएन । पैसा नभएसम्म अस्पतालले बिरामी भर्ना गरेन । त्यसपछि आफूले बिरामी फर्काएर गुल्मी अस्पताल ल्याएको सरिताले गुनासो गरिन् । ‘काम गरेर साँझबिहानको हातमुख जोर्ने मैले कहाँबाट खोज्नु चार लाख ? पैसा नभएसम्म अस्पतालको गेटबाट भित्र छिर्ने अवस्था छैन,’ उनले पीडा पोख्दै भनिन्, ‘अब हातमा पैसा नभएसम्म कसरी फेरि एम्बुलेन्स चढौँ ।’ उनले अहिलेसम्म कुनै निकाय र तहबाट एक रुपैयाँ सहयोग नभएको गुनासो गरिन् । 

डा. उत्तम पच्या भन्छन्– पैसाका कारण बिरामी फर्किनु दुःखद
गुल्मी अस्पताल तम्घासका प्रमुख डा. उत्तम पच्याले मंगलबार रङ लगाउने क्रममा लडेर अस्पताल आएका बिरामीको टाउकोमा गम्भीर समस्या देखिएकाले आफूहरूले बाहिर रिफर गरेको बताए । उनका अनुसार पाल्पा अस्पतालमा गरिएको सिटिस्क्यान रिपोर्टमा टाउकोको ब्रेनमा रगत बगेको छ । त्यो स्वास्थ्यका दृष्टिकोणले निकै जोखिमपूर्ण अवस्था हो । तर, बिरामी पैसाको कारण फर्किनु दुःखद भएको उनले बताए ।