मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण १८ बुधबार ११:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लगातारको बाढीले मुगुको खत्याडका धानखेत बगरमा परिणत

Read Time : > 1 मिनेट
२०७९ श्रावण १८ बुधबार ११:३७:००

एक सातादेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिम खत्याड गाउँपालिका–८ का धानखेतरू बगरमा परिणत भएका छन् । अविरल वर्षाका कारण रारा तालबाट निस्किने खत्याड खोला र अन्य सहायक खोलाहरूमा पानीको बहाव बढेर ढुंगा, काठका ठुल्ठूला मुडा बगाएर ल्याएको बाढीपहिरोले धानबाली र बाटाघाटा, पुल पुलेसामा समेत क्षति गरेको हो ।

लगातारको वर्षातका कारण रारा तालबाट निस्केको खत्याड खोला र आसपासका साना खोला बढेर बाढीमा परिणत भई रोपिएको धान बाली, खेतीयोग्य जमिन, सिँचाइ कुला, नहरहरू सबै बगरमा परिणत भएको खत्याड गाउँपालिका– ८ रिगागाउँका अभिचन्द्र सञ्जेलले जानकारी दिए । अन्य पानीघट्ट, काठेपुल, सडक, गोरेटाबाटालगायतका संरचना पूर्ण रूपमा क्षति भएको उनको भनाइ छ ।

‘बाढीले सयौँ रोपनी खेतमा रोपिएका धान बाली पूर्ण रूपमा नष्ट भएको छ भने अन्य संरचना पूरै काम नलाग्ने भएका छन् । जेठमा रोपिएका धान करिब फुल्न लागेका थिए, सबै बाढीले बगायो,’ रिगागाउँकी ललित सञ्जेलले दुखेसो सुनाइन, ‘अब के गरेर जहानबच्चा पाल्ने होला ?’ अर्का कृषक रत्नचन्द्र सञ्जेलको पीडा पनि उस्तै छ । उनले भने, ‘आफ्नो पनि वर्षभरिलाई पुग्ने धान बाली सबै बाढीले बगाएर लग्यो । अब के गर्ने, कसरी वर्षभरिको लागि अन्न जोहो गर्ने भन्ने चिन्ता लागेको छ ।’ 

दर्जनौँ सडकमा क्षति

बाढीको कारण खत्याड गाउँपालिकाको  रिगागाउँ, आम, ठामलेक, लुई, कर्खा, जामिर, रिखिया, रास्कुटीबाडा, गम्था, पैखु, माझचौर, केरै, चिमाडुङ्ग्री, श्रीकोट, सेरीलगायत गाउँ बस्तीका धानबाली र अन्य भौतिक संरचनामा क्षति पुगेको छ । बाढीले मुगुका दर्जनौँ सडक भत्काएपछि यातायात आवतजावतमा समेत समस्या बनाएको छ । कैयाैँ घरबस्तीसमेत जोखिम बनाइदिएको छ ।

जिल्लाभरिमा कच्ची सडक मात्रै भएकाले अत्यधिक सडक हिलाम्य बनाएर यात्रुबाहक जिप, भाडाका गाडी, एम्बुलेन्स, मालबाहक गाडी, ट्याक्टरलगायत यातायातका साधन आउजाउमा समेत समस्या भएको छ ।