मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण २२ आइतबार ०५:५३:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३४ ढोका खोलिए

Read Time : < 1 मिनेट
२०७९ श्रावण २२ आइतबार ०५:५३:००

तटीय क्षेत्रका बासिन्दालाई हाई अलर्टमा रहन प्रशासनको आग्रह 

सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३४ ढोका खुला गरिएको छ । शनिबार साँझ ६ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव दुई लाख ३१ हजार नौ सय २० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ । 

पानीको बहाव बढेसँगै ५६ मध्ये ३४ ढोका खुला गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । पहाडी जिल्लामा अत्यधिक वर्षा भएकाले कोसीमा पानीको बहाव अस्वाभाविक रूपमा बढ्न सक्ने प्रक्षेपण गरिएको छ । त्यसकारण तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ । 

यसअघि बिहीबार र शुक्रबार घाम लागेकाले सप्तकोसीमा पानीको मात्रा घट्दै गएको थियो । तर, शनिबार बिहान र दिउँसो लगातार पानी परेपछि नदीको सतह बढ्दै गएको हो । लगातारको वर्षाकै कारण सुनसरी–उदयपुर सीमा क्षेत्रमा पर्ने श्रीलंका टप्पुबाट विस्थापित भएकाहरू घर फर्कन पाएका छैनन् । कोसीले धार परिवर्तन गर्दै पश्चिम क्षेत्र कटान गर्दा स्थानीयवासी प्रभावित भएका छन् । 

उदयपुरको बेलका नगरपालिका– ८ मा रहेको लाहुरेखोचको डुम्रीबोटेको बाँध फुट्दा बुधबार कोसी मानव बस्तीमा पसेको थियो । विस्थापित एक हजार पाँच सय परिवारको उद्धार गरिएको छ ।