१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
भोजराज भण्डारी काठमाडाैं
अजित अधिकारी काठमाडाैं
२०७९ श्रावण १२ बिहीबार ०६:२४:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

महँगियो खाद्यान्न, नियमनमा छैन सरकारकाे ध्यान

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपाली उपभोक्ताको भान्सामा

Read Time : > 4 मिनेट
अजित अधिकारी, काठमाडाैं
२०७९ श्रावण १२ बिहीबार ०६:२४:००

दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूललगायतको मूल्य अस्वाभाविक वृद्धि भएको छ । आयातमा निर्भर अर्थतन्त्रका कारण अन्तर्राष्ट्रिय बजारमा परेको मूल्य शृंखलाको प्रभाव नेपाली उपभोक्ताको भान्सासम्म आइपुगेको हो । पछिल्लो एक महिनाको अवधिमा चामल प्रतिबोरा कम्तीमा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपालीको प्रमुख खाद्य धान उत्पादनले मागको ४० प्रतिशत मात्रै धान्ने गरेको छ । बाँकी ६० प्रतिशत आयातमै निर्भर हुनुपरेको व्यवसायीको भनाइ छ । भारतबाट धान, चामल आयातमा प्रतिकूल प्रभाव परेका कारण अहिले मूल्यमा चाप परेको दाल, चामल तेल उद्योग संघका अध्यक्ष सुबोध गुप्ताले जानकारी दिए । उनका अनुसार भारतले धान, चामल निर्यातमा नेपाललाई पहिलो प्राथमिकता दिने गरेको थियो । तर, दुई महिनादेखि बंगलादेशमा भारतबाट धान, चामल निर्यात उल्लेख्य हुँदा नेपाली व्यवसायीले हैरानी खेप्न थालेको उनले बताए ।

‘धान, चामल शतप्रतिशत भारतबाटै आयात हुन्छ,’ गुप्ताले भने, ‘भारतले अहिले एक नम्बरमा बंगलादेशलाई राखेको छ, त्यसपछि मात्रै हामीलाई धान, चामल निर्यातका लागि सहजीकरण गरिरहेको छ ।’ उनका अनुसार आयातमा भएको कठिनाइले मूल्यमा प्रभाव परेको हो । चामलको मूल्यमा वेलावेलामा हुने यस्तो अस्वाभाविक वृद्धिलाई नियन्त्रण गर्न कोटा तोकिनुपर्ने उनको सुझाव छ । ‘भारतबाट धान, चामल ल्याउन कोटा प्रणाली तोकौँ । व्यवसायीको तवरबाट त हामीले प्रस्ताव राखिसकेका छौँ’ उनले भने, ‘सरकारीस्तरबाटै यसमा पहल भयो भने सार्थकता मिल्छ र यस किसिमको समस्या दिगो रूपमै हल हुन्छ ।’ दाल, गेडागुडीलगायतको मूल्यवृद्धिमा भने अन्तर्राष्ट्रिय बजार मूल्य प्रमुख कारण रहेको उनले बताए ।

रुस–युक्रेन जारी द्वन्द्वले विश्व अर्थतन्त्रसँगै नेपालमा पनि महँगी बढाएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार जेठसम्म मूल्यवृद्धिदर ८.५६ प्रतिशत पुगेको छ । विश्वभरमै मूल्यवृद्धिमा परेको चाप नेपालमा समेत देखिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककै एक सर्वेक्षणले असोजसम्म मूल्यवृद्धि १३ दशमलव ५ प्रतिशत हुने देखाएको छ । यद्यपि, मूल्यवृद्धि नियन्त्रणमा भने सरकार उदासीन छ । अन्तर्राष्ट्रिय बजारलाई दोष देखाएर मुलुकको अनुगमन संयन्त्र पन्छिदै आएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपाली उपभोक्ताको भान्सामा देखिएको र आफूहरू नियन्त्रणबाहिर रहेको बताउँछन् । 

