मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ श्रावण १७ मंगलबार ११:१०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

राजस्व कार्यालय कञ्चनपुरले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ श्रावण १७ मंगलबार ११:१०:००

करछली गर्ने ठूला व्यवसायीमाथि कार्यालय उदासीन रहँदा बर्सेनि राजस्व छली

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । गत आर्थिक वर्ष ०७८/७९ मा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको हो । आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार राजस्व संकलन गर्ने विभिन्न ६ करका शीर्षकमध्ये अन्तःशुल्कबाहेक अन्य सबै शीर्षकमा लक्ष्यभन्दा कम मात्रै राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्ष राजस्व कार्यालय कञ्चनपुरले दुई अर्ब ७१ करोड १६ लाख ८६ हजार राजस्व संकलन गर्ने लक्ष्य अघि सारे पनि दुई अर्ब ५० करोड १९ लाख २३ हजार मात्रै राजस्व संकलन गरेको छ । लक्ष्यअनुरूप २० करोड ९७ लाख ६३ हजार राजस्व संकलन गर्न नसकेको हो । एक वर्षको अवधिमा ९२.२६ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । आयकर, घरभाडा कर, मुनाफाकर, मूल्यअभिवृद्धिकर, अन्तःशुल्क कर र शिक्षा करमध्ये मूल्य अभिवृद्धिकर मात्रै लक्ष्यभन्दा बढी संकलन गरेको छ । 

धुम्रपान तथा मद्यपान मदिराजन्य पदार्थमा लाग्ने करमा मात्रै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । एक अर्ब २२ करोड ६८ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य रहे पनि एक अर्ब २२ करोड ७४ लाख १९ हजार रुपैयाँ संकलन गरेको छ । 

अन्तःशुल्कबापत राजस्व कार्यालयले लक्ष्यभन्दा केही रकम बढी संकलन गरेको तथ्यले कञ्चनपुरमा मदिराको कारोबार बढी भएको चित्रण गर्छ । आयकरतर्फ ८७.३५, घरबहाल करतर्फ ८७.८४, ब्याजतर्फको नाफामा ९५.७२, मूल्य अभिवृद्धिकरतर्फ ८४.३०, शिक्षाकरतर्फ ४.५२ प्रतिशत मात्रै संकलन भएको छ । 

सबैभन्दा कम शिक्षातर्फको कर संकलन भएको छ । २८ लाख ३८ हजार लक्ष्य राखेपछि एक लाख २८ हजार मात्रै राजस्व संकलन भएको छ । करछली गर्ने ठूला करदाता व्यवसायीमाथि कार्यालय उदासीन रहँदा बर्सेनि राजस्व छली भइरहेको कर्मचारी स्रोतले जनाएका छन् । वास्तविक तिर्नुपर्ने कर झुटा विवरण पेस गर्दा राजस्व चुहावट भइरहेको छ । 

कर्मचारीको उदासीनता, राजस्व चुहावट, कर छली, कारोबार कम भएका कारण पनि लक्ष्यअनुरूप आन्तरिक राजस्व संकलन नभएको कार्यालयले जनाएको छ । करछली रोक्ने काम कार्यालयको भए पनि त्यसतर्फ ध्यान नदिँदा र करदातामा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा पनि कार्यालयले दुई वर्ष लगातार लक्ष्य भेटाउन सकेको छैन । 

आन्तरिक राजस्व कार्यालयका प्रमुख पुष्कर न्यौपानेले कारोबार नहुँदा कम राजस्व संकलन भएको बताए । ‘कारोबार कम हुँदा राजस्व पनि कम संकलन भयो,’ उनले भने, ‘गत वर्ष कोरोना महामारी, ठेक्काबाट उठ्ने रकम पनि उठेन ।’