मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
यारा हवारी
२०७९ श्रावण २६ बिहीबार १०:४७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्यालेस्टिनीको कत्लेआममा शान्त विश्व 

देश/परदेश

Read Time : > 2 मिनेट
यारा हवारी
२०७९ श्रावण २६ बिहीबार १०:४७:००

प्यालेस्टिनी जनता इजरायलका अघिल्ला बमबारीबाट पार पाउन खोजिरहँदाँ नयाँ सम्भावित बमबारीको सन्त्रासमा पनि बाँचिरहेका हुन्छन्

सुन्दै जिउमा काँडा उमार्ने ‘ट्रुथफुल डन’ (सत्यवादी बिहान) नामक एक कारबाहीमा इजरायली सत्ताले कब्जा गरिएको गाजापट्टीमा फेरी बमवर्षा गरेको छ । तीनदिने बमबारीमा कम्तीमा ४४ प्यालेस्टिनी मारिएका छन्, जसमा १५ जना बालबालिका थिए । त्यसबाहेक सयौँ मानिस घाइते भएका छन् । १५ वर्षदेखिको कब्जाले नपुगेर गाजापट्टीमा हरेक वर्ष आततायी ‘कारबाही’ हुने गर्छन्, जहाँ हजारौँ मारिन्छन्, लाखौँ घाइते हुन्छन् भने कैयौँ आधारभूत पूर्वाधार नष्ट हुन्छन् ।  

सन् २०१२ मा राष्ट्र संघले गाजा क्षेत्र सन् २०२० सम्ममा बस्न योग्य नहुने बताएको थियो । धेरै अर्थमा राष्ट्र संघको आकलन सही छ । यद्यपि करिब २० लाख प्यालेस्टिनी जनता गाजा क्षेत्रमा अहिले पनि बसोवास गरिरहेका छन् । अधिकांश प्यालेस्टिनी जनता त्यहाँ इच्छाले बसेका छैनन् । हालैको एक सर्वेक्षणअनुसार गाजा क्षेत्रमा बस्ने ४० प्रतिशतले मौका पाए गाजा छोड्ने बताएका छन् । गाजामा आफ्नो भविष्य नदेख्नु अस्वाभाविक पनि होइन । जीवन त्यसै सजिलो थिएन, गाजा क्षेत्रका प्यालेस्टिनीका लागि । त्यसमाथि ‘युद्ध’, ‘कारबाही’ र इजरायली नेतृत्वको हरेक आक्रमणले यी मानिसका लागि जीवन थप कठिन भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले नाकाबन्दीबाट जर्जर बनेको स्वास्थ्य सेवा अब विद्युत् आपूर्ति र ऊर्जा अभावले ठप्प हुने बताएको छ । पछिल्लो बमबारीबाहेक इजरायली सत्ताले गाजाका सबै नाका बन्द गरेको छ, नतिजा इन्धन र अन्य आवश्यक वस्तुमा रोक लागेको छ ।

कहिल्यै पार नपाइने आघात : इजरायल र प्यालेस्टिनी समूह इस्लामिक जिहादबीचको तथाकथित ‘युद्धविराम’मा इजिप्टले मध्यस्थता गरेपछि आइतबार बेलुकादेखि बम खस्न बन्द भएका छन् । तर, बमबारी रोकिए पनि अघिल्ला ‘कारबाही’झैँ प्यालिस्टिनी प्रताडित भइरहनेछन् । प्यालेस्टिनी जनता इजरायलका अघिल्ला बमबारीबाट पार पाउन खोजिरहेका हुन्छन्, तर त्यसैवेला नयाँ सम्भावित बमबारीको सन्त्रासमा पनि बाँचिरहेका हुन्छन् । अर्थात् प्यालेस्टिनी जनतालाई शारीरिक एवं मानसिक चोटबाट तंग्रिने कुनै अवसर देखिँदैन । 

उसो त विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एवं राष्ट्र संघका नियोगले गाजा क्षेत्रको अन्त्यहीन मानसिक समस्यालाई दस्ताबेजीकृत गर्ने प्रयास नगरेका होइनन्, तथापि मानसिक स्वास्थ्यसम्बन्धी अधिकांश विधि र सिद्धान्त पूर्ण रूपमा अपूरा छन् । ‘यसो हुनुका कारण गाजाको जमिनी स्थितिमा पश्चिमा अवधारणा लाद्ने प्रयास हो,’ प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका मानसिक स्वास्थ्यसम्बन्धी अधिकारी डा. समाह जब्र बताउँछन्, ‘आघातपश्चात् हुने तनाव (पिटिएसडी) प्यालेस्टिनी जनतामा लागू हुँदैन किनभने उपनिवेशमा रहेका प्यालेस्टिनी जनता सदैव आघातमा बाँच्न अभिशप्त छन् ।’

