१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ श्रावण २५ बुधबार ०६:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नीलगाई र बाँदर धपाउन ‘ट्राई मेथाइल अमिन’ रसायन प्रभावकारी

Read Time : > 1 मिनेट
२०७९ श्रावण २५ बुधबार ०६:१६:००

किसानको अन्नबालीमा नोक्सान पुर्‍याउँदै आएको नीलगाई र बाँदर धपाउन नयाँ रासायनिक पदार्थको प्रयोग गर्न सकिने विधि पत्ता लागेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अनुसन्धानकर्ता वैज्ञानिक डा. उज्ज्वलकुमार सिंह कुशवाहाले खेतबारीमा जंगली जनावरहरू नीलगाई र बाँदरबाट सुरक्षा प्रदान गर्ने नयाँ रसायन पत्ता लगाएका हुन् । उनले विगत तीन वर्षदेखि यसको अनुसन्धान गर्दै आएका थिए ।

उनले नीलगाई र बाँदर धपाउन एउटा विशेष प्रकारको रसायन ‘ट्राई मेथाइल अमिन’ प्रयोग गरिएको बताएका छन् । यो रसायनलाई हालसम्म झारनाशक विषादी बनाउन, विभिन्न किसिमका रंगाउने पदार्थ बनाउन, कोलिन रसायन उत्पादन गर्न र बोटबिरुवा विकासका लागि विभिन्न हर्मोन बनाउन प्रयोग गरिँदै आएको छ । अनुसन्धानको सफलतापछि भारतको किट विज्ञानसम्बन्धी अग्रणी जर्नल ‘इन्डियन जर्नल अफ इन्टोमोलोजी’मा जुन २०२२ मा यो विषयमा आर्टिकल प्रकाशितसमेत भएको छ । प्रतिष्ठित जर्नललाई ‘द एन्टोमोलोजिकल सोसाइटी अफ इन्डिया’ले सन् १९३९ देखि प्रकाशित गर्दै आएको छ । 

‘ट्राई मेथाइल अमिन’ एउटा अत्यन्तै शक्तिशाली गन्धयुक्त पदार्थ हो । यसको गन्ध कुहेको माछा र अमोनिया ग्यासझैँ कडा हुने गर्छ । असुहाउँदो तीव्र गन्धका कारण नीलगाई र बाँदरलगायतका जंगली जनावरहरू दिगभ्रमित भई बालीनाली छाडेर भाग्ने उनले जानकारी दिए । उनले भने, ‘ट्राई मेथाइल अमिनको गन्ध नीलगाई र बाँदरजस्ता जनावरलाई जलन गराउने, आपत्ति प्रदर्शन गराउने किसिमको हुन्छ । फलस्वरूप बालीनाली खान गएका जनावरहरू आफ्नो दिशा परिवर्तन गर्छन् र बाली सुरक्षित हुन पुग्छ ।’

परीक्षणमा प्राप्त नतिजाअनुसार १५ मिलिलिटरजति रसायन एक ठाउँमा राख्दा करिब दुई रोपनी वर्गाकार खेतलाई १२ देखि १४ दिनसम्म सुरक्षा प्रदान गर्छ । यो प्रविधिको मुख्य विशेषता भनेको रसायनलाई अन्य विषादीजस्तै बोटबिरुवामा छर्नुपर्दैन, साथै यसको नकारात्मक प्रभाव हालसम्म बोटबिरुवामा देखिएको छैन । अन्य रासायनिक विषादीजस्तै यो रसायन पनि मानवमैत्री छैन । ट्राई मेथाइल अमिन मानिसले धेरै मात्रामा सुँघेमा टाउको दुख्ने, रिँगटा लाग्ने र एलर्जी हुने समस्या देखिन सक्छन् । त्यसकारण यस्ता रसायनको प्रयोग गर्नुपूर्व विज्ञसँग सल्लाह लिनु आवश्यक हुने कुशवाहा बताउँछन् । यो रसायन प्रयोग गरेर किसानलाई खेतमा जानुपर्दा सक्दो मास्क लगाएर जान उनी सुझाउँछन् । 

डा. कुशवाहाले उक्त अनुसन्धान सर्लाही, सुनसरी, काठमाडौं र सिन्धुपाल्चोक जिल्ला घर भएका किसानहरूको खेतमा गरेका थिए । त्यसक्रममा उनले विभिन्न बालीहरू जस्तै, फूलकोभी, बन्दा, आलु, सखरखण्ड, गहुँ, धनियाँ, प्याज, खुर्सानी, भन्टा, मकै, हरियो मटर, उखु, तोरी, रहर र भिन्डीमा परीक्षण सञ्चालन गरेका थिए ।  अनुसन्धानको नतिजा उत्साहजनक रहेको कुशवाहाले बताए । ट्राई मेथाइल अमिनको प्रयोगले करिब ९० प्रतिशत केसमा नीलगाई भागेको तथा बाँदर भगाउन ९५ प्रतिशत प्रभावकारी पाइएको छ । साथै, जंगली बँदेल भगाउन पनि करिब ५० प्रतिशत प्रभावकारी देखिएको उनको भनाइ छ । यो रसायनलाई केही दिनको अन्तरालमा तीन–चार चोटिको प्रयोगले नीलगाई र बाँदरले लामो समयसम्म खेतबारीमा नोक्सान नगरेको पनि देखिएको छ ।

  केही किसानले उक्त रसायन प्रयोग गर्दा हरिणले पनि बाली नोक्सान नगरेकोे बताएका छन् । डा. कुशवाहाका अनुसार यो रसायनको प्रयोगले अरू जंगली जनावरहरूबाट पनि खेतबारीलाई सुरक्षित बनाउन सकिन्छ । नीलगाई, बाँदर र बँदेलबाहेक अरू जीवजन्तु वा जनावरमा यसको परीक्षण भने गरिएको छैन । त्यसैगरी, उनले एउटा विशेष किसिमको बुहारी माछालाई जैविक प्रविधिबाट कुहाएर त्यसको झोल बोटबिरुवामा प्रयोग गर्दा नीलगाईले नोक्सान नगरेको बताए । उक्त झोल बनाउन उनले एक किलो ग्राम माछालाई साना–साना टुक्रा गरी दुई लिटर पानीमा मिलाएका थिए ।