मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०८:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने

तर, जहाज उडान–अवतरणका लागि जोखिमपूर्ण रिट्ठेपानी डाँडो कटान र ल्यान्डफिल साइट सार्ने काम अझै सुरु भएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०८:१०:००

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को सञ्चालक समिति बैठकले १ जनवरी २०२३ देखि विमानस्थल सञ्चालन गर्ने मिति तोकेको हो । करिब पाँच महिनापछि विमानस्थल सञ्चालन गर्ने निर्णय गरे पनि जहाज उडान–अवतरणमा जोखिमपूर्ण मानिने रिट्ठेपानी डाँडो कटान र ल्यान्डफिल साइट हटाउने काम भने अझै सुरु भएको छैन ।

डाँडो कटान र ल्यान्डफिल साइट नहटाउँदासम्म उडान–अवतरण गर्न जोखिमपूर्ण रहेको क्यानकै प्राविधिक टोलीको अध्ययनले देखाएको छ । त्यस्तै, विमानस्थल सञ्चालनमा आउने टुंगो भइसक्दा पनि पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट व्यवस्थापन गर्न सकेको छैन । विमानस्थलछेवैमा ल्यान्डफिल साइट रहेका कारण चराचुरुंगी र जनावरहरू आइरहने भएकाले जहाज उडान–अवतरणमा जोखिमपूर्ण हुने देखिन्छ । छिटोभन्दा छिटो सम्पूर्ण कामहरू सकेर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

वन तथा भू–संरक्षण विभागले रिट्ठेपानी डाँडाका जोखिमजन्य अवस्थामा रहेका रूख तथा पोलहरू हटाउन स्वीकृति दिइसकेको छ । यो विषयमा वन विभाग र क्यानबीच १४ असारमा समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । रिट्ठेपानी डाँडो कटान गर्न कानुनी बाटो खुले पनि सार्वजनिक खरिद प्रक्रियामार्फत अगाडि बढ्दा समय लाग्ने क्यानका उच्च अधिकारी बताउँछन् । त्यसो त बर्सातको समयमा डाँडो कटान पनि चुनौतीपूर्ण हुन्छ । सोही कारण डाँडो कटानको स्वीकृति पाएको एक महिना बितिसक्दा पनि क्यानले प्रक्रियालाई निष्कर्षमा पु¥याउन सकेको छैन । 

रिट्ठेपानी डाँडो एउटा चुच्चोबाट ४० मिटर र अर्को चुच्चोबाट साढे १२ मिटर कटान गर्नुपर्ने हुन्छ । डाँडो काटेपछि माटो व्यवस्थापन गर्नुपर्छ । तलपट्टि डाँडोलाई टेवा दिन बलियो पर्खाल बनाउनुपर्छ । सबै प्रक्रिया पूरा गरेर डाँडो कटान र व्यवस्थापन गर्न कम्तीमा पनि सात–आठ महिना लाग्ने क्यानकै उच्च अधिकारी बताउँछन् । ‘हामीले पोखरा विमानस्थल सञ्चालनमा ल्याउने मिति तोकेका छौँ,’ क्यानका महानिर्देशक अधिकारीले भने, ‘विमानस्थल सञ्चालनमा ल्याउनुपूर्व धेरै काम गर्न बाँकी छ, हामीले तोकिएकै समयमा विमानस्थल सञ्चालन गर्ने गरी सबै काम तीव्र गतिमा सम्पन्न गर्नेछौँ ।’

अझै विमानस्थलमा नेभिगेसन (यन्त्र उपकरण जडान)को काम बाँकी नै छ । नियमित उडान सुरु गर्नुपूर्व क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । तर, त्यसका लागि भने डाँडो १४ मिटर मात्र काटे पुग्ने क्यानले जनाएको छ । विमानस्थल निर्माणमा करिब २२ करोड रुपैयाँ लगानी हुनेछ । चिनियाँ सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सुरु भएको विमानस्थल पोखरा क्षेत्रकै आर्थिक समृद्धिका लागि महत्वपूर्ण ठानिएको छ । क्यानले अंग्रेजी नयाँ वर्षसम्म पोखराको आकाशमा उड्ने साहसिक मनोरञ्जनात्मक खेल प्याराग्लाइडिङ अन्यत्र ठाउँ खोजेर सार्न भनिरहेको छ ।