Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
चितवनको नारायणी माविमा भर्ना हुन प्रवेश परीक्षाका लागि आएका विद्यार्थीको भिड । तस्बिर : विवेक पोख्रेल
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७९ श्रावण १५ आइतबार ०७:४६:००
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अब्बल पनि छन् सामुदायिक विद्यालय

Read Time : > 6 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७९ श्रावण १५ आइतबार ०७:४६:००

गुल्मी : रेसमा अगाडि रेसुंगा मावि
४ जिपिए ल्याउने आशिष बस्नेत भन्छन्– अभावले संघर्ष सिकायो, उपलब्धि दिलायो

गुल्मीका १७ वर्षीय आशिष बस्नेतले एसइर्ईमा चार जिपिए प्राप्त गरेका छन् । उनी जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा यो उपलब्धि हासिल गर्ने एक मात्र विद्यार्थी हुन् । उनी पढ्ने विद्यालयको नाम हो, रेसुंगा मावि । रेसुंगाको यो उपलब्धि पहिलो होइन । ०७५ मा पनि रेसुंगाका सागर पुरीले जिपिए ४ ल्याएका थिए । त्यस वर्ष शिक्षा मन्त्रालयले देशकै दोस्रो उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा दुई लाख रूपैयाँसहित सम्मान गरेको थियो । सो वर्ष रेसुंगा लुम्बिनी प्रदेशको पहिलो विद्यालय भएको थियो । 

रेसुंगा माविबाट यस वर्ष ८२ जना एसइर्ईमा सहभागी थिए । ३८ जनाले ३.२० देखि ४ जिपिए ल्याए । बाँकी सबै विद्यार्थीले उच्च ग्रेड प्राप्त गरे । ०२५ सालमा स्थापना भएको यो विद्यालयमा ०६० सालदेखि माध्यमिक शिक्षा सञ्चालन भएको हो । ०७३ सालबाट यहाँँ कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ भइरहेको छ । सामुदायिक विद्यालय भए पनि यहाँँ विद्यार्थीको घुइँचो धेगिनसक्नु छ । यहाँँ एक हजार २४३ विद्यार्थी अध्ययन गर्छन् । तम्घासकै सिद्धबाबा माविमा एक हजार २५० र महेन्द्र नमुना माविमा एक हजार ३५० जना विद्यार्थी अध्ययन गर्छन् । 

आशिष बस्नेतको घर इस्मा गाउँपालिका–६ अमरपुर हो । गाउँकै विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेपछि उनी ४ कक्षा पढ्न रेसुंगा मावि पुगे । उनका बुबा नरबहादुर बस्नेतले २० वर्षदेखि मजदुरीका लागि भारतमा छन् । आमा पनि बिरामी भइरहने भएकाले श्रीमान्सँगै भारतमा छन् । आशिषले दिदीहरू सविता र मीनासँग बसेर एसइर्ईसम्मको अध्ययन पूरा गरे । यी दिदीभाइलाई जीवनमा थुप्रै अभाव थिए । आशिष भन्छन्, ‘त्यही अभावले संघर्ष सिकायो र आज उपलब्धि दिलायो ।’ अब उनी मेडिकल शिक्षा पढेर अब्बल बन्न चाहन्छन् । 

चितवन : सामुदायिकबीच नै अब्बल हुने होड
चितवनमा यसपटक दुई विद्यार्थीले ४ जिपिए ल्याए । वाल्मीकि शिक्षा सदनका सनिश सापकोटा र नारायणी नमुना माविका प्रशान्त अधिकारी । सनिश संस्थागत विद्यालयका हुन् भने प्रशान्त सामुदायिक विद्यालयका । नारायणी नमुना माविले यस वर्षको एसइर्ई पनि रेकर्ड ब्रेक ग¥यो । यस विद्यालयबाट यसपटक ३८२ जनाले एसइई दिएका थिए । तीमध्ये ९३ जनाले ए प्लस ल्याएको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार १०९ जनाले ए, ८४ जनाले ‘बी’ प्लस, ५० जनाले ‘बी’ र ४३ जनाले ‘सी’ प्लस र ३ जनाले सी’ ल्याएका छन् । डी, डी प्लस, ई प्लस ल्याउने विद्यार्थी एकजना पनि छैनन् ।

चितवनको भरतपुर १० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्मको पढाइ हुन्छ । नर्सरीदेखि पाँच कक्षासम्म एवं कक्षा ११ र १२ मा अंग्रेजी भाषा तथा ६ देखि दश कक्षासम्म नेपाली र अंग्रेजी दुवै भाषामा पढाइ हुने यस विद्यालयमा अहिले तीन हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । 

