मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ चैत ७ बिहीबार ०९:४९:००
Read Time : > 5 मिनेट
फिचर

हिउँमा नहराएको एउटा नाम

Read Time : > 5 मिनेट
२०७५ चैत ७ बिहीबार ०९:४९:००

अहिले त फेवातालको अनुहार पूरै बिग्रिएको छ । किनारामा क्याफे, रेस्टुरेन्टहरू डलर रुँगेर बस्छन् । कवि तीर्थ श्रेष्ठ त्यही फेवातालको साक्षी भएर लामो समय गुजारे/गुजारिरहेछन् । अहिले त उनको आँखामा पावरवाला चस्मा छ । उनकै शब्दमा, ‘सरदर नेपालीको आयुको उत्तराद्र्ध जस्तोमा छु ।’ 
तालुबाट केही कपाल सदाका लागि खसिसकेका छन् । बाँकी पनि क्रमशः झर्दै छन् । उनी भने आफैँ गाडी चलाएर चितवन आइपुगेका थिए । अहिले अग्लो सिमलको फेदमा उभिएका छन् । चिटचिट आएका पसिना निधार छाडेर भाग्न तयार छन् । तीर्थको छेवै भएर सिमलका फूलहरू फनफनी घुम्दै झरिरहेका छन् । अलि टाढाबाट हेर्दा तीर्थ र सिमलको रुख क्यानभासका दुई चित्रजस्ता छन् । जोसँग आफ्नै कथा छन्, तर नियति एउटै छ ।

तीर्थ खोलाको फड्के तरेर सिमलको रुखसम्म आइपुगेका हुन् । उनले तरेका जीवनका फड्केहरू पनि कम रोमाञ्चक छैनन् । ५९ वटा क्यालेन्डर तीर्थका लागि पुरानो भइसक्यो । जीवनका कति क्यालेन्डर रोमाञ्चक बनेर सकिए । कति क्यालेन्डर पीडाको चोक, पार्क, चियापसलतिरै अल्झिए । स्मरण र विस्मरणको दोसाँधमा बाँचिरहेका तीर्थ ०४० सालतिर फर्कन्छन् । 

तेस्रो आयामको अर्कै प्रभाव थियो । त्यो वेलाका मधुपर्क, गरिमा, गोरखापत्रलगायत पत्रिकामा इन्द्रबहादुर राई, ईश्वर बल्लभ, बैरागी काइँलालगायतका आलेख छापिइरहन्थे । तीर्थ सम्झन्छन्, ‘हामीले बुझेका थियौँ या थिएनौँ, तर पढ्थ्यौँ ।’ तेस्रो आयामप्रति जिज्ञासा, अभिरुचि मात्र थिएन, साहित्यमा लागेका तीर्थ र उनका साथीहरूलाई पनि नयाँ केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । 

इनिङ एक
ठिंग उभिएको सिमलभन्दा अलि पर छ, हात्ती प्रजनन केन्द्र । हात्तीका छावा भुइँमा लडिबुडी गरिरहेका छन् । बिहान करिब ९ बजे । हात्तीले खाना खाने समय भइसकेको रहेनछ । मानिसको कठोरताका कारण जंगलमा चरण खोजेर हिँड्ने हात्ती सिक्रीमा बाँधिएर आहारा कुरिरहेका छन् । कवि भूपिन खड्काले सानो छावा भुइँमा लडिबुडी गरेको भिडियो खिचे । ट्विटरमा सेयर पनि गरिहाले । क्याप्सन थियो, ‘आमाले आज पनि जंगल घुमाउन लगिनन्् । खुट्टा सिक्रीले बाँधिएपछि कसरी लगुन् ?’ 

उनले सरुभक्तलाई हेरे । घुँडा भासिने हिउँ हेरे । हिउँमा ठिंग उभिएको नांगो रुखलाई हेरे । तीर्थले सरुभक्तलाई भने, ‘तँ यो रुखजस्तै होस्, घरगृहस्थी केही नभएको मान्छे, रुखमुनि उभिनू, म फोटो लिन्छु ।’ फोटो खिच्दा आफूले टेकेर आएको लट्ठीले सरुभक्तको नाम पनि लेखे ।

