मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण २३ सोमबार ११:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

टरिगाउँ विमानस्थलबाट हप्तामा तीन दिन मात्रै हवाई सेवा

Read Time : > 1 मिनेट
२०७९ श्रावण २३ सोमबार ११:३८:००

दाङको टरिगाउँ विमानस्थलमा फ्लाइट संख्या घटाइएको छ। जहाज बिग्रिएर ‘ग्राउन्डेड’ भएकाले अब हप्तामा तीन दिन मात्र विमानले उडान भर्नेछ। यसअघि दैनिक फ्लाइट हुने गरेकोमा अब बुधबार, बिहीबार र शुक्रबार मात्रै फ्लाइट हुनेछ।

‘जहाज ग्राउन्डेड भएकाले अहिले तीन दिन मात्रै सेवा दिने गरेका छौँ,’ नेपाल वायु सेवा निगमका दाङ स्टेसन म्यानेजर महेन्द्र शर्मा भन्छन्, ‘पहिले शुक्रबार र शनिबारबाहेक अन्य दिन सेवा दिने गरेकोमा पछि प्रत्येक दिन दिँदै आएका थियौँ । तर, अहिले घटाउनुपर्ने अवस्था आएको छ।’ असारको दोस्रो सातादेखि नियमित हप्तामा तीन दिन मात्रै सेवा दिन थालिएको हो। उनका अनुसार अहिले यात्रुको पनि त्यति चाप छैन। दैनिक सरदर १०–१२ जना यात्रु आवतजावत गर्ने गरेका उनले जानकारी दिए।

अहिले एयरपोर्टमा निगमको १९ सिटे ट्विनअटर मात्र आउने गर्छ। ठूला जहाज आउनका लागि धावनमार्ग नै विस्तार गर्नुपर्छ। सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग विस्तारको माग पटकपटक हुँदै आएको छ। धावनमार्ग बढाउन सकिएमा ठूला जहाज आउने र हवाई भाडा पनि कम हुने अपेक्षा गरिएको छ। अहिले दाङ–काठमाडौं हवाई भाडा न्यूनतम आठ हजार आठ सय १० रुपैयाँ र अधिकतम १२ हजार ६ सय ६५ रुपैयाँ रहेको छ। काठमाडौंबाट दाङ आउँदा भने त्यसको दुई सय रुपैयाँ बढी तिर्नुपर्छ। दाङमा यात्रु सेवा शुल्क तीन सय मात्र भए पनि काठमाडौंमा पाँच सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुई सय रुपैयाँ बढी लाग्ने गर्छ। 

डिपो सञ्चालनका लागि ल्याब रिपोर्टको पर्खाइ
विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ। डिपोमा इन्धन भण्डारणका लागि ट्यांकी पनि आइसकेको छ भने अन्य आवश्यक भवन, सेट, कम्पाउन्ड, डिपोबाट एयरपोर्टसम्म पुग्ने सडक निर्माण भइसकेको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख विपिनकुमार श्रेष्ठले बताए। ‘डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अब केही समयमा सञ्चालनमा आउँछ।’

डिपो सञ्चालनका लागि अहिले बायो परीक्षणका लागि भारत पठाइएको छ। उक्त रिपोर्ट आएपछि निगमको केन्द्रीय कार्यालयले समिति निर्माण गरेर सञ्चालनमा ल्याउनेछ। करिब पाँच लाखको लागतमा उक्त डिपो निर्माण गरिएको हो। डिपोमा रहेको ट्यांकीमा इन्धन पनि ल्याइसकिएको छ। ३० हजार लिटर क्षमता भएको उक्त डिपोमा अहिले २० हजार लिटर इन्धन ल्याइएको छ। ट्यांकीमा ३० हजार र बाउजरमा ११ हजार लिटर भण्डारण गर्न सकिने प्रमुख श्रेष्ठले बताए। उनका अनुसार भारतको लखनउबाट नेपालगन्ज हुँदै दाङमा इन्धन ल्याइनेछ।

इन्धन डिपो सञ्चालनमा आएपछि भाडामा त्यति धेरै तलमाथि नभए पनि सेवाग्राहीले थोरै भए पनि राहत पाउने वायुसेवा निगमका दाङ स्टेसन म्यानेजर महेन्द्र शर्मा बताउँछन्। उनका अनुसार काठमाडौंबाट १२ सिटबाहेकका सिटमा अहिले इन्धन बोकेर ल्याउनुपर्ने अवस्था छ। तर, दाङमै इन्धन भर्न सकेमा सबै सिटमा यात्रु आउनेछन्। दाङबाट पनि अहिले सबै सिटमा पठाउन सकिएको अवस्था छैन। इन्धन डिपो सञ्चालनमा आएमा सबै सिटमा राखेर पठाउन सकिने उनले बताए।