नारायणी नमुना माविले नेत्रहीन विद्यार्थीहरूका लागि ब्रेल लिपीमा पढाइ सञ्चालन गर्दै आएको छ । यो विद्यालयले अंग्रेजी भाषामा शिक्षण सुरु गरेपछि संस्थागत विद्यालयमा पढेका विद्यार्थीको समेत आकर्षणको केन्द्र बन्न सफल भएको हो । यहाँँ भर्नाको समयमा मन्त्रीदेखि सांसदले भनसुन गर्ने गरेको प्रअ दवाडी बताउँछन् । ‘हरेक वर्ष विद्यालयले लिने प्रवेश परीक्षाको समयमा मोबाइल अफ गर्ने गरेको छु,’ दवाडी भन्छन्, ‘प्रवेश परीक्षामा छोराछोरीको नाम निकालिदिन भनेर ठूलै सोर्सफोर्स आउँछ । प्रेसर थेग्न नसकेर मोबाइल नै अफ गर्ने गरेको हुँ ।’

चितवनको नारायणी माविबाट ४ जिपिए ल्याएका प्रशान्त अधिकारीको अनुभव

परीक्षा नजिता आउँदा गोर्खामा थिएँ । नेटको पहुँच थिएन । पढाउने शिक्षक र सँगै पढ्ने साथीहरूको लगातार फोन आयो । ४ जिपिए आएको भन्दा अचम्म लाग्यो । आफूले नतिजा नहेर्दा हो कि हैन जस्तो पनि लाग्यो । राम्रो नतिजा आउँछ जस्तो लागेको थियो, तर ४ जिपिए नै आउँछ भन्नेचाहिँ लागेको थिएन । कक्षा ११ मा साइन्स पढ्ने चाहना छ भविष्यमा आइटी पढ्ने उनको इच्छा हो । अहिले आइटीको जमाना हो, त्यसैले यसमा मेरो रुचि हो । मैले कहिल्यै पनि पढ्ने तालिका बनाएर पढिनँ । पढ्दा असहज भएको तनाव भएको महसुस हुँदा गीत सुन्दै पनि पढ्थेँ । मलाई गीत सुनेर पढ्दा झन् आनन्द लाथ्यो । होमवर्कहरू मैले अभ्यासको रूपमा लिने गर्थें । लेख्दै पढ्ने मेरो बानी छ । सफल हुन मिहिनेतसँगै धैर्यको पनि आवश्यक हुने रहेछ । म पहिला बोर्डिङ पढ्थेँ । कहिले प्रथम कहिले द्वितीय हुन्थेँ । नारायणी माविको बारेमा धेरै सुनेको थिएँ । त्यसैले पनि यहाँँ पढ्न मन लाग्यो । टपटप विद्यार्थीहरू हुँदा आफूलाई पनि त थप परीक्षण गर्ने मौका हुन्छ भनेर यहाँँ आएँ । यहाँँको वातावरण, शिक्षकहरूको पढाउने शैली निकै मन प¥यो । 

झापा : भर्ना पाउन प्रवेश परीक्षा 
जहाँ निजी विद्यालय छाडेर आउँछन् विद्यार्थी

सामुदायिक विद्यालयमा अध्ययनका लागि प्रवेश परीक्षा दिनुपर्ने बिरलै सुनिन्छ । तर, झापा दमक–२ को हिमालय माध्यमिक विद्यालयले प्रत्येक वर्ष विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिइरहेको छ । हिमालय माध्यमिक विद्यालयमा भर्ना हुनका लागि निजी विद्यालय छाडेर आउने गरेका छन् । 

विद्यालयमा तीन सय विद्यार्थीका लागि भर्ना आह्वान गर्दा १२ सयसम्मले प्रवेश परीक्षा दिने गरेको विद्यालयका प्रधानाध्यापक द्रोण श्रेष्ठले जानकारी दिए । एक दशकअघि विद्यार्थी तान्नलाई अनेक जुक्ति लगाउनुपर्ने हिमालय माध्यमिक विद्यालयमा अहिले विद्यार्थी रोक्न प्रवेश परीक्षा गर्नुपरेको छ । ‘पहिला त विद्यार्थी नै हुँदैन थिए । तल्लो कक्षामा ५–६ जना हुन्थे । माथिल्लोमा केही थिए । विद्यार्थी बढाउनका लागि अनेक उपाय लगायौँ । हाम्रा छोराछोरी पनि यहीँ पढायौँ । हामीले पढाए न समाजले विश्वास गर्छ,’ उनी भन्छन्, ‘हामी माथिल्लो कक्षामा पढाउने सरहरू पनि सानो कक्षामा पढाएर अभिभावकको मन जित्यौँ । ०७३ सालदेखि विद्यार्थी संख्या बढ्यो । अहिले विद्यार्थी रोक्न प्रवेश परीक्षा गर्नुपरेको छ ।’ हिमालय माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । कक्षा ९ र कक्षा १० मा सातवटा सेक्सन हुँदा एउटामा मात्र नेपाली माध्यमबाट पढाइ हुने गरेको प्रअ श्रेष्ठले बताए । कक्षा ९ र १० मा चार सय हाराहारी विद्यार्थी रहेको उनी बताउँछन् । 

