मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २३ सोमबार ०८:२४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हेटौँडामा तीनपांग्रे सवारीमा स्टिकर अनिवार्य

Read Time : < 1 मिनेट
२०७९ श्रावण २३ सोमबार ०८:२४:००

 हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र चल्ने तीनपांग्रे सवारीसाधनलाई नियन्त्रणमा ल्याउन स्टिकर अनिवार्य गरिएको छ । हेटौँडा उपमहानगरले अधिकांश तीनपांग्रे सवारीसाधन नियमपूर्वक सञ्चालनमा नरहेको भन्दै नियन्त्रणमा ल्याउन स्टिकर अनिवार्य गरेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा बिहीबारबाट उपमहानगरपालिकाले स्टिकर वितरणसमेत सुरु गरेको छ । पहिलो चरणमा यसअघि नै अनुमति लिइसकेका तीनपांग्रे सवारीसाधनलाई मात्र सञ्चालन अनुमतिसहितको स्टिकर प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ । प्रवक्ता सविन न्यौपानेले स्टिकर वितरण गरेसँगै अब हेटौँडा उपमहानगर क्षेत्रमा सञ्चालन अनुमति लिएकाबाहेक अन्य तीनपांग्रे सवारीसाधनलाई निषेध गरिने बताए ।

उनका अनुसार गत ३२ असारमा उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरीसहित सरोकारवालासँग गरेको पटक–पटकको छलफल र स्थलगत निरीक्षणबाट प्राप्त सुझावका आधारमा कार्यपालिकाले स्टिकर वितरण अभियान सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो ।

उपमहानगर क्षेत्रमा सञ्चालनको अनुमति पाएका करिब सात सय अटो र मयुरी भए पनि अहिले तीन हजारभन्दा बढी संख्यामा सञ्चालनमा रहेको अनुमान गरिएको छ । स्टिकर टाँस्ने कार्यले उपमहानगरको राजस्व आम्दानी बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत टेवा पुग्ने नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । ‘स्टिकर वितरणले बजार क्षेत्रमा यातायात व्यवस्थापनमा सहयोग पुग्ने र तीनपांग्रे सवारीलाई नियन्त्रणमा ल्याउन सहज हुने अपेक्षा गरिएको छ,’ मेयर लामाले भनिन् । 

७ पुस ०७६ को कार्यपालिका बैठकले उपमहानगर क्षेत्रमा तीनपांग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरेको थियो । उक्त मितिपछि विभिन्न पालिका तथा अन्यत्र जिल्लामा सञ्चालन अनुमति परमिट लिएर हेटौँडा बजार क्षेत्रमा अनधिकृत रूपमा सञ्चालन भइरहेका तीनपांग्रे सवारीसाधनलाई निषेध गर्ने गरी उपमहानगर अगाडि बढेको हो । हालसम्म कारबाहीमा नपरेको, यात्रुलाई जिम्मेवार भएर सेवा दिएको भन्दै मयुरीचालक कृष्णप्रसाद दुलाल र इन्दिरा सापकोटालाई नगदसहित कार्यक्रममा सम्मान गरिएको थियो ।