मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शान्ति तामाङ काठमाडौं
२०७९ श्रावण २५ बुधबार १०:१३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ल्यान्डफिल साइटमा भएका उपकरण र फोहोर बोकेका गाडी तोडफोड

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७९ श्रावण २५ बुधबार १०:१३:००

फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको काठमाडौं महानगरको आरोप

धदिङको धुनीबेँसीस्थित बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन प्रयोग गरिँदै आएका सवारीसाधन र उपकरण तोडफोड भएको छ । काठमाडौं महानगरपालिकाका दुईवटा डोजर, एउटा एक्साभेटर र काठमाडौंबाट फोहोर बोकेर गएका, रात परेर खन्याउन नपाएका आलेटारनजिक पार्किङ गरेर राखिएका ट्रकहरूमा तोडफोड भएको हो । 

महानगरअन्तर्गत वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार सोमबार राति ९ बजे तोडफोडका घटना भएको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ‘हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङलाई क्षतिको विवरण पठाउन पत्राचार गरेका छौँ । त्यहाँबाट पत्र आएपछि वास्तविकता यकिन हुन्छ,’ उनले भनिन्, ‘स्थानीय प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको जानकारी प्राप्त भएको छ ।’ 

तोडफोड गरिएका सवारी तथा उपकरणमध्ये क्यापिङ गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका छन् । रोकेर राखिएका गाडीहरूको सिसा फोडिएको छ । घटनाबारे काठमाडौं महानगर प्रमुखको सचिवालय सदस्य इन्जिनियर सुनील लम्साल भन्छन्, ‘महानगरमा बालेन्द्र साह प्रमुखका रूपमा निर्वाचित भएर आएदेखि नै अवरोध हुँदै आएको छ । सुरुवातमा हामीले मुख्य समस्या भनेको सडक हो भन्ने बुझेर त्यहीअनुसार काम गर्‍यौँ । यसका लागि सडक विभागलाई नियमित कामका लागि दबाब दिँदै गयौँ । महानगरबाट बजेटको व्यवस्था गर्‍यौँ । यसरी काम गरिरहँदा हामीलाई के जानकारी भयो भने अवरोध हुनुको पछाडि फोहोर र पूर्वाधार निर्माणसँग सम्बन्धित स्थानीय व्यवसायको सम्बन्ध छ ।’ 

लम्सालले केही स्थानीयले आफ्ना स्वार्थ पूरा गर्न फोहोर व्यवस्थापनमा अवरोध गर्नुलाई हतियार बनाइएको दाबी गरे । ‘सोमबार रातिको तोडफोड यसैको शृंखला हो । ‘समयक्रममा सबै कुरा बाहिर आउँछन् । आन्दोलनरत पक्षले आफ्नो व्यवसायबाट ढुंगा खरिद गराउन चाहन्छन् । मल कारखाना त्यही क्षेत्रमा बनाउन चाहन्छन् । वासिङ सेन्टर आफूअनुकूल सञ्चालन गराउन चाहन्छन्,’ लम्सालले भने, ‘हाम्रो प्राथमिकता भनेको लिचेड व्यवस्थापन हो । दुर्गन्ध हटाउनु हो । झिँगालगायत कीराहरूको फैलावट रोक्नु हो । हामी प्रणालीमा काम गर्न चाहन्छौँ । प्रभावित क्षेत्रको वातावरण र जनस्वास्थ्यप्रति जिम्मेवार भएर काम गर्न चाहन्छौँ । यो व्यक्तिगत लाभ सोच्नेहरूका लागि पचेको छैन ।’ 

काठमाडौंको फोहोर फेरि नउठ्ने 
सोमबार तोडफोड गरिएका सवारी तथा उपकरण काम नलाग्ने भएपछि मंगलबार बन्चरे डाँडासम्म फोहोर लैजान सकिएको छैन । सुरक्षाको ग्यारेन्टी नभएसम्म काठमाडौंको फोहोर नउठ्ने महानगरपालिकाले जनाएको छ । ‘सोमबार तोडफोड गरिएका सवारी र उपकरण काम नलाग्ने भएका छन् । त्यसैले सुरक्षाको ग्यारेन्टी नभएसम्म हामी फोहोर लैजान सक्दैनौँ,’ महानगरका इन्जिनियर सरकारदीप श्रेष्ठले भने । 

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह भन्छन् : फोहोर बोक्ने साधनहरूको तोडफोड जघन्य अपराध हो
फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशील छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्ध रूपमा नयाँनयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ । यसैक्रममा सोमबार राति फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरूको तोडफोड भएको छ ।

फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौँ । कानुनी रूपमा पनि फोहोर बोक्ने साधनहरूको तोडफोड जघन्य अपराध हो । कानुनबमोजिम अपराधीहरूलाई कडाभन्दा कडा कारबाही हुनैपर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरूबाटै यसको भर्पाई तथा क्षतिपूर्ति गराउनुपर्छ ।

यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको छ । केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा १८ वटा पालिकाहरूको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।