Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ श्रावण २५ बुधबार ०६:५८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पूर्वकप्तान ज्ञानेन्द्र भित्रिए कुशल र विनोद बाहिरिए

Read Time : > 2 मिनेट
२०७९ श्रावण २५ बुधबार ०६:५८:००

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन् । मध्यक्रम र ओपनिङ ब्याटिङ लाइनअप बलियो बनाउन नेपाल क्रिकेट संघ (क्यान)ले केन्याविरुद्धको मैत्रीपूर्ण सिरिजका लागि अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्रलाई टोलीमा समावेश गरेको हो ।ज्ञानेन्द्रको आगमनसँगै एकदिवसीय तथा टी– २० क्रिकेटमा नियमित ओपनिङ गर्दै आइरहेका कुशल भुर्तेल भने बाहिरिएका छन् । आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र स्कटल्यान्डको सिरिजमा कुशलले खराब प्रदर्शन गरेका थिए । उनले यसपटक केन्याविरुद्धको मैत्रीपूर्ण सिरिजमा पनि स्थान बनाउन सकेनन् । 

केन्यासँग अर्को महिना प्रतियोगिता हुँदै छ । पाँचवटा अन्तर्राष्ट्रिय टी– २० र तीन एकदिवसीय अभ्यासका लागि क्यानले मंगलबार अन्तिम टोली घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेलाई कप्तान तथा रोहितकुमार पौडेललाई उपकप्तानीको जिम्मेवारी दिएको छ ।पूर्वप्रशिक्षक पुबुदु दासानायकेले गत मार्चमा युएईमा भएको आइसिसी विश्वकप लिग २ पछि ज्ञानेन्द्रलाई टोलीमा राखेका थिएनन् । ज्ञानेन्द्रले पनि प्राप्त मौका राम्रो ब्याटिङ गर्न सकेनन् । त्यसपछि पुबुदुले खराब प्रदर्शन गरेका सिनियर खेलाडीलाई बाहिर राख्ने र युवा खेलाडीलाई प्राथमिकता दिँदा ज्ञानेन्द्रले टोलीमा स्थान बनाउन सकेका थिएनन् । 

आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र स्कटल्यान्डको सिरिजमा खराब प्रदर्शन गरेका कुशल र विनोदले केन्याविरुद्धको सिरिजमा स्थान बनाउन सकेनन् 

पपुवा न्युगिनीसँग दुईवटा एकदिवसीय, पपुवा न्युगिनी र मलेसियासँग त्रिकोणात्मक टी– २० सिरिजमा ज्ञानेन्द्रको प्रदर्शन सन्तोषजनक थिएन । दुईवटा सिरिजमा ज्ञानेन्द्रको ब्याटिङ कमजोर भए पनि पुबुदले उनलाई कीर्तिपुरमा भएको जिम्बाबेविरुद्धको एकदिवसीय तथा टी–२० खेलमा मौका दिएका थिए । तर, यसमा पनि उनको प्रदर्शन आशाविपरीत भयो । युएई भ्रमणमा उनले चार खेलमा ८२ रन बनाएका थिए । लगातार खराब प्रदर्शन गरेका ज्ञानेन्द्रले त्यसपछि अमेरिका र स्कटल्यान्डमा भएको विश्वकप लिग २ सिरिज गुमाए । सोमबार मात्रै नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले ज्ञानेन्द्रलाई ओपनिङ वा मध्यक्रमका ब्याटिङ गराउन सक्छन् । ज्ञानेन्द्रको मनपर्ने स्थान नै तेस्रो क्रम हो । ज्ञानेन्द्रको खुबी भनेकै ओपनिङ तथा मध्यक्रममा आकर्षक ब्याटिङ गर्न सक्छन् । अहिले नेपाली टोलीमा आसिफ सेख नियमित ओपनिङ ब्याट्सम्यान हुन् । 

