मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल
२०७५ चैत ७ बिहीबार १२:०९:००
Read Time : > 1 मिनेट
प्रदेश

एम्बुलेन्स दुर्घटना परेपछि डोकोकै भर

Read Time : > 1 मिनेट
रमेश रावल
२०७५ चैत ७ बिहीबार १२:०९:००

जिल्ला अस्पतालको एम्बुलेन्स दुर्घटनामा परेर क्षति पुगेपछि कालिकोटका बिरामीलाई समस्या भएको छ । फेरि गाउँबाट डोकोमै बोकेर बिरामीलाई अस्पताल ल्याउनुपरेको स्थानीय बासिन्दाले बताए । कालिकोट जिल्ला अस्पतालमा एउटा एम्बुलेन्स थियो । बिरामीलाई सुर्खेत पु-याएर फर्किने क्रममा २७ मंसिरमा दैलेखको गुराँसेमा दुर्घटनामा परेको थियो । दुर्घटनामा क्षति पुगेको एम्बुलेन्स बनाउन सकिएको छैन । त्यसयता बिरामीलाई अस्पताल ल्याउन समस्या भएको हो । 

गाउँघरबाट बिरामीलाई बोकेर अस्पताल ल्याए पनि त्यहाँबाट रिफर गरिएपछि भने झन् अप्ठ्यारो हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । बिरामीलाई अन्यत्र रिफर गर्दा स्वास्थ्यकर्मी पनि सकसमा पर्ने गरेका छन् । अन्यत्र कसरी पठाउने भन्ने समस्या हुने गरेको जिल्ला अस्पतालका प्रमुख डा.भीष्म पोखरेलले बताए । ‘जिल्लामा एउटा पनि एम्बुलेन्स छैन । बिरामीलाई अन्यत्र रिफर गर्दा समस्या हुने गरेको छ,’ डा. पोखरेलले भने । 

एम्बुलेन्स खरिदका लागि कालिकोटका कुनै पनि स्थानीय सरकारले वास्ता गरेका छैनन् । बरु, उनीहरू आफ्नै सुविधाका लागि सवारीसाधान भने खरिद गरिररहेको स्थानीय बासिन्दाको गुनासो छ । नागरिक समाजका अगुवा अधिवक्ता अम्मलराज शाहीले जनप्रतिनिधि उत्तरदायी नहुँदा समस्या भएको बताए । ‘जनप्रतिनिधिमा मानवीय संवेदना छैन ।

जनताप्रति उत्तरदायी पनि छैनन्,’ उनले भने, ‘आफ्ना लागि महँगा गाडी किन्छन् । तर, जनस्वास्थ्यसँग जोडिएको एम्बुलेन्स खरिद गर्न कुनै चासो दिएका छैनन् ।’कालिकोटमा दुई लाख जनसंख्या छ । दैनिक बिरामीलाई त आवश्यक छ नै सडक दुर्घटनामा उद्धारका लागि पनि एम्बुलेन्स आवश्यक भएको उनको भनाइ छ ।

शय्या अभावले भुइँमै उपचार 
 शैय्याको अभावले जाजरकोट जिल्ला अस्पतालमा बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपरिरहेको छ । लामो समयदेखि स्तरोन्नति नहुँदा समस्या भएको जिल्ला अस्पतालका डा. महेश सेजुवालले बताए । बिरामीको चापअनुसार  शैय्या  नभएकाले भुइँमै राखेर उपचार गर्नुपरिरहेको डा. सेजुलवाले बताए । ५० शैय्या अस्पतालमा नयाँ भवन बनेको छैन । ०३२ मै बनेका भवनमा सेवा सञ्चालन भइरहेका छन् । 

जिल्ला अस्पतालमा विशेषज्ञ सेवा पाइन थालेपछि बिरामीको चाप पनि बढेको छ । यसअघि नेपालगन्ज र सुर्खेत जाने स्थानीय बासिन्दा अहिले जिल्ला अस्पतालमै उपचार गराउन आउन थालेका छन् । ‘एउटा शैय्यामा दुईजना बिरामी राख्दा पनि पुगेको छैन,’ स्वास्थ्यकर्मी लालबहादुर बस्नेतले भने । डोल्पा र रकुमबाट पनि बिरामी आउन थालेको उनले बताए । अस्पताल भवन पनि जीर्ण बनेको छ । नयाँ भवन बन्न सकेको छैन । ठेकेदारको लापर्बाहीले पाँच वर्षदेखि नयाँ भवन बन्न नसकेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष धर्मशिला बस्नेतले बताइन् ।