मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण १७ मंगलबार १७:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणीमा पानीको सतह खतरानजिक, गण्डक ब्यारेजका सबै ढोका खोलिए 

Read Time : > 1 मिनेट
२०७९ श्रावण १७ मंगलबार १७:५०:००

नारायणी नदीमा पानीको सतह खतरानजिक पुगेपछि पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गण्डक बाँँधका सबै ढोका खोलिएको छ। दुई दिनदेखि परेको वर्षाले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको सबै ३६ वटै ढोका खोलिएको हो।

सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ। गण्डक बाँधको ढोकाको चाबी सधैँ भारतले राख्ने गरेको छ। देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीमा पानीको सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो तटीय क्षेत्रमा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो।

डुबानमा परेको गैंडाकोट

पूर्वी नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तहनजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको जानकारी दिए। ‘सोमबारसम्म त्रिवेणीको गण्डक ब्यारेजमा १८ वटा ढोका मात्रै खोलिएको थियो,’ उनले भने, ‘नारायणी नदीको जलाधार क्षेत्रमा ठूलो पानी परिरहेको सूचना प्राप्त भएसँगै सोमबार रातिदेखि ब्यारेजका सबै ढोका खोलिएको छ।’ गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले बताए।

पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ। ढोका नखोले नवलपरासीका ४० बढी गाउँ डुबानमा पर्छन्। नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैँसालोटन जोडेको छ।

प्रतिसेकेन्ड साढे ८ लाख क्युसेक बेगको पानी धान्ने क्षमता गण्डक बाँधको हो। पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले साढे चार लाख क्युसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालय भैँसालोटनका भूआर्जन अधिकारी अमित खड्काले बताए।

तीन लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिन्छ। अहिले दुई लाख ९७ हजार प्रतिसेकेन्डको बेगले पानी बगेको छ। पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने बताइएको छ।

यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरूको व्यवस्थापन र उद्धारका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।