मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १८ बुधबार १७:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सदस्यता वितरणमा कडाइ गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १८ बुधबार १७:३०:००

प्रेस काउन्सिल नेपालले सदस्यता वितरणमा कडाइ गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन् । नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाइ गर्नुपर्ने बताए । 

कुनै दलको केन्द्रीय कमिटीमा रहेकाहरूलाई पनि महासंघले सदस्यता दिँदा समस्या आएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले त्यसो हुन नदिन नेपाल पत्रकार महासंघलगायतका सम्बद्ध निकायहरू सचेत हुनुपर्ने बताए । महासंघको सदस्यता लिने तर सक्रिय पत्रकारिता नगर्नेहरूको कारण पनि नेपालको सञ्चार क्षेत्रमा समस्या देखिएका उनको भनाइ थियो । 

‘अहिले  पत्रकारको आवरणमा, मिडियाको आवरणमा भेस्टेड इन्ट्रेस्ट राखेर गरिने कामहरूले ठूलो समस्या ल्याएको छ । त्यो विषयमा हामी यकिन हुनुपर्दछ । यहाँ पत्रकार महासंघको अध्यक्ष पनि हुनुहुन्छ । म विशेष आग्रह पनि गर्न चाहन्छु–हामीले पनि दिने सदस्यता जुन छ, यदि खुकुलो प्रावधान छन् भने कसौँ । पत्रकारको कार्ड लिएपछि लेख्नुपर्छ कि पर्दैैन ? सञ्चारमाध्यममा सक्रिय हुनुपर्छ कि पर्दैन ? सक्रिय पत्रकारिता गर्नुपर्छ कि पर्दैन ? अथवा कुनै दलको केन्द्रीय कमिटीमा बस्ने र सँगसँगै आफू पत्रकार सम्बद्ध संघ, संगठनमा बस्ने अनि अझ भोटै मागिदिने काम गर्नुहुन्छ कि हुँदैन ?’ उनले  भने, ‘यस विषयमा सञ्चारकर्मी आफैँ सचेत हुनुपर्छ । आफू सचेत भएपछि मात्रै अरूको विषयमा प्रश्न उठाउन सकिन्छ ।’

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष विपुल पोखरेलले राज्यले समेत पत्रकारहरूलाई विवेक पुर्याएर स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष पोखरेलले भने, ‘पत्रकारहरू लगानीकर्ताका दासै हुन् भन्ने ढंगले आरोप लगाउन थालियो भने हामी सही ठाउँमा पुग्दैनौँ । पत्रकारहरूको विवेक प्रयोग गर्ने वातावरण निर्माणमा कति ध्यान दिन सक्यौँ ? राज्यले बनाउने नीति–कार्यक्रमदेखि लिएर पारिश्रमिकलगायतका विभिन्न आयामहरू होलान । पत्रकारहरूले विवेक पुर्याएर काम गर्ने वातावरण बनाउनुपर्यो ।’