१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण १५ आइतबार २२:०१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

 ‘डिजिटल साक्षरता’ र ‘उहिलेको पत्रकारिता’ सार्वजनिक 

Read Time : > 1 मिनेट
२०७९ श्रावण १५ आइतबार २२:०१:००

सञ्चार रजिस्टारको कार्यालय बागमती प्रदेशद्वारा प्रकाशित ‘डिजिटल साक्षरता’ र ‘उहिलेको पत्रकारिता’ गरी दुई पुस्तक सार्वजनिक गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले आइतबार हेटौँडामा पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै मन्त्री खनालले डिजिटल साक्षरताले अबको मार्गप्रशस्त गरेको र उहिलेको पत्रकारिताले इतिहासलाई स्मरण गराएको बताए । उनले दुवै पुस्तकले बागमती प्रदेश र आफ्नो मन्त्रालयको साख बढाएको बताए । ‘अब प्रविधिसँग जोडिएन भने पछाडि परिन्छ, डिजिटल साक्षरता पुस्तकले प्रविधिसँग जोड्न मद्दत पुर्याउनेछ,’ मन्त्री खनालले भने । सञ्चार रजिस्टारको रूपमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिँदा सफलता प्राप्त भएको उनको भनाइ थियो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण शर्माले सञ्चार रजिस्टार कार्यालयले गरेको सिर्जनात्मक कार्य प्रशंसनीय रहेको बताए ।  ‘यस्ता कार्यलाई निरन्तरता दिनुपर्छ,’ उनले भने । 

उहिलेको पत्रकारितामा निरन्तरताको इतिहासका रूपमा भैरव रिसाल, मोफसलको धरोहरको रूपमा नारायणप्रसाद शर्मा, स्वरकी खानीको रूपमा कृष्णा ताम्राकार, पत्रकारिताका गुरु लालध्वज देउसा राई  र पत्रकारका गुरु रामकृष्ण रेग्मीका अनुभव समेटिएको छ ।

‘पत्रकारिता इतिहासको अभिलेख पनि हो । इतिहासका प्रमाणिक सूचना त्यस्ता व्यक्तिहरूसँग हुन्छन् जसले आफ्नो जीवनको उर्वरशील समय सूचना संकलन, प्रशोधन र सम्पादनमा खर्चेका हुन्छन्’ सञ्चार रजिस्टार रेवतीप्रसाद सापकोटाले भने, ‘सत्तापक्ष, प्रतिपक्ष, प्रशासनिक संरचना र नागरिक सबैतिरका सूचना संकलन, प्रशोधन र सम्पादन गरेको अनुभव सँगालेका जेष्ठ पत्रकार आफैँमा जिउँदा इतिहास हुन् । जेष्ठ पत्रकारसँग रहेका सूचना इतिहासका साक्षी प्रमाण हुन्।’ 

पुस्तकमा समेटिएका जेष्ठ पत्रकार भैरव रिसाल ९४ वर्ष, नारायण शर्मा ९१ वर्ष, लालध्वज देउसा राई ८९ वर्ष, कृष्णा ताम्राकार ८२ वर्ष र रामकृष्ण रेग्मी ७५ वर्षका छन् । पत्रकारितामा उनीहरूको भोगाइ, उनीहरूले गरेको पत्रकारिताको अभ्यास, भोग्नुपरेका चुनौती र संघर्षका कथा पुस्तकमा समेटिएका छन् । 'डिजिटल साक्षरता' पुस्तकका सामग्री डिजिटल मिडिया फाउन्डेसनले तयार गरेको हो भने 'उहिलेको पत्रकारिता' पुस्तकमा समेटिएका सामग्री मिडिया आउटरिचले तयार पारेको हो ।