१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ श्रावण १५ आइतबार १०:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कामदार ठग्न विज्ञापन नै  गर्दैनन् म्यानपावर कम्पनी

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ श्रावण १५ आइतबार १०:२०:००

म्यानपावर व्यवसायी कम्पनीहरूले कामदार भर्ना प्रक्रियामा ठगी गर्न वैदेशिक रोजगारीको विज्ञापन नै नगर्ने गरेको पाइएको छ । एउटै कम्पनीले पाँचौपटकसम्म विज्ञापन नै नगरी कामदार भर्ना प्रक्रिया अपनाएको वैदेशिक रोजगार विभागका निर्देशक एवं प्रवक्ता डम्बरबहादुर सुनुवारले जानकारी दिए ।

उनका अनुसार विभागले गरेको अनुगमनले म्यानपावर कम्पनीले विज्ञापन नै नगर्ने गैरकानुनी क्रियाकलाप गरेको पाइएको हो । विभागबाट विज्ञापनका लागि स्वीकृति लिएर पनि एक सय ४८ वटा म्यानपावर कम्पनीले विज्ञापन प्रकाशन नगरेको पाइएको छ । अनुमति लिएर विज्ञापन नगर्ने प्रत्येक कम्पनीलाई ५०–५० हजार जरिवाना गराइएको विभागले जनाएको छ ।

विभागमा गुनासो आएपछि पहिलोपटक ३ र ४ साउनमा विज्ञापन प्रकाशन गर्ने गरी विभागबाट स्वीकृति लिएका कम्पनीहरूको मात्रै अनुगमन गरिएको थियो । विभागमा आएका धेरै गुनासामध्ये एजेन्टबाट गएका र म्यानपावरबारे थाहा नै नभएको कामदारको संख्या अधिक रहेको विभागका प्रवक्ता एवं निर्देशक सुनुवारले बताए ।

‘हामीले साउन ३ र ४ गते विज्ञापनका लागि स्वीकृति लिएका कम्पनीहरूको मात्रै अनुगमन गरेका थियौँ । उनीहरूले तोकेको पत्रिका पल्टाएर हेराैँ, तर विज्ञापन नै थिएन । भनेपछि यसरी गैरकानुनी रूपमा भर्ना गर्ने धेरै कम्पनी हुन सक्नछन्,’ उनले भने ।  अनुगमनबाट कारबाहीमा परेको कम्पनीलाई विभागले तीन दिनका लागि स्पष्टीकरणको मौका पनि दिएको थियो । तर, स्पष्टीकरणमा कुनै पनि कम्पनीले चित्त बुझ्ने कारण दिन नसकेको विभागका प्रवक्ता सुनुवारले बताए ।

एजेन्टलाई फाइदा
कामदार भर्नाका लागि म्यानपावर कम्पनीले विज्ञापन नगर्दा स्थानीय एजेन्टलाई फाइदा हुने विभागले जनाएको छ । ०७२ सालदेखि वैदेशिक रोजगारीमा दलालको अन्त्य गर्दै सरकारले विभागमा दर्ता भई सञ्चालनमा आएका म्यानपावर कम्पनीमार्फत विदेश जान खुला गरेको हो । तसर्थ, वैदेशिक रोजगारीमा दलाल हटाई सम्बन्धित सरोकारवालालाई रोजगारीमा जानकारी दिन विज्ञापनलाई अनिवार्य गरेको हो ।  

तर, म्यानपावर कम्पनीले विज्ञापन नगरेपछि सो कम्पनीले ल्याएको कामदारको मागको जानकारी एजेन्टसँग मात्रै हुन्छ । लक्षित वर्गले आवश्यक सूचना पाउन एजेन्टकै भर पर्नुपर्ने हुन्छ । यसरी एजेन्टले आफूखुसी सूचना प्रदान गरी ठगी गर्न सजिलो हुने विभागको जिकिर छ । यद्यपि, विभागले म्यानपावर कम्पनीहरूलाई करेक्सनका लागि जरिवाना गराइएको विभागका प्रवक्ता सुनुवारले बताए । तर, म्यानपावर व्यवसायी संघले भने विभागको कारबाहीप्रति आपत्ति जनाएका छन् । उनीहरूले विभागले विज्ञापन प्रकाशन नगरेको बहानामा एकतर्फी रूपमा कारबाही गरेको भन्दै आइतबार व्यवसायीहरूको भेला आह्वान 
गरेको छ ।

कामदार ठग्नेलाई हदैसम्मको कारबाही
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई ठगी गर्नेलाई हदैसम्मको कारबाही गरिने बताएको छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुरूप नेपाली नागरिकलाई विदेशबाट प्राप्त हुने रोजगारीमा शून्य लागतको नीति पूर्ण परिपालन नभएको पाइएको मन्त्रालयको भनाइ छ । म्यानपावर व्यवसायीले तोकेभन्दा बढी सेवाशुल्क र अन्य गैरकानुनी तवरबाट रकम लिइएको, अस्वाभाविक पैसा असुलेर त्यसको कुनै प्रमाण नदिएको, भिडियो बनाएर कुनै प्रकारको शुल्क लिएको छैन भनी जबर्जस्ती भन्न लगाएको गुनासो मन्त्रालयमा आएको मन्त्रालयले बताएको छ ।

त्यस्तै, स्वास्थ्य परीक्षण गर्दा सम्बन्धित व्यक्ति उपस्थित नभई पनि ठूलो रकम असुलेर निरोगिताको प्रमाणपत्र दिने गरेको, विदेश जानुपूर्व अनिवार्य रूपमा सहभागी हुनुपर्ने पूर्वप्रस्थान अभिमुखीकरणमा अनुपस्थित व्यक्तिलाई समेत उपस्थित भएको भनी असान्दर्भिक औँठाछापहरू दर्ता गराएको लगायतका उजुरीहरू मन्त्रालयको कल सेन्टरमा दैनिक प्राप्त हुने गरेको मन्त्रालयले बताएको छ ।

यसरी कुनै पनि प्रकारबाट कामदारलाई ठगी गर्नेलाई हदैसम्मको कारबाही गरिने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार ऐनबमोजिम कामदार भर्ना प्रक्रियाअगाडि म्यानपावर कम्पनीले अनिवार्य रूपमा विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ । स्वीकृति लिइसकेपछि पनि विज्ञापन प्रकाशन नगरी कामदार भर्ना गरेका म्यानपावर कम्पनीलाई विभागले कारबाही गरेको विभागका महानिर्देशक शेषनारायण  पौडेलले बताए ।