मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २५ बुधबार १६:२६:००
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘लोककलाकारको जीवनी’ सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २५ बुधबार १६:२६:००

कलाकार देवेन्द्र थुम्केलीद्वारा लिखित ‘लोककलाकार जीवनी’ पुस्तक सार्वजनिक भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मंगलबार उक्त कृतिको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गरेका हुन् । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागले प्रकाशन गरेको उक्त कृतिमा नेपालमा प्रचलित विभिन्न लोककलाकारहरूको जीवनी समेटिएको छ । पुस्तक विमोचन कार्यक्रममा प्रतिष्ठानका कुलपति कर्माचार्यले पुस्तकले नेपालका लोककलाकारलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले देशभर हरेक स्थान र जातिविशेषमा रहेका लोककलाकारबारेमा सानो पुस्तकले समेट्न नसके पनि आगामी दिनमा यस विषयमा पुस्तक लेख्नका लागि प्रतिष्ठानले पहल लिने प्रतिबद्धता जनाए । उनले भने, ‘आगामी दिनमा प्रतिष्ठान एवं अन्य लेखकले पनि लोककला र कलाकारका बारेमा अझै व्यापक ढंगले लेख्नुपर्ने आवश्यकता बढेर गएको छ ।’ 

कार्यक्रममा नेपाल ललितकला पत्रकार समाज (सोफाज)का अध्यक्ष केशवराज खनालले लोककलाको बृहत् पाटोलाई अझै गहन रूपमा ल्याउनुपर्ने विचार व्यक्त गरे । उनले लोककलाकारका बारेमा पुस्तक पहिलोपटक लेखिएको र अन्य शृंखला पनि भाग १–२ गर्दै लेख्दै जानुपर्ने सुझाव दिए । त्यसैगरी पुस्तकका लेखक देवेन्द्र थुम्केलीले पुस्तकमा नेवार, अवधि, मिथिला, थारू र राजवंशी लोककलामा काम गर्ने कलाकारबारे लेखिएको बताए । उनले नेपाली लोककला क्षेत्रमा विशिष्ट कलाकार धेरै भए पनि एउटा पुस्तकमा सबैलाई स्थान दिन नसकिएको जनाए । थुम्केलीले आगामी संस्करणमा लोककलाकारबारे कलम चलाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानका प्राज्ञ रमेशनाथ खनालले पुस्तकले नेपाली लोककला र कलाकारलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको बताए । उनले पुस्तक सानै भए पनि महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा प्रतिष्ठानले अझै गम्भीर ढंगले कलाक्षेत्रका विविध आयामलाई खोज अनुसन्धान गर्दै प्रकाशन गर्ने भनाइ राखे ।

प्राज्ञ सञ्जय बान्तवाले लोककलाको विकासमा सबै क्षेत्रले विशेष ध्यान दिनुपर्ने बताए । उनले लोककलालाई मूलधारमा ल्याई यसको महत्व र पहिचानलाई बचाउन खोज अनुसन्धान तथा प्रकाशनलगायतका विविध कार्यक्रममार्फत काम गर्नुपर्नेमा जोड दिए । प्रतिष्ठानको लोककला विभाग प्रमुख मिथिलादेवी यादवले लोककलाको वैभवको प्रवर्द्धनका लागि हरेक समुदायमा अभ्यास भइरहेको लोककलाको बारेमा पुस्तक लेख्न सकिने बताइन् । 

पुस्तकमा शारदा चित्रकार, जीतबहादुर रायमाझी ‘मैथिल’, जुलुमलाल चित्रकार, सूर्यबहादुर चित्रकार, श्यामानन्द ठकुरी, अजितकुमार साह, मिथिलादेवी यादव, एससी समुन, सीतादेवी कर्ण, लक्ष्मण मण्डल, पवनकुमार राजवंशी, पुनमकुमारी दास र मित्थु थारूको जीवनीसहित कलाकृतिको चर्चा गरिएको छ ।