१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण २६ बिहीबार १०:२२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युत् निर्यात १० गुणा बढ्यो आयातमा ४५ प्रतिशतको गिरावट

Read Time : > 2 मिनेट
२०७९ श्रावण २६ बिहीबार १०:२२:००

भारतसँगको विद्युत् व्यापारमा आर्थिक वर्ष ०७८/७९ मा उत्साहजनक प्रगति देखिएको छ । गत आवमा नेपालबाट हुने विद्युत्को निर्यात १० गुणाले वृद्धि भएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको अपरिष्कृत वित्तीय विवरणअनुसार आयातमा भने ४५ प्रतिशतले कमी आएको छ । आव ०७७/७८ मा चार करोड ४० लाख युनिट विद्युत् निर्यात भएको थियो । गत आवमा भने ४९ करोड ३० लाख युनिट विद्युत् भारतमा निर्यात भएको तथ्यांक छ । त्यसबाट तीन अर्ब ८८ करोड आम्दानी भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले इनर्जी बैंकिङ सम्झौताअनुसार वर्षात्मा भारतमा विद्युत् पठाउने र हिउँदमा त्यसबापत विद्युत् आयात गथ्र्यो । निर्यातभन्दा आयात भएको विद्युत् बढी भएमा थप रकम भुक्तानी गर्नुपथ्र्याे । तर, प्राधिकरणले गत आवदेखि भारतीय बजारमा व्यावसायिक रूपमै विद्युत्् निर्यात गर्दै आएको छ । भारतको खुला बजारमा नेपालका विभिन्न ६ आयोजनाको ३६४ मेगावाट विद्युत् बिक्री गर्न प्राधिकरणले अनुमति पाएको छ । तर, भारतमा दैनिक चार सय मेगावाटसम्म विद्युत् बिक्री भइरहेको प्राधिकरणले जनाएको छ । 

यस्तै, गत आवमा स्वदेशी खपत २१.२८ प्रतिशतले बढ्दासमेत भारतबाट आयात गरिने विद्युत् घटेको छ । आव ०७७/७८ मा दुई अर्ब ८० करोड ६० लाख युनिट विद्युत् आयात भएका थियो । तर, गत आवमा एक अर्ब ५४ करोड ३० लाख युनिट आयात भएको छ । रकमका आधारमा भने गत आव १५ अर्ब ४५ करोड रुपैयाँमा विद्युत् आयात भएको छ । अघिल्लो आव ०७७/७८ मा २१ अर्ब ८२ करोडको विद्युत् आयात भएको थियो । 

साढे ११ अर्ब विद्युत् व्यापारमा घाटा 
गत आवमा भारतसँगको विद्युत् व्यापारमा ११ अर्ब ५८ करोड घाटा भएको छ । समीक्षा अवधिमा प्राधिकरणले विद्युत्् निर्यातबाट तीन अर्ब ८८ करोड आम्दानी गरेको छ । तर, सोही अवधीमा १५ अर्ब ४५ करोडको विद्युत् आयात भएको छ । यसैगरी परिमाणका आधारमा भने एक अर्ब पाँच करोड युनिट घाटा देखिएको छ । यद्यपि, चालू आवबाट आयात गरिनेभन्दा निर्यात गरिने विद्युत् बढी हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

प्राधिकरणको नाफा १६ अर्ब पुग्ने 
प्राधिकरणले गत आवको खुद नाफा १६ अर्ब नौ करोड पुग्ने प्रक्षेपण गरेको छ, जुन अघिल्लो आवको तुलनामा १६४ प्रतिशतले बढी हो । प्राधिकरणले आव ०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफा कमाएको थियो । प्राधिकरणको आम्दानी भने एक खर्ब रुपैयाँ नाघेको कार्यकारी निर्देशक घिसिङले बताए । योसँगै प्राधिकरण सबैभन्दा बढी नाफा र आम्दानी गर्ने सार्वजनिक संस्था बनेको छ । 

‘यसबीचमा विद्युत् खपत र विद्युत् निर्यात बढ्यो । साथै, प्राधिकरणका स्वामित्वका अयोजनाबाट हुने विद्युत् उत्पादन पनि करिब १६ प्रतिशतले वृद्धि भयो,’ घिसिङले भने, ‘यसका अलावा विद्युत् चुहावट घट्यो, प्रभावकारी रूपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो ।’

आव ०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा भने निरन्तर नाफामा छ । प्राधिकरणले गत आवमा विद्युत् बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । त्यसमा समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुटसमेत दिएको छ । त्यसअनुसार विद्युत् बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो । 

चुहावट १५.३८ प्रतिशतमा झर्‍यो
अघिल्लो आव ०७७/७८ मा १७.१८ प्रतिशत रहेको विद्युत् चुहावट गत आवमा भने १५.३८ प्रतिशतमा झरेको छ । आव ०७६/७७ मा १५.२५ प्रतिशतमा झरेको विद्युत् चुहावट अघिल्लो आवमा पुनः बढेको थियो । तर, गत आवमा विद्युत् चुहावट घटाउन सफल भएको प्राधिकरणको भनाइ छ । 

आव ०७२/७३ मा विद्युत् चुहावट २५.७८ प्रतिशत रहेको थियो । त्यसपछिका वर्षमा भने विद्युत् चुहावट घट्दै आएका को छ । विद्युत् चुहावट नियन्त्रण गर्न विभिन्न काम गरेपछि उक्त सफलता मिलेको घिसिङले बताए । चुहावट नियन्त्रणबाट पनि गत आवमा दुई अर्ब रुपैयाँ आम्दानी भएको उनको भनाइ छ । 

‘चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रूपमा गरेका छौँ,’ उनले भने, ‘फलस्वरूप विद्युत् चुहावट घटेको हो ।’