मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दमकस्थित भ्यु टावरको निरीक्षण गर्दै मन्त्री चौधरी । 
२०७९ श्रावण १३ शुक्रबार १७:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री चौधरीद्वारा दमक भ्युटावरको निरीक्षण, टावरको नाम फेर्न निर्देशन

Read Time : > 1 मिनेट
२०७९ श्रावण १३ शुक्रबार १७:५६:००

सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयअन्तर्गत निर्माण भइरहेका झापाका विभिन्न आयोजनाको निरीक्षण गरेका छन्। सो क्रममा उनले दमक–३ मा बन्दै गरेको १८ तले भ्युटावरको अनुगम गर्दै भ्युटावरको नाम परिवर्तन गर्न निर्देशन दिए। हाल उक्त भ्युटावरलाई दमक भ्युटावर भनिँदै आइएको छ ।

‘भ्युटावरको नाम परिवर्तन गर्न भनेको छु। यो बिजनेस कम्प्लेक्स हो। माथि चढेर हेर्ने भ्युटावर मात्र हैन, बिजनेसका लागि बिल्डिङ बनेको हो,’ उनले भने, ‘यसको नाम स्थानीयको मनोविज्ञानका आधारमा राख्नुपर्छ। दमक नगर उपप्रमुखज्यू (रेगिना भट्टराई)लाई नामांकनका लागि सुझाव पठाउन भनेको छु।’

दमक–३ टुकुरे नजिकमा धमाधम भ्युटावर बन्दै छ। तर, यस क्षेत्रका स्थानीय कच्ची सडकमा हिँड्न बाध्य छन्। शुद्ध पिउने पानीसमेत नभएको ठाउँमा विकासको नाममा भ्युटावरबाहेक केही नरहेको अवस्थामा मन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन्। उनले भ्युटावरलाई जोड्ने विकासका काम पनि अघि बढाइने बताए। ‘भ्युटावरलाई सपोर्ट गर्ने रोड बन्नुपर्छ। यसलाई लिंक गर्ने भौतिक निर्माणका काम पनि गर्नुपर्छ,’ मन्त्री चौधरीले भने, ‘यसमा मेरो ध्यान पुगेको छ।’

उक्त भ्युटावर निर्माण कार्य ६३ प्रतिशत सकिएको छ। भ्युटावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए। ठेक्का लाग्दा ०७८ पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको थियो। पछि ०७९ असार मसान्तसम्म समय मागिए पनि काम नसकिएपछि पुनः एक वर्षका लागि थप समय मागिएको निर्माण कम्पनी इन्जिनियर सर्जल बिडारीले जानकारी दिए। ‘कोभिडका कारण पनि समयमा काम गर्न सकिएन। त्यसपछि चुनावमा पनि काम गर्ने मान्छे भेटेनौँ,’ उनले भने, ‘अब एक वर्षमा चाहिँ काम सक्छौँ।’

‘पाँचदलीय गठबन्धन चुनावपछि पनि अघि बढ्छ’ 
नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका मन्त्री चौधरीले पाँचदलीय गठबन्धन प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनपछि पनि रहने दाबी गरेका छन्। उनले पत्रकारहरूसँग कुराकानी गर्दै एमालेले निर्वाचन जिते लोकतन्त्र नै धरापमा पर्ने भएका कारण पनि गठबन्धन कायम रहने बताए।

निर्वाचनपछि भने एमाले खुम्चने उनको दाबी छ। ‘प्रत्यक्षतर्फ एमालेले थोरै मात्र सांसद जित्छ । समानुपातिकबाट केही आउँछ,’ उनले भने, ‘चुनावपछि एमाले खुम्चन्छ।’ मन्त्री चौधरीले तत्काल नेकपा (एस) र माओवादी केन्द्रबीच एकता नहुने बताए। ‘स्थानीय तह निर्वाचनपछि हामी थोरै झस्किएका छौँ। पाँचदलीय गठबन्धन रहन्छ,’ उनले भने, ‘केपी ओलीबाहेकको कम्युनिस्ट पार्टी मिल्छ। तर, माओवादी केन्द्रसँग मात्र त सम्भावना कम छ।’