 खानेतेल कार्टुनमै ६ सयसम्म घट्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा पामोलिनको मूल्यमा गिरावट आएपछि बढ्दो महँगीबीच खानेतेलको मूल्य घटेर नेपाली उपभोक्तालाई केही राहत भएको छ । व्यवसायीका अनुसार ३१ सय ५० रुपैयाँ प्रतिकार्टुनसम्म पुगेको सनफ्लावर तेलको मूल्य अहिले प्रतिकार्टुन ६ सय रुपैयाँसम्म घटेर औसतमा २५ सय ५० रुपैयाँ प्रतिकार्टुनमा आइपुगेको छ । खुद्रा व्यापार संघका अनुसार जेठ १५ अघि भुटेको तोरीको तेल चार सय १० रुपैयाँ, काँचो तोरीको तेल तीन सय ७५ रुपैयाँ, सनफ्लावर तेल तीन सय ५० रुपैयाँ र भटमास तेल तीन सय २० रुपैयाँ प्रतिलिटरसम्म पुगेको थियो ।

हाल भुटेको तोरीको तेल १० रुपैयाँ सस्तिएर चार सय, काँचो तोरीको तेल २५ रुपैयाँ सस्तिएर तीन सय ५०, सनफ्लावर तेल ४५ रुपैयाँ सस्तिएर तीन सय पाँच रुपैयाँ र भटमासको तेल ३५ रुपैयाँ सस्तिएर दुई सय ८५ रुपैयाँ प्रतिलिटर कायम भएको संघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारसँगै भारतीय बजारमा कच्चा खानेतेलको मूल्य २८ प्रतिशतभन्दा बढीले गिरावट आएपछि नेपाली बजारमा पनि खानेतेलको मूल्य घटेको छ । भारतले ६० पतिशतभन्दा बढी कच्चा तेल आयात गर्छ । आर्थिक वर्ष ०२२–२३ र ०२३–२४ का लागि भारत सरकारले वार्षिक २० लाख टनसम्म सूर्यमुखी र सोयाबिनको आयातमा शुल्क नलगाउने घोषणा गरेको छ । 

कच्चा पाम तेलको मूल्य एक वर्षअघिको बिन्दुमा आइपुगेको छ । दुई प्रमुख राष्ट्र इन्डोनेसिया र मलेसियाले पामोलिनको उत्पादन वृद्धि गरेको र विश्वका ठूला सञ्चयकर्ताले भण्डारणका लागि कम परिमाण माग गरेको हुँदा अन्तर्राष्ट्रिय बजारमै कच्चा खानेतेलको मूल्य घट्न पुगेको छ । भारतले आयातमा कर हटाई भारतीय मूल्य नै सस्तो पर्न जाँदा भारतबाट आयात गर्ने नेपाली उद्योगीलाई सस्तो पर्न गई नेपालमा पनि मूल्य घटेको हो ।

 वर्षा लागेपछि तरकारीमा मूल्यवृद्धि
हरियो तरकारीको मूल्य पनि बढ्न थालेको छ । वर्षा लागेपछि ढुवानीमा अवरोध भएको, मौसमी उत्पादन खासै नभएकोलगायतका कारण मूल्यमा चाप परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । २५ असारमा ५५ रुपैयाँ प्रतिकिलो रहेको अदुवा ७५ पुगेको छ । त्यस्तै, कागती एक सय ३५ रुपैयाँबाट बढेर एक सय ६२ रुपैयाँ, भिन्डी ३५ रुपैयाँबाट बढेर ४५ रुपैयाँ, हरियो धनियाँ ६४ रुपैयाँबाट एक सय ९० रुपैयाँ, गोलभेडा ५२ रुपैयाँबाट ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यस्तै, केरा एक सय ४६ बाट एक सय ६५ रुपैयाँ प्रतिकिलो पुगेको छ । कालीमाटी बजारका प्रवक्ता विनय श्रेष्ठले वर्षा लागेसँगै तरकारीको भाउ बढ्ने विगतकै प्रवृत्ति रहेको बताए । 

