मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
२०७९ श्रावण २५ बुधबार १२:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार कामचलाउ भइसक्यो, झुलाएर राख्न महाभियोगको नाटक : उपाध्यक्ष नेम्वाङ

Read Time : < 1 मिनेट
२०७९ श्रावण २५ बुधबार १२:२६:००

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तासाझेदार दलहरूले प्रतिपक्षलाई अप्रजातान्त्रिक रूपमा घेराबन्दी गरेको आरोप लगाएका छन्। पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन बुधबार ताप्लेजुङ आएका नेम्वाङले पत्रकार सम्मेलनमा प्रतिपक्षलाई घेराबन्दी गरेर प्रजातन्त्रको रक्षा नहुने बताए।

संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई छापामार शैलीमा महाभियोग लगाइएको आरोप लगाएका छन्। गत फागनु १ मा महाभियोग दर्ता गराएर सरकार सुतेको भन्दै उनले प्रधानन्यायाधीशलाई झुन्ड्याएर राख्न मात्र महाभियोग लगाइएको उनले जिकिर गरे।

‘महाभियोग लगाएर सरकार सुतिरहेको छ। अहिले पाँच महिनाभन्दा धेरै भएको छ। तैपनि अहिलेसम्म सुनुवाइ भएको छैन,’ उनले भने, ‘फागुन २२ गते महाभियोग समिति बनेको छ। एमालेका तर्फबाट समितिलाई नाम दिएका थियौँ। अहिले साथीहरूले बिर्सिसक्नुभएको छ। तर काम सुरु भएको छैन।’

चुनावको मिति घोषणा भइसकेको र असोजमा उम्मेदवारी दिने भएपछि संसद् नै नरहने उल्लेख गर्दै उनले सरकार कामचलाउ भइसकेको बताए। निर्वाचनमा गएपछि छानबिन समितिका सदस्य नै नरहने भएकाले प्रधानन्यायाधीशलाई झुन्ड्याएर राख्न मात्र छानबिनको नाटक रचिएको उनको आरोप छ।

फरक प्रसंगमा उनले सत्तारूढ दलको गठबन्धन दूषित रहेको टिप्पणी गरे। संकटकालमा टाउकोको मूल्य तोकेको प्रसंग जोड्दै उनले पार्टीको मूल्य मान्यताअनुसार मात्र गठबन्धन हुनुपर्ने बताए। ‘प्रजातन्त्रमा गठबन्धन हुन्छ, तर गठबन्धन मूल्य मान्यताअनुसार हुनुपर्छ,’ उनले भने।