हिमालय माध्यमिक विद्यालय सुधारको श्रेय तत्कालीन प्रअ विधुर खतिवडालाई जान्छ । उनकै नेतृत्वमा विद्यालयले कोल्टे फेरेको हो । उनी प्रअ हुँदादेखि नै विद्यालयमा प्रवेश परीक्षा सुरु गरिएको हो । हाल हिमालय माध्यमिक विद्यालयले नर्सरी, कक्षा ७, ८ र ९ मा भर्ना लिने गरेको छ । ‘नर्सरीमा जो पहिला आउँछ, उसले पाउँछ । कक्षा ६, ८, ९ मा हामी प्रवेश परीक्षा लिन्छौँ । सबै विद्यार्थी पढाउने रहर हो । तर, जनशक्ति सीमित छ । भौतिक संरचना सीमित छन्,’ उनी भन्छन्, ‘विद्यार्थी रोक्न मन अमिलो बनाएर प्रवेश परीक्षा गर्नुपरेको छ ।’ प्रवेश परीक्षा दिन आउने ९५ प्रतिशत निजी विद्यालय छाडेर हिमालय मावि आउने गरेको उनी बताउँछन् । ‘निजी विद्यालय छाडेर आउने छन् । सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा हुन्छ भन्ने बनाउन सके विद्यार्थीको चाप लाग्छ,’ उनी भन्छन्, ‘तीन सय विद्यार्थीका लागि भर्ना खोल्दा १२ सयले फर्म भर्छन् । प्रवेश परीक्षामा पास गराउन दबाब आउँछ । तर, हामी प्रवेश परीक्षाको नतिजा नै हेर्छौं । यसो गर्दा पढ्ने विद्यार्थी आउँदा हामीलाई पनि फाइदै हुने रहेछ ।’

रुपन्देही : एउटै विद्यालयमा पढ्छन् आठ हजारभन्दा बढी विद्यार्थी

गुणस्तरीय शिक्षाका लागि बुटवल चर्चित छ । पछिल्ला केही वर्षयता निजी क्षेत्रका शैक्षिक संस्थामा भन्दा सामुदायिक विद्यालयमा आकर्षण बढ्दो छ । जसका कारण धेरै विद्यार्थीले चाहेर पनि यी विद्यालयमा भर्ना पाउन सक्ने अवस्था छैन । बुटवलको कालिका मानविज्ञान मावि नेपालकै नमुना विद्यालयका रूपमा कहलिएको छ । बुटवलकै नवीन औद्योगिक कदरबहादुर रिता मावि र कान्ति मावि सामुदायिकतर्फका अब्बल शिक्षण संस्था हुन् । 

कालिका मानविज्ञान मावि यसपटक पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल भयो । यहाँका विद्यार्थी विवेक न्यौपानेले ४ जिपिए ल्याए । कालिकाबाट यसपटक ६०६ विद्यार्थीले एसइई दिएका थिए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ६७ जनाले ३.६ देखि ४ जिपिए ल्याए । सामुदायिक विद्यालयहरूमध्ये मुलुककै ठूलो सामुदायिक विद्यालयमध्येको एक हो, कालिका मानविज्ञान मावि । यहाँ हाल ८ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । ३१० शिक्षक तथा कर्मचारी छन् । प्रधानाध्यापक थापा गुणस्तरकै कारण विद्यार्थीको चाप धेरै रहेको बताउँछन् । यहाँ वर्षैपिच्छे सयौँ विद्यार्थी भर्ना गर्न नसकेर फर्किन्छन् । शिक्षकहरूको लगनशीलता, अभिभावकको बढ्दो चासोले कालिकाको शैक्षिक गुणस्तर बढेको शिक्षक युवराज कँडेल बताउँछन् । 