अन्तर्राष्ट्रिय परिवेशले मूल्यमा चाप परेको छ : लीलाप्रसाद शर्मा, महानिर्देशक वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग
हामीले ९० प्रतिशतभन्दा बढी वस्तुको आयात गरेर उपभोग गर्नुपर्छ ।  पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र रुस–युक्रेन द्वन्द्वले विश्वको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावका कारण खाद्यान्नलगायत सबै वस्तु तथा सेवाका मूल्य अन्तर्राष्ट्रियस्तरमै वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय कारणले सिर्जित महँगीलाई नियमन गर्नु हाम्रो नियन्त्रणबाहिरको कुरा हो । विभागमा रहेको सानो अनुगमन टोली दिनहुँ बजारमा गएर मूल्य विश्लेषण गर्ने काम भने भइरहेको छ । विगतमा मासिक डेढ सयवटा फर्मसम्म अनुगमन हुने गरेकोमा मैले नेतृत्व लिएको चार महिनायता मासिक साढे चार सयवटा फर्मसम्मको अनुगमन गरिरहेको छु ।

यी सबै प्रयासका बाबजुद पनि मूल्य नियमन हुन नसक्नु भनेको स्रोतमै बढेर आएको मूल्य प्रमुख कारण हो । अर्कातिर २० भन्दा बढी देशले दाल, चिनी, आँटालगायतका खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाएका छन्, त्यसको सोझो असर हामीजस्ता आयातमुखी अर्थतन्त्र भएको मुलुकलाई परिरहेको छ ।

मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल : माधव तिमिल्सिना, अध्यक्ष, उपभोक्ता अधिकार अनुसन्धान मञ्च
अहिलेको मूल्यवृद्धि नियन्त्रणमा सरकार पूर्ण रूपले असफल भएको छ । केही अन्तर्राष्ट्रिय कारणले मूल्यवृद्धि भएको होला, तर यसलाई हामीले विभिन्न औजारको प्रयोगबाट नियन्त्रण गर्न सक्ने भए पनि सरकारले त्यति चासो दिएको छैन ।

केही वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि त्यसलाई नै कारण देखाएर खाद्यवस्तुको पनि मूल्य बढाइएको छ । बैंक ब्याजदर बढेको, ऋण लिन नपाएको जस्ता कारण पनि देखाइएको छ, तर यी कारणले अहिलेको मूल्यवृद्धिमा कति असर पर्ने हो, अन्य कारण के–के हुन् भन्ने सरकारले खोजी नै गरेको छैन ।

चुस्त बजार अनुगमन प्रणाली विकास हुन सकेको छैन । माग र आपूर्तिको वैज्ञानिक तथ्यांक सरकारसँग पनि छैन ।

धान, चामल आयातमै समस्या छ : सुबोध गुप्ता, अध्यक्ष, दाल, चामल, तेल उद्योग संघ
चामल शतप्रतिशत भारतबाट आयात हुने गरेको छ । अहिले भारतबाट धान, चामल निर्यात गर्दा पहिलो प्राथमिकतामा बंगलादेश र दोस्रोमा नेपाल परिरहेको छ । दुई महिनाअघिसम्म नेपाल उच्च प्राथमिकतामा थियो ।

भारतबाट मागअनुसार ल्याउन समस्या हुँदा अहिले प्रतिकिलो पाँचदेखि आठ रुपैयाँसम्म चामलको भाउ बढिरहेको मेरो मूल्यांकन छ । भारतसँग विशेष अनुरोध गरेर नेपाललाई चाहिने धान, चामलको कोटा तोकेर ल्याउने व्यवस्था भयो भने दिगो आपूर्ति प्रणाली विकास हुनेछ । दाल, गेडागुडीलगायतको मूल्यमा भने अन्तर्राष्ट्रिय बजारमा सिर्जित समस्याले केही चाप परेको हो ।

हरेक वर्ष असार–साउनमा तरकारीको मूल्य बढ्ने गर्छ : विनय श्रेष्ठ, प्रवक्ता, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति 
हरेक वर्ष असार–साउनमा तरकारीको मूल्य बढ्ने गर्छ । नजिकिँदै गरेको चाडपर्व र उत्पादनमा कमी आउँदा तरकारीको मूल्य बढेको हो । अर्को इन्धनमा आएको मूल्यवृद्धिले पनि ढुवानी भाडा बढ्नुका साथै व्यवसायीहरू हाबी भइरहेका छन् । नेपालमा एकै किसानबाट धेरै तरकारी उत्पादन हुँदैन, त्यसैले उत्पादन क्षेत्र सानो भएकाले पनि व्यवसायीले बढी त्यसको फाइदा लिँदा बजार मूल्य हरेक वर्ष बढेको हो ।