क्यानले विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई पनि आसन्न सिरिजबाट बाहिर राखेको छ । सिनियर खेलाडीका रूपमा टोलीभित्र रहेका विनोदको प्रदर्शन उतारचढाव रह्यो । कुशलले स्कटल्यान्डको भ्रमणमा चार खेलमा ६० रन मात्र जोडे । उनी एकपटक शून्य रनमा आउट भएका थिए । कुशलले १९ एकदिवसीय खेलमा तीन अर्धशतकको मद्दतमा तीन सय ८५ रन बनाएका छन् । यसैगरी, १६ अन्तर्राष्ट्रिय टी– १० खेलमा उनले पाँच सय ७३ रन जोडेका छन् । कुशलले अन्तर्राष्ट्रिय टी– २० खेलमा एक शतक तथा पाँच अर्धशतकीय इनिङ खेलेका छन् । उनले टी– २० मा ५८ चौका र २१ छक्का प्रहार गरेका छन् । 

 अर्जुन पहिलोपटक टोलीमा
क्यानले दु्ई नियमित खेलाडीलाई बाहिर राख्दा ज्ञानेन्द्रसँगै युवा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदलाई पनि टोलीमा समावेश गरेको छ । अर्जुनले विनोदको स्थान लिने पक्का छ । अर्जुनसँग नेपाली यू– १९ राष्ट्रिय टोलीको अनुभव छ । अर्जुनको खुबी नै ओपनिङमा विस्फोटक ब्याटिङ गर्नु हो । धनगढीमा जन्मेका अर्जुनले गत डिसेम्बरमा युएईमा भएको यू– १९ क्रिकेट प्रतियोगितामा श्रीलंकाविरुद्ध ६४ रनको इनिङ्स खेलेका थिए । सो सिरिजमा उनले बंगलादेशविरुद्ध १९ रन र कुवेतविरुद्ध १० रन बनाए । क्यानले युवा अलराउन्डर विवेक यादव र स्पिनर साहब आलमले पनि टोलीमा बोलाएको छ ।

क्यानले नेपाली राष्ट्रिय टोलीको ब्याटिङ लाइन अफ बलियो बनाउन  सिनियर खेलाडी ज्ञानेन्द्रलाई मार्चपछि टोलीमा समावेश गरेको छ ।  उनले ओपनिङ वा तेस्रो क्रममा ब्याटिङ गर्न सक्छन्

 एकदिवसीयमा ज्ञानेन्द्रको प्रदर्शन
नेपाली टोलीबाट ज्ञानेन्द्रले १९ खेल खेलेका छन् । उनले १९ इनिङ्स नै ब्याटिङ गर्दा चार सय ८० रन बनाएका छन् ।६४.६० को स्ट्राइकमा ब्याटिङ गर्न रुचाउने ज्ञानेन्द्रले चारपटक अर्धशतक एकदिवसीय खेले । उनले ५० ओभरको खेलमा ४५ चौका र ६ पटक छक्का प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय टी– २० खेलमा उनले ४० खेलमा ३४ इनिङ्स खेलेका छन् । टी– २० मा उनले समान एक शतक तथा अर्धशतकीय इनिङ्स खेले । उनले टी– २० मा सात सय ४८ रन बटुलेका छन् । उनले एकदिवसीयमा एक विकेट लिएका छन् । उनले एकदिवसीय खेलमा एक विकेट पपुवा न्युगिनीविरुद्ध लिएका हुन् । यसैगरी, फेब्रुअरीमा भएको खेलमा उनले ओमानविरुद्ध १५, आयरल्यान्डविरुद्ध पाँच रन तथा युएईविरुद्ध २२ रन जोडे । 
 नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल
(उपकप्तान), आसिफ सेख(विकेटकिपर), आरिफ सेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सर्राफ, साहब आलम, किशोर महतो, विवेक यादव ।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर शाह ।
 केन्या र नेपालबीचको   खेल तालिका
९ भदौ, पहिलो टी– २०
१० भदौ, दोस्रो टी– २०
१२ भदौ, तेस्रो टी– २० 
१३ भदौ, चौथो टी– २० 
१४ भदौ, पाँचौँ टी– २०
 तीन एकदिवसीय अभ्यास खेल
१७ भदौ, पहिलो खेल
१८ भदौ, दोस्रो खेल
२० भदौ, तेस्रो खेल