हात्तीका बथानले वातावरणअनुसार अनुकूल हुने प्रयत्न गरिरहेको दृश्य तीर्थ हेरिरहेका छन् । छावाको लडिबुडी खेलले उनलाई पनि आफ्नो बाल्यकालमा पु¥याएजस्तो देखिन्छ । उनले तीन–चार वर्षको उमेरमै आमा गुमाए । उनकै शब्दमा, ‘ममा एक प्रकारको संवेदनशीलता जन्मिएको थियो, बच्चाले आमा गुमाएपछि त्यो पीडाले उसलाई संवेदनशील बनाउँदो रहेछ ।’ 
अहिले त तीर्थ आफैँ जीवनको सन्ध्याकालीन समयको निकट पुगेका छन् । तर, हात्तीको छावाले उनलाई जीवनको पूर्वाद्र्धको स्मरणमा पु¥याएको छ । विगतको मियो समात्दै उनी पुगे, ०२९ तिर । तीर्थ र उनका साथीले ‘उपहार’ नामको हस्तलिखित पत्रिका जन्माए । अलि पछि विजय बजिमयले ‘फेवाताल’ नामक पत्रिका निकाले । तीर्थको कविता मागेर छापे । यसरी बढेको थियो, उनको साहित्ययात्रा ।

त्यसबखत पत्रमित्रतामा पनि उत्तिकै सक्रिय थिए । अशेष मल्ल, दिनेश अधिकारीलगायतसँग चिठी आदान–प्रदान हुन्थ्यो । ३५ सालतिर अशेष मल्लहरूले ‘मुर्दावादमा उठेका हातहरू’ शीर्षकमा देशैभर कविता लेख्ने अभियान चलाए । उनले पनि लेखे । ‘हाम्रो अभियान सिस्टमको विरुद्धमा थियो । राजनीतिक कुण्ठा, राज्य व्यवस्थाप्रतिको वितृष्णा, घृणा थियो,’ तीर्थ भन्छन्, ‘परिवर्तन हुनुपर्छ भन्ने कुराले हामीलाई तानेको थियो ।’ 

त्यो समयमा तीर्थको ‘सिंहदरबार’ शीर्षकको कविता निकै चर्चित भयो । कवितालाई समकालीन परिस्थितिमाथिको प्रतिक्रिया भनेर अथ्र्याउँछन्, उनी । त्यही कविताले अलिअलि स्थापित पनि भए । कवि भनेर चिनिए । लगत्तै ०३६ सालमा जनमतसंग्रह भयो । पञ्चायतले नै जित्यो । युवाहरूमा अत्यधिक निराशा छायो । निराशालाई आशामा बदल्न नै तरलवादको सुरुवात भएको थियो । 
कुरा ०४० सालतिरको । तीर्थलाई विराटनगरबाट ‘विराट कवि गोष्ठी’मा भाग लिने निम्तो आयो । पोखराबाट विजय बजिमयसँग पूर्व हान्निए । फणिन्द्र नेपाल र विनय रावल पनि पुगेका थिए । तीर्थ, फणिन्द्र र विनय एउटै टेबलमा बसेर गफ गर्न थाले । तीर्थ सम्झन्छन्, ‘संयोगवश हामीभन्दा अर्को टेबलमा तेस्रो आयामका तीनैजना बसिरहेका रहेछन् ।’ आयामेली साहित्यकार एकातिर बसिरहेका छन्, अर्कातिर केही नयाँ गर्नुपर्छ भनेर फविती (फणिन्द्र, विनय र तीर्थ) बसेका छन् । तीनजना एउटा निर्णयमा पुगे– साहित्य पारदर्शी हुनुपर्छ, प्राण र जीवन आउनुपर्छ तथा शैली पनि नयाँ हुनुपर्छ । यसलाई एक शब्दमा कसरी भन्ने ? उत्तर पनि निकाले– तरलवाद । पानीमा ट्रन्सपरेन्सी, जीवन र स्पर्श क्षमता हुन्छ । तरलवादमा पाँचवटा बुँदा पनि आए, जो विधान थिए । उनकै शब्दमा, ‘त्यतिवेला मेरो कविता लेखनको पहिलो इन्टरभलपछिको क्रियाशीलता थियो ।’

इनिङ दुई
तीर्थ श्रेष्ठ चितवनबाट एक कार्यक्रममा प्रमुख अतिथि बनेर फिर्दै छन् । गाडी ड्राइभ गरिरहेका छन् । टायरमा हिजो अलि बढी हावा भरेकोे बताइरहेका छन् । तर, हावा कम भएको छ । टायर ङिच्च परेर गाडीलाई थामिरहेको छ । खोजी सुरु भयो, रोयल अटो पार्टस्को, जहाँ उनले अघिल्लो दिन हावा भरेका थिए । 

