१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बिल गेट्स
२०७९ श्रावण २४ मंगलबार ०८:५२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

स्वच्छ ऊर्जाका लागि कंग्रेसको पर्खाइ

Read Time : > 2 मिनेट
बिल गेट्स
२०७९ श्रावण २४ मंगलबार ०८:५२:००

साँझपखको समाचार हेर्नुहोस्, तपाईंले अमेरिकी जनताले जलवायु परिवर्तनका असर भोगिरहेका छन् भनेर तुरुन्तै थाहा पाउनुहुन्छ । उग्र गर्मी र खडेरीले करोडौँ मानिसलाई प्रभावित पारेको छ र यता अमेरिकामा अपलाचियादेखि क्यालिफोर्नियासम्मका समुदाय बाढी र डढेलोले तहसनहस भएका छन् । अब आउँदा दिनमा कंग्रेससँग जलवायु परिवर्तनको सामना गर्ने र सँगसँगै मुलुकको ऊर्जा सुरक्षाको सुदृढीकरण गर्ने मौका छ, जसले व्यापारका अवसर र अमेरिकी जनताको संरक्षण गर्न सक्नेछ । यसलाई हामी गुमाउन सक्दैनौँ ।

 मुद्रास्फीति न्यूनीकरणसम्बन्धी प्रस्तावित कानुन ‘द इन्फ्लेसन रिडक्सन एक्ट अफ २०२२’ सम्भवतः जलवायुसम्बन्धी सबैभन्दा महत्वपूर्ण विधेयक हुनेछ । विधेयकले ऊर्जाको स्वच्छ, सस्तो एवं प्रभावकारी भविष्य निर्माणको सबैभन्दा उत्तम अवसर दिन सक्छ । अन्य सिनेटरका साथै विशेषतः न्युयोर्कका सिनेटर चक सुमर र वेस्ट भर्जिनियाका सिनेटर जो मन्चिनको यो विधेयक निर्माणमा ठूलो योगदान छ ।

सन् २०१५ मा स्वच्छ ऊर्जा प्रतिस्थापनका लागि मैले स्थापना गरेको ‘ब्रेक थ्रु इनर्जी’ नामक जलवायु संस्थाले मलाई थुप्रै व्यापारी अगुवा र अभियन्तासँग परिचित गरायो । यी नेता एवं अभियन्ता यो विधेयक आओस् भनेर दशकौँदेखि अथक रूपमा प्रयास गरिरहेका थिए । विधेयक पारित हुने मोटामोटी सुनिश्चित भए पनि यसको सफलताको कुनै प्रत्याभूति छैन । तसर्थ, चनाखो रहिरहन आवश्यक छ । सफलताको प्रत्याभूति किन छैन त ? यसपछाडिका कारणबारे व्याख्या गरौँ ।     

हरित गृह ग्यासको (नेट) शून्य उत्सर्जनका लागि आवश्यक प्रविधि बनिसकेका छैनन्, अर्थात् यी प्रविधि विकासको पहिलो चरणमा छन् अथवा अत्यधिक महँगा छन् । अर्कातिर सौर्य, वायु र विद्युतीय वाहनलगायत तुलानात्मक रूपमा परिपक्व प्रविधिलाई चाँडोभन्दा चाँडो धेरै ठाउँमा प्रयोगमा ल्याइनुपर्छ । नयाँ र विस्तारित कर ऋण र दीर्घकालीन उपायमार्फत यस विधेयकले महत्वपूर्ण जलवायु समाधानले नयाँ उद्योगको विकासमा निरन्तर समर्थनको सुनिश्चितता गर्नेछ ।

यी प्रोत्साहनले निजी क्षेत्रलाई दीर्घकालीन रूपमा लगानी गर्ने आश्वासन पनि दिन्छ । हरित गृह ग्यासको शून्य उत्सर्जन हासिल गर्न हामीले ‘डिकार्बोनाइज’ अर्थात् कार्बनरहित गराउन गाह्रो हुने क्षेत्र (उत्पादन क्षेत्र) मा हाम्रा अर्थतन्त्रका अवयवलाई परिवर्तन गर्न सुरु गर्नुपर्छ । यी कदमले आधुनिक एवं भरपर्दो ऊर्जा पूर्वाधार सिर्जना गर्न मद्दत गर्नेछ, ताकि सबैलाई किफायती, प्रशस्त र स्वच्छ ऊर्जामा पहुँच प्रदान गर्न सकियोस । र, यसको धेरै महत्व छ, विशेषतः यस्तो अवस्थामा जब अधिकांश अमेरिकी ग्रीष्मकालीन ब्ल्याकआउट (बत्ती जाने प्रक्रिया), ऊर्जा अभाव र उच्च ऊर्जा लागत अनुभव गरिरहेका छन् ।

मानवजातिले सामना गरेको सबैभन्दा कठिन समस्या जलवायु परिवर्तनलाई उल्ट्याउनु हो । जलवायु परिवर्तनको दुष्प्रभावलाई रोक्ने हो भने हामीले बृहत् योजना साथ छिट्टै पहलकदमी लिनुपर्छ । 
 