दाङ : गृहकार्यको भारी होइन, कक्षामै तयारी
दाङमा सामुदायिक विद्यालयमध्ये एसइर्ई नतिजामा तुलसीपुर–४ स्थित गुरुजजुर माध्यमिक विद्यालय अब्बल देखिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी शैलेश शर्माले ३.९० जिपिए ल्याएका छन् । उनी सामुदायिक विद्यालयमा सबैभन्दा धेरै जिपिए ल्याउने विद्यार्थी हुन् । त्यसपछि घोराहीस्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयका आदित्य मिश्रले ३.७५ ल्याएका छन् । दाङमा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले ३.९५ प्रतिशत ल्याउँदा गुरुजजुरका शर्माले ३.९० प्रतिशत ल्याउन सामुदायिक विद्यालयको नतिजा पनि सकारात्मक मार्गमा रहेको देखाउने विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्याैपानेले बताए । उनका अनुसार गुरुजजुरले व्यावहारिक शिक्षालाई जोड दिँदै आएको छ । ‘अध्यापनमा नवीन शैली प्रयोग गर्ने गरेका छौँ । विद्यालयले विद्यार्थीलाई गृहकार्यको भारी बोकाउँदैन,’ शर्मा भन्छन्, ‘कक्षाकोठामै बढी अभ्यास गराउने हुनाले सहजै बुझ्छन् ।’ 

तनहुँ : प्रअले विद्यार्थी भर्नामा भनसुन र दबाब झेल्नुपर्छ
तनहुँको व्यास नगरपालिका–२ दमौलीमा रहेको सत्यवती माविमा विद्यार्थी संख्या थेगिनसक्नु छ । पर्याप्त भौतिक संरचना, एकान्त ठाउँ र गुणस्तरीय शिक्षाको कारण वर्षैपिच्छे विद्यालयमा चाप बढेको हो । भर्ना अभियानको समयमा निकै सकस पर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्ले बताउँछन् । मन्त्री, पूर्वमन्त्री, मेयर र राजनीतिक दलका नेताहरूबाट भर्नाका लागि भनसुन र दबाब आउँछ । विद्यालयका शिक्षकले आफ्ना छोराछोरीलाई यहीँ नै पढाएका छन् । अन्य विद्यालयका शिक्षकले आफ्ना छोराछोरीलाई निजीमा पढाउन थाले पनि यहाँका अधिकांश शिक्षकका छोराछोरी यहीँ नै पढ्ने गरेका छन् । विद्यालयमा दुई हजार सात सय १३ विद्यार्थी अध्ययनरत छन् । ८९ शिक्षकशिक्षिका छन् । पढाइ राम्रो हुने भएकाले यसै विद्यालयमा छोरालाई पढाएको अभिभावक सोमराज सिग्देलले बताए । ‘यहाँँको पढाइको बारेमा अन्य जिल्लामा पनि निकै चर्चा छ । पढाइ राम्रो भएकाले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँछ । त्यसकारण पनि मैले छोरालाई यहीँ पढाएको हुँ । छोराले पनि राम्रै अंक ल्याएर पास भयो,’ उनले भने । 

दैलेख : विद्यालय जान ३ घन्टा हिँड्नुपर्ने विद्यार्थी बने जिल्लाकै प्रथम
दैलेखका टार्जन थापालाई आफू पढ्ने त्रिभुवन मावि पुग्न दैनिक डेढ घन्टा लाग्छ । दैनिक तीन घन्टा समय विद्यालय जाँदा र आउँदामै बित्छ । तर पनि अध्ययनप्रतिको लगावलाई बाटोको दूरीले छेकेन । उनी यस वर्षको एसइईमा संस्थागत विद्यालयलाई समेत उछिनेर जिल्ला प्रथम भए । त्रिभुवन माविकै दर्शन बुढा द्वितीय भए । टार्जनले ३.८० र दर्शनले ३.६४ जिपिए ल्याए । टार्जनको उपलब्धिसँगै त्रिभुवन मावि सरकारी विद्यालयबाट जिल्ला प्रथम हुने पहिलो विद्यालय बन्यो । प्रधानाध्यापक निरक तारामी सरकारी विद्यालयमा पढाइको गुणस्तर राम्रो छैन भन्नेहरूलाई यो नतिजाले गलत साबित गरिदिएको बताउँछन् । ०७५ सालदेखि विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन थालेपछि यहाँ नतिजा राम्रो आउन थालेको हो । यसपटक २६ जनाले ३.६ जिपिए ल्याए भने ५५ जनाले ३.२ जिपिए ल्याए । विद्यालयले विद्यार्थीको चाहनाअनुसार विज्ञान, प्राविधिक र साधारण गरेर छुट्टाछुट्टै तीनवटा कक्षा सञ्चालन गरेको छ ।

झापामा चिरञ्जीवी घिमिरे, भरतपुरमा विवेक पोख्रेल, तनहुँमा उपेन्द्र खनाल, गुल्मीमा टोपलाल अर्याल, बुटवलमा विष्णु घिमिरे, दाङमा दीपक बोहरा, दैलेखमा विष्णु शर्मा