मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १५ आइतबार २१:१६:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १५ आइतबार २१:१६:००

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को एक सय १३ औँ बैठकले राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार  रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । पोखरामा २८ असोजदेखि ३ कात्तिकसम्म हुने खेलकुदमा सो पुरस्कार दिने राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । 

बैठकले प्रतियोगिताको एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेता खेलाडीलाई नगद २५ हजार तथा टिम इभेन्टमा स्वर्ण विजेतालाई १५ हजार पुरस्कार दिने निर्णय गरेको छ । बैठकले आर्थिक वर्ष ०७९/८० को वार्षिक योजना, कार्यक्रम तथा बजेटसमेत पारित गरेको छ । त्यसैगरी, बैठकले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न जिल्लामा रहेका कर्मचारी प्रदेश खेलकुदमातहत रहने गरी काम गराउने निर्णय पनि गरेको छ । यस्तै, खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार भत्ता दिने, प्रदेश छनोटका लागि आवश्यक बजेट उपलब्ध गराउने, सम्बन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरूले मात्र सम्बन्धित टिममा सहभागी हुनुपर्नेलगायतका निर्णय पनि बैठकले गरेको अध्यक्ष घिसिङले जानकारी दिए । 

बैठकले १५ भदौसम्म खेलाडीको संख्या तथा २५ भदौसम्ममा नाम दर्ता गराउनका लागि समय तोकेको छ । प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरेको छ ।

प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीले सार्वजनिक गर्ने तथा ट्रफीलाई सातै प्रदेश तथा तीनविभागीय टोलीको मुख्यालयमा प्रर्दशन गरिनेछ । यस्तै, परिषद्को कर्मचारी सेवा, सर्तसम्बन्धी विनियम तयार गर्न परिषद् सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति गठन गरिने भएको छ । यस्तै, परिषद्को भौतिक संरचना तथा सम्पत्ति यकिन तथा प्रदेशमा हस्तान्तरणसम्बन्धी परिषद् सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति र खेल संघ विवाद सहजीकरणमा उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा समिति गठन गरिने भएको छ ।