यो प्रस्तावित कानुनले ती प्रोत्साहन र लगानीका साथ अमेरिकी नवप्रवर्तनको नयाँ युगको सुरुवात गर्नेछ । अमेरिकाका विश्वविद्यालय र उद्योगका आविष्कार गर्ने क्षमता कुनै कोणबाट कम आँक्न मिल्ने खालको छैन । यद्यपि, अन्य देशले आफ्नै स्वच्छ ऊर्जा अर्थतन्त्र निर्माण गर्न तत्परतासाथ लागिरहँदा कतै अमेरिका पछाडि पर्ने त होइन ? यो प्रस्तावित कानुनले ऊर्जा क्षेत्रमा ठूलो आर्थिक सम्भावना खोल्नेछ र अमेरिकी ऊर्जा विचारलाई अमेरिकी ऊर्जा उद्यममा रूपान्तरण गर्न मद्दत गर्नेछ । यदि यो कानुन बन्छ भने अमेरिकाजत्तिकै घरेलु स्वच्छ ऊर्जा उत्पादनको क्षमता थोरै देशमा हुने थियो । अमेरिकाले दिगो ऊर्जाको ठूलो मात्राको प्रयोगमा नेतृत्व लिन सक्छ ।

अमेरिकाको अर्थतन्त्र यो प्रतिस्थापनका लागि तयार छ । मैले हाम्रो सरकारले पहलकदमी लेओस् भनेर इच्छा राख्ने व्यवसायीसँग कुरा गरेको छु । धेरैले स्वच्छ ऊर्जा र ठूला जलवायु संरक्षणमा ठूलो लगानी गरेका छन्, किनभने यो लाभदायक छ । सरकारले स्वच्छ उद्योगमा लगानी गर्नु बुद्धिमानी एवं दीर्घकालीन निर्णय हो भनेर स्पष्ट सन्देश देओस् भनेर धेरै कम्पनी कुरिरहेका छन् । द इन्फ्लेसन रिडक्सन एक्ट अफ २०२२ पारित भएसँगै स्वच्छ ऊर्जामा हाम्रो भविष्यको निर्भरता बढाउन निजी पुँजीलाई अझ बढी विश्वास प्रदान गर्नेछ ।

राष्ट्रपति बाइडेनको अनुमोदनसँगै यस ऐनले लाखौँ रोजगारी सिर्जना गर्ने क्षमता भएका स्वच्छ ऊर्जा क्षेत्रलाई प्रोत्साहन र समर्थन जनाउनेछ र रोजगारीका लागि मुख्यतः जीवाश्म इन्धनमा निर्भर समुदायलाई लक्षित गरिनेछ । वास्तवमा स्वच्छ ऊर्जा अर्थतन्त्रमा आशाजनक प्रविधिलाई कोइला, तेल र ग्यास उद्योगमा काम गर्ने श्रमिकले पहिले नै आर्जन गरेका ज्ञान र क्षमता आवश्यक पर्छ । यसले प्रतिस्थापनलाई थप न्यायोचित बनाउनेछ ।

सम्भवतः मानवजातिले सामना गरेको सबैभन्दा कठिन समस्या भनेकै जलवायु परिवर्तनलाई उल्ट्याउनु हो । यसले आधारभूत रूपमा रूपान्तरणको माग गर्छ, अर्थात् हामी कसरी हाम्रो समुदायलाई ऊर्जाको व्यवस्था गर्छौं, सामान ढुवानी गर्छौं, वस्तुको निर्माण गर्छौं, वातानुकुलित भवन निर्माण गर्छौं र कसरी खाना उत्पादन गर्छौं भन्ने सोच्न बाध्य बनाउनेछ । यदि हामी जलवायु परिवर्तनको दुष्प्रभाव रोक्न चाहन्छौँ भने हामीले बृहत् योजनाका साथ छिट्टै पहलकदमी गर्नुपर्छ ।

राष्ट्रसँग के सम्भावना छ भनी रुपरेखा बनाएर त्यसलाई पूरा गरी उदाहरणका रूपमा नेतृत्व गर्ने मौका छ । यो विधेयक पारित गरेर कंग्रेसले एक महत्वपूर्ण स्मृति स्थापना गर्नेछ, अर्थात् जब देशले सामना गर्ने असंख्य कठिनाइका बाबजुद वासिंगटनका निर्वाचित अधिकारीले सफा, स्वस्थ र थप समृद्ध भविष्य सिर्जना गर्न महत्वाकांक्षी एवं दूरदर्शी कदम चालेका थिए । यो स्मृति निर्माण कार्यलाई पूरा गरौँ ।
द न्युयोर्क टाइम्सबाट (गेट्स माइक्रोसफ्टका सहसंस्थापक एवं ब्रेकथ्रु इनर्जीका संस्थापक हुन्)