१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ०६:२२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फूलबारी रिसोर्टको लिलामी रद्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ०६:२२:००

साँवाभन्दा कम मूल्य पाएपछि फूलबारी रिसोर्टको लिलाम प्रक्रिया रद्द भएको छ । लिलामी प्रक्रियामा बैंकले दिएको कर्जाभन्दा पनि कम मूल्यमा बोली लगाएपछि बोलपत्र रद्द भएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कर्मचारी सञ्चय कोषले २०५३ सालमा रिसोर्टलाई कर्जा दिएको थियो । नेपाल बैंकसँग रिसोर्टले एक अर्ब ३१ करोड ऋण लिएको थियो । नेपाल बैंक ६५ करोड, वाणिज्य बैंकले ३५ करोड र बाँकी ३० करोड लगानी सञ्चय कोषको रहेको थियो । ऋण तिर्नै नसक्ने अवस्थामा पुगेको रिसोर्ट लामो समयदेखि बन्द छ । बैंकले ऋणलाई २०७६ सालमा पुनरर्संरचना गरी तीन अर्ब ४७ करोड रुपैयाँ पुर्‍याएको थियो ।

बैंकले गत २ असारमा रिसोर्ट लिलामी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । अन्तिमसम्म लिलामीमा भाग लिने एलमेक इन्टरनेसनलले दुई अर्ब ७५ करोड रुपैयाँमा बोलकबोल गरेको थियो । उनले भने, ‘सकेसम्म बढी मूल्य पाइयोस् भन्ने हाम्रो उद्देश्य हो । तर, साँवाभन्दा पनि कम मूल्य आएपछि हामीले बोलपत्र रद्द गर्नुपर्‍यो ।’ 

नेपाल बैंकले सूचना निकालेपछि रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्य उच्च अदालत गएका थिए । साउन ५ गते अदालतले लिलाम प्रक्रिया रोक्न अन्तरिम आदेश दियो । यद्यपि, एलमेक इन्टरनेसनलले बोलकबोल गरिसकेको थियो । तर, अदालतले साउन १७ मा ऋण असुली रोक्नुनपर्ने भन्दै लिलाम गर्न बाटो खोलिदिएको थियो । 

हाल लिलामी रद्द गरेर बैंकले पुनः लिलामीको अर्काे प्रक्रिया सुरु गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । उनले भने, ‘हाम्रो चाहना भनेको सकेसम्म रिसोर्टलाई सञ्चालनमा ल्याउन दिनुपर्छ भन्ने हो । तर, हाल कायम सञ्चालकबाट यो रिसोर्ट चल्नै नसक्ने हाम्रो निष्कर्ष छ ।’ पहिलो वर्ष प्रत्येक त्रैमासमा ब्याज तिर्नुपर्ने र दोस्रो वर्षदेखि साँवा र ब्याज दुवै तिनुपर्ने गरी पुनर्संरचना गरिएको थियो ।