मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अनिल यादव काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार ०७:३२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

असन्तुष्ट मधेसी नेतालाई फकाउने प्रयास

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार ०७:३२:००

०७४ को तुलनामा गत वैशाखको स्थानीय निर्वाचनमा मधेसमा राम्रो परिणाम ल्याएको एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर मधेसकेन्द्रित दलका असन्तुष्ट नेता फकाउने कसरत थालेको छ । मधेसमा उपस्थिति कमजोर हुन नदिन एमालेले जसपा र लोसपाका असन्तुष्ट नेता पार्टीमा ल्याउन पहल थालेको हो । अध्यक्ष ओलीले मधेसी नेतासँग संवादका लागि निकट मानिएका नेता महेश बस्नेतलाई खटाएका छन् । ओली आफैँले पनि जसपा र लोसपाका असन्तुष्ट नेतासँग भेटघाट गर्ने तयारी छ । 

जसपा विभाजनलगत्तै सो पार्टीका तीन नेता गत शुक्रबार एमाले प्रवेश गरेका थिए । पूर्वसांसदसमेत रहेका जसपाका केन्द्रीय सदस्यद्वय काशिम अली सिद्धिकी, आशा चतुर्वेदी र लुम्बिनी प्रदेश कमिटी सदस्य श्वेता श्रीवास्तवलाई एमाले अध्यक्ष ओलीले बालकोटमै पार्टी प्रवेश गराएका थिए । 

मधेसवादी दलका थप १०–१२ जना ठूला नेतासँग सकारात्मक संवाद भइरहेको एमाले नेता बस्नेतले बताए । बस्नेतका अनुसार जसपाका राजकिशोर यादव, विमल श्रीवास्तव, अमृतादेवी अग्रहरी, रामनरेश राय यादव, लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालगायत दर्जनजति नेताहरूसँग निरन्तर भेटघाट र छलफल भइरहेको छ ।

महेश बस्नेत, एमाले नेता
जसपाका राजकिशोर यादव, विमल श्रीवास्तव, अमृतादेवी अग्रहरी, रामनरेश राय यादव, लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालगायत दर्जनजति नेताहरूसँग निरन्तर भेटघाट र छलफल भइरहेको छ

‘उहाँहरू एमालेसँग सहकार्य गर्न सकारात्मक हुनुहुन्छ । कसरी सहकार्य गर्ने ? छुट्टै पार्टी भएर या पार्टीमै प्रवेश गरेर, त्यसमा निश्चित भइसकेको छैन,’ उनले भने । यी नेतासँग चाँडै अध्यक्ष ओलीले भेट्ने उनले बताए । 

जसपामा विवाद बढ्दा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आ–आफ्नो समूहका केन्द्रीय सदस्यको बैठक राखेका थिए । यादवको बैठकमा ५१ र भट्टराई पक्षको बैठकमा ४० प्रतिशत केन्द्रीय सदस्य पुगेनन् । सोही कारण यादवले गरेको कारबाहीले पनि मान्यता पाएन र भट्टराईले पनि पार्टी औपचारिक रूपमा विभाजन गर्न सकेनन् । यसको कारण थियो– यादव र भट्टराई दुवैतिर नलागेका नेताहरू कतै पनि बैठकमा सहभागी भएनन् । अहिले एमालेले तिनै नेताहरूसँग संवाद बढाएको हो । एमाले उपमहासचिव विष्णु रिमालले पनि मधेसवादी नेताहरूलाई पार्टीमा भित्र्याउन मिहिनेत भइरहेको बताए । 

अध्यक्ष यादवले असार २९ र ३० गते वीरगन्जमा बैठक बोलाउँदै गर्दा संघीय परिषद् अध्यक्ष भट्टराईले भने असार २८ र २९ गते काठमाडौंमा राखेका थिए । त्यतिवेला राजकिशोर यादव, अमृतादेवी अग्रहरी, रामनरेश रायलगायतका केही नेता भने दुवै पक्षको बैठकमा गएनन् । मन्त्रीबाट हटाइएकी रेणु भने वीरगन्ज बैठकमा पुगिन्, तर राजीनामासहित । अहिलेको अवस्थामा पार्टीको कुनै पनि पदीय जिम्मेवारीमा नरहने घोषणासहितको राजीनामा बुझाएर उनी त्यहाँबाट फर्किएकी थिइन् ।

पार्टीभित्र यो असन्तुष्ट समूह कहाँ जान्छ भन्ने चर्चा चलिरहँदा उनीहरू भित्रभित्रै एमालेसँग सहकार्यका लागि छलफलमा जुटिरहेको खुलेको हो । यद्यपि, जसपा नेता राजकिशोर यादवले यसलाई स्विकार्न चाहेनन् । ‘अहिले म जसपामै छु,’ उनले भने, ‘वीरगन्ज बैठकमै विविध कारणले गइएन होला । तर, तत्काल कतै जाने सोचेको छैन,’ उनी थप खुल्न चाहेनन् । 

अर्की सांसद अमृतादेवी अग्रहरीले पनि आफू पार्टीमै रहेको बताइन् । ‘खासमा हामी एकताका लागि सक्दो प्रयासमा थियौँ, तर सफल भइएन,’ उनले भनिन्, ‘अहिले हामी सबै आ–आफ्नो तरिकाले अगाडि बढिरहेका छौँ । म हिजो पनि पार्टीमै थिएँ, अहिले पनि पार्टीमै छु । म कुनै व्यक्तिको पक्षमा छैन, पार्टीको पक्षमा छु ।’

जसपाका प्रमुख सचेतक प्रमोद शाहले पनि राजकिशोर, रेणुलगायतका नेता पार्टीमा फर्किएको दाबी गर्न सकेनन् । ‘रामनरेशजी निरन्तर भेटघाटमा आइरहनुभएको छ,’ उनले भने, ‘तर राजकिशोरजी ठ्याक्कै आएको अवस्था मैले सुनेको छैन । रेणुजी पनि दुखेसो लिएर बसिरहनुभएको छ । तर, जति पनि असन्तुष्ट साथीहरू हुनुहुन्छ, उहाँहरू पार्टीमै बसेर काम गर्छु भन्नुहुन्छ भने हाम्रो सधैँ स्वागत छ ।’