Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण १७ मंगलबार ११:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डोल्पा अस्पताल जोड्ने मोटरेबल पुल नहुँदा बाटोमै ज्यान गुमाउँछन् बिरामी

Read Time : < 1 मिनेट
२०७९ श्रावण १७ मंगलबार ११:५८:००

जिल्लाको एक मात्र अस्पतालको रूपमा रहेको जिल्ला अस्पताल डोल्पा जोड्ने मोटरेबल पुल नहुँदा उपचारका लागि अस्पतालसम्म पुग्न बिरामीले सास्ती खेप्दै आएका छन्। पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घन्टा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ।

अहिले प्रयोग भइरहेको बाटो घुमाउरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको छ। सदरमुकामस्थित लामालोटे या कालिका मन्दिर आसपासबाट बेलिब्रिज बनाएर बिरामी बोकेको एम्बुलेन्स सीधै अस्पतालसम्म पुर्‍याउन सकिने भए पनि पुल निर्माणका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएको अस्पताल र स्थानीयको गुनासो छ।

डोल्पाली नेता, स्थानीय तह, प्रदेश तथा संघीय सरकारलाई पुल निर्माणका लागि पटकपटक गुहार गरे पनि कसैले नसुनेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरबहादुर शाहीले बताए। बजारको झोलुंगे पुलसम्म मात्र मोटरबाटो भएकाले त्यहाँसम्म मात्र एम्बुलेन्सले बिरामी ल्याउँछ। त्यसपछि बिरामी बीचबाटोमै अलपत्र पर्ने गरेका छन्। शाहीका अनुसार कहिलेकाहीँ बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पतालसम्म लैजान मान्छे नपाउँदा बिरामीले बाटोमै ज्यानसमेत गुमाएका छन्।

दुनैका ठूला व्यापारीको व्यक्तिगत स्वार्थका कारण केही वर्षअघि बन्न लागेको झोलुंगेपुल पनि स्थगित भएको सदरमुकामका एक स्थानीयले बताए। अस्पतालसम्म सीधा पुल जोडिए वारिपट्टिको बजार सुक्छ भन्ने व्यापारीको स्वार्थका कारण निमार्णको तयारी भएको पुल पछि रोकिएको उनको भनाइ छ।

पुल नभएकै कारण अस्पताल पुर्‍याउन ढिला हुँदा दुई साताअघि एक बालकले बीचबाटोमै ज्यान गुमाउनुपरेको जिल्ला अस्पतालका डाक्टर अखण्ड उपाध्यायले बताए। ‘गाडी छुटेदेखि अस्पतालसम्म पुग्ने बाटो घुमाउरो र जोखिमपूर्ण छ। ती बालकलाई समयमै अस्पताल ल्याउन सकेको भए ज्यान जोगिन सक्थ्यो,’ डाक्टर उपाध्यायले भने, ‘कतिपय गर्भवती महिला बीचबाटोमै सुत्केरी हुने गरेका छन्। पुलका लागि धेरै ठाउँमा गुहारियो, तर कसैले पनि कुरा सुनेनन्।’