मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ श्रावण १३ शुक्रबार ०७:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानीकर्ता जोगाउन क्षतिपूर्ति कोष स्थापना गर्दै धितोपत्र बोर्ड

Read Time : > 1 मिनेट
२०७९ श्रावण १३ शुक्रबार ०७:१०:००

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका लगानीकर्तालाई सम्भावित क्षतिको जोखिमबाट जोगाउन क्षतिपूर्ति कोष स्थापना गर्ने भएको छ । धितोपत्र बोर्डले चालू आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोष स्थापना गर्ने जानकारी दिएको हो ।

सेयर बजार घट्दा लगानीकर्तालाई हुन सक्ने जोखिमलाई कम गर्न तथा आगामी दिनमा लगानीमैत्री वातावरण बनाउन कोष स्थापनाको योजना अघि सारिएको बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए । चालू आर्थिक वर्षभित्रै कोषसम्बन्धी नियमावली तर्जुमा गरी कार्यान्वयनमा ल्याउने तयारी रहेको उनले बताए । कोष स्थापना भएपछि लगानीकर्ताले लगानी गुमाउँदै गर्दा कोषले सहयोग गर्न सक्छ । 

यस्तो कोषले लगानीकर्तालाई लगानीप्रति आत्मविश्वास जगाउन सहयोग गर्ने कोष स्थापनाको उद्देश्य रहेको उनले बताए । ‘कोष स्थापना कार्यान्वयनका लागि कानुन निर्माणमा जुटिसकेका छौँ, त्यसमा लगानीकर्तासँग थप परामर्श गरी निष्कर्षमा पुग्छौँ,’ हमालले भने । लगानीकर्ता तथा पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले कोष कार्यान्वयनमा  ल्याउन सके लगानीकर्ताका लागि ठूलो उपलब्धि हुने बताइन् । ‘सुन्दा नीति तथा कार्यक्रम लोकप्रिय छन्, विगतझैँ योजनाहरू कागजको खोस्टामा मात्र सीमित नबनून्, कोष कार्यान्वयनमा आउन सके ठूलो उपलब्धि हो,’ पोखरेलले भनिन् ।

 मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने नीति हटाइने 
नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजेसनमा जाने संस्थाको सेयर रोक्का हुने नीति हटाउने भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जरमा जाने कम्पनीको कारोबार रोक्का गर्ने वा नगर्ने जिम्मा धितोपत्र बोर्डलाई जिम्मा दिएको थियो ।एक साताभित्रै मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका जारी गरी कार्यान्वयन गरिने बोर्ड अध्यक्ष हमालले जानकारी दिए । ‘हामी निर्देशिका बनाउने कार्यमा जुटेका छाैँ, १० दिनभित्र निर्देशिका ल्याएर २० दिनभित्रमा तत्काल कार्यान्वयनमा लैजान्छौँ,’ हमालले भने । 

मर्जर तथा एक्विजेसनमा जाने कम्पनीहरूको अहिले कारोकार रोक्का हुँदै आएको छ । अहिले एक दर्जनभन्दा बढी त्यस्ता कम्पनी रहेका छन् । मर्जरमा जाँदा महिनौँसम्म आफ्नो सेयर किनबेच गर्न नपाउने भएपछि लगानीकर्ताले यो व्यवस्थाविरुद्ध चर्को आवाज उठाउँदै आएका छन् । तीव्र विरोध जनाउँदै आएका लगानीकर्ताले बोर्डले निर्देशिका ल्याएर कार्यान्वयन गर्ने भएपछि स्वागत गरेका छन् । 

बोर्डको नीति तथा कार्यक्रममा समेटिएका मुख्य बुँदा 

  • बोर्डले बुक बिल्डिङ प्रणालीलाई दिगो बनाउने योजना अघि सारेको छ । बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय स्वचालित विद्युतीय प्रणाली बनाएर दिगो र स्थापित कम्पनीहरूलाई धितोपत्र बजारमा ल्याउने ।
  • गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला गर्न थप कानुन संशोधन र परिमार्जन गर्ने ।
  • वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत आरक्षण छुट्याउने विषयमा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ संशोधन गर्ने ।
  • वस्तु विनिमय बजार सञ्चालनका लागि आवश्यक कानुन तयार गरी दरखास्त आह्वान गर्ने र अनुमतिपत्र प्रदान गरी सञ्चालन व्यवस्था गर्ने । 
  • बोर्डको जग्गा प्राप्तिको कार्य अगाडि बढाइने, सरकारद्वारा सरकारबाटै खरिद गर्ने तयारी (जिटुजी) ।
  •  बोर्डका कर्मचारीको मनोबल उच्च बनाउनका लागि कर्मचारीलाई ‘कर्मचारी सुविधा योजना’ (ओवाइभिएस) तर्जुमा गरी लागू गर्ने भएको छ । 
  • कर्मचारीलाई सवारीसाधन खरिद गर्न कर्जा उपलब्ध गराउने भएको छ ।