वास्तवमा आघात हालैको बमबारी वा अघिल्लो वर्षको आक्रमण वा सन् २००६ मा गाजापट्टीमा भएको हमलाबाट सिर्जना भएको होइन । यो आघातको बिउ दशकौँअघि यहुदी सर्वोच्चतावादीले प्यालेस्टाइनलाई उपनिवेश बनाउने योजनादेखि सुरु भएको हो । यो त्यही योजना हो, जहाँ कैयौँ प्यालेस्टिनी जनता खेदिएका थिए र गाजा क्षेत्रलाई खुला जेल बनाइएको थियो । गाजापट्टीमा बसोवास गर्ने २० लाखमध्ये १४ लाख मानिस उपनिवेश बनाइएको प्यालेस्टाइनका अन्य भूमिबाट लखेटिएका शरणार्थी हुन् । यसैकारण गाजामा रहेका प्यालेस्टिनीले सन् २०१८ मा ‘फिर्तीका लागि महान् यात्रा’ नामक अभियान चलाएका थिए, जहाँ लाखौँ जनताले इजरायली सीमानजिक पुगेर आफ्नो खोसिएको भूमि फिर्तीको माग गरेका थिए । जहाँ सयौँ मानिस इजरायली स्नाइपरको सिकार भएका थिए भने कैयौँ मानिस घाइते भएका थिए ।  

विडम्बना ! हामी युक्रेनी होइनौँ : यो निरन्तरको जारी आघातमा गाजामा भएको विध्वंसात्मक हमलापछि अन्तर्राष्ट्रिय समुदायले जे गर्नमा निपूणता हासिल गरेका थिए, त्यही गरे अर्थात् इजरायली सत्तालाई दण्डहीनताको प्रत्याभूति गराउने पूरा कोसिस गरेका छन् । कैयौँ नेता र कूटनीतिज्ञले तथाकथित ‘हिंसामा भएको वृद्धि’मा चासो व्यक्त गर्दै ‘तनाव कम गर्न’ र ‘शान्ति’ कायम राख्न अनुरोध गरेका छन् । यी हस्ती प्यालेस्टिनीका दुःखका लागि ‘इजरायल’लाई अपराधी देख्दैनन् अर्थात् यिनका अनुसार पाँच वर्षीय अला कदुम वा पाँच र ११ वर्षका भाइहरू अहमद र मोमेन अल नैराब इजरायली बमले नभई प्राकृतिक कारणले मारिएका हुन् । अर्को भाषामा भन्ने हो भने इजरायली राज्यसत्ताले कहिल्यै दशकौँदेखि हत्या, हिंसा वा आघात पुर्‍याउने काम गरेन ।  

बाँकी रहेका अन्तर्राष्ट्रिय समुदायले बनावटी वक्तव्यसमेत जारी गरेका छैनन् अर्थात् इजरायली हिंसालाई निःसर्त समर्थन गरेको देखिन्छ । बेलायती विदेशमन्त्री लिज ट्रसले दर्जनौँ प्यालेस्टिनी जनताको संहार गर्ने ट्रुथफुल डन कारबाहीलाई समर्थन गर्दै ‘बेलायत इजरायल र आफ्नो आत्मरक्षाको अधिकारका पक्षमा उभिन्छ’ भनेकी थिइन् । इजरायली सत्तालाई सुरुदेखि नै समर्थन गर्ने बेलायती इतिहास हेर्दा यो वक्तव्यलाई अस्वाभाविक पनि मान्नु हुँदैन । र, बेलायतले गाजामा बमबारी गर्न सैन्य बन्दोबस्तीका सामान आपूर्ति गर्छ भन्दा पनि अचम्म मान्नुपर्ने केही देखिँदैन ।  

प्यालेस्टिनी जनता भुक्तभोगी हुन् । हामीलाई थाहा छ, हामी युक्रेनी होइनौँ । हामी युक्रेनी जनताले पाएजत्तिको समर्थन र करुणाभाव पाउनेछैनौँ । अतिक्रमणकारी शक्तिविरुद्ध गरिने प्रतिरोधको हाम्रो अधिकारलाई कसैले रक्षा गर्नेछैन । अन्तर्राष्ट्रिय मिडियाले हाम्रा सहिदका सम्मानमा तस्बिर छाप्नेछैनन् । पप गायक, हलिवुड अभिनेता र प्रधानमन्त्रीहरू गाजाका भग्नावशेषमा बाँच्न अभिशप्त परिवारलाई भेट्न आउनेछैनन् । वास्तवमा विश्व राजनीतिक परिदृश्यमा रूपान्तरणकारी परिवर्तन नआउन्जेल इजरायली सत्ताले दण्डहीनतासाथ प्यालेस्टिनीको हत्या गरिरहनेछ र बम बर्साइरहनेछ । 

(हवारी अल–सबाकाकी प्यालेस्टिनी नीति अनुसन्धाता हुन्) 

अल जजिराबाट