१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०६:५८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिट बाँडफाँडको मोडालिटी खोज्ने पाँचदलीय कार्यदलको आज पहिलो बैठक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार ०६:५८:००

प्रदेश र संघीय निर्वाचनका लागि साउन मसान्तभित्र सिट बाँडफाँडको मोडालिटीसहित सुझाव दिन गठित सत्तारूढ पाँचदलीय कार्यदलको पहिलो बैठक सोमबार बस्दै छ । बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यले बताएका छन् ।

पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँडबारे छलफल गर्ने कार्यदलको तयारी छ । दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्दै छ ।  कार्यदल सदस्य सिटौलाका अनुसार तालमेलको आधारबारे पहिलो बैठकमा छलफल हुनेछ । ‘तालमेलको आधार के–कस्तो हुने भन्नेबारे टुंगो लागेको छैन । बैठकमा छलफल सुरु हुन्छ । कार्यदलको बैठकअघि कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै छ,’ सिटौलाले भने । 

दलहरूले आवश्यक गृहकार्य नगरेकाले पहिलो बैठक औपचारिकतामा सीमित हुने कार्यदल सदस्यहरूले बताएका छन् । अनौपचारिक छलफल गरे पनि औपचारिक रूपमा सिट संख्या दाबी गर्ने गरी दलहरूले ठोस छलफल गरिसकेका छैनन् । आधार र माददण्ड तयार भएपछि सिट बाँडफाँडबारे दलहरूको तर्फबाट दाबी पेस हुनेछ । ‘पहिलो बैठकमा सिट बाँडफाँड के–कसरी गर्ने भन्नेबारे छलफल प्रारम्भ हुनेछ । निश्चित मापदण्ड बनाएर जान्छौँ,’ कार्यदल सदस्य हिमलाल पुरीले भने । 

कार्यदलको सुझावका आधारमा गठबन्धनमा भदौ पहिलो साताभित्र सिट बाँडफाँडको विषय टुंगो लगाउने तयारी छ । यादवले कार्यदलको पहिलो बैठकमा सामान्य छलफल हुने बताए । पार्टीमा छलफल गरेपछि विस्तृत रूपमा कार्यदलमा छलफल हुने उनले बताए । उनका अनुसार चुनावी तालमेलबारे विस्तृत छलफल गर्न जसपाले बैठक बोलाएको छैन । गत शुक्रबार गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट जनार्दन शर्मा र वर्षमान पुन, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

माओवादी, एकीकृत समाजवादी र जसपाले पनि सिट दाबीबारे ठोस छलफल गरेका छैनन् । गुरुङका अनुसार माओवादीमा अनौपचारिक छलफल जारी छ । अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि ठोस छलफल हुने उनले बताए । कार्यदलले आधार र मापदण्ड तयार पारेपछि सोही आधारमा पार्टीमा छलफल हुने एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । पुरीका अनुसार जनमोर्चाले पनि सिट दाबीबारे औपचारिक छलफल गरिसकेको छैन ।