टायरमा हावा लिक भएको होइन, टायर नै फेर्नुपर्ने स्थिति जन्मिएको रहेछ । जीवनका टायरहरू कसरी फेरिन्छन् कुन्नि, गाडीलाई अटो पार्टस्को जिम्मा लगाएर चिसा पसलभित्र छिरे तीर्थ । ‘ब्ल्याक टी, तर चिनीचाहिँ एकदम कम,’ अर्डर भयो । 
‘हामीले ठूलो कुरा गर्दै जाँदा साना कुरा छुटायौँ,’ टेबलमा आइपुगेको चियालाई पुलुक्क हेरेर भन्छन्, ‘ती साना कुराले जीवनलाई जोड्थ्यो । जसरी सानो नटबोल्टले चक्कालाई गाडीमा राखेर कुदाउँछ ।’ मानिस गाडीको टायरजस्तो पंचर भइरहने र टालिइरहने प्रक्रिया त चलिरहन्छन् होला । यसबारे तीर्थ राज खोल्छन्, ‘साधारण हुनुजतिको असाधारण कुरा अर्को केही छैन, हामी त असाधारण हुने प्रयत्नमा उटपट्याङ गरिरहेका छौँ ।’ मानौँ, संसारले चिन्ने मान्छेले बच्चाको गाला सुमसुम्यायो । सतही रूपमा हेर्दा कति साधारण र गहिराइमा कति असाधारण । तीर्थ भन्छन्, ‘खास कविता त्यही हो, जो साधारण होस्, तर आफैँमा असाधारण होस् ।’ 
तीर्थ श्रेष्ठको दैनिकी उही पुरानै छ । कवितामा भने धार फेरिरहे । कहिले राज्य व्यवस्थाप्रति विमति राखेर हिँडे, कहिले तरलवाद भनेर हिँडे । सिद्धान्तको कसीबाट सिर्जना गर्न खोज्नु हुँदैन भनेर पनि हिँडे । 

तीर्थ श्रेष्ठको दैनिकी उही पुरानै छ । कवितामा भने धार फेरिरहे । कहिले राज्य व्यवस्थाप्रति विमति राखेर हिँडे, कहिले तरलवाद भनेर हिँडे । 

टेबलमा गिलास रित्तिसकेको छ । अटो पार्टस्का मान्छे आएर टायर फेरिसकेको ब्रिफिङ गरिसकेका छन् । तीर्थ बोल्छन्, ‘सिद्धान्तले मान्छेलाई संकीर्णतामा बाँध्छ ।’ उनले लेखनको धार परिवर्तन गरिरहनुमा पनि यही कुराले भूमिका खेल्यो कि सिद्धान्तले मान्छेलाई साँघुरो बनाउँदै लान्छ । सिद्धान्तले मान्छेलाई आवश्यकताअनुसार बाँध्छ । तीर्थको स्वीकारोक्ति छ, ‘सिद्धान्तका निम्ति सत्यलाई परित्याग गर्न सक्दैनौँ, सत्यका निम्ति भने जति पनि परित्याग गर्न सकिन्छ ।’

यही कुरा त तरलवाद अभियानमा लागू भयो । तरलवाद अगाडि बढिरहँदा बीचमा ट्विस्ट आयो । तीर्थको फणिन्द्र नेपालसँग कुरा मिलेन । फणिन्द्रले तरलवाद नवीनताको आग्रह भएको दाबी गरे । तीर्थ सहमत भएनन् । उनले ‘समष्टिको आग्रह’ भने । विमति बढेर गयो । तर, तीर्थ नयाँ सोचमा पुगे । आफूहरूले भनेका कुरा पुरानै हुन् भन्ने लाग्यो । ‘सिद्धान्त निर्माण गरेर कविता लेख्नु गाह्रो कुरा रहेछ,’ टक्क रोकिए, अनि फेरि बोल्न थाले, ‘कविताका आधारमा सिद्धान्त लेखिनुचाहिँ सामान्य कुरा हुन् ।’ 
अनि तरलवादबाट बाहिरिए । यो तीर्थको दोस्रो इनिङ थियो । 

इनिङ तीन
चिया सकिएको छ । टायर बनिसकेको छ । तीर्थको शरीर पोखरा फिर्दै छ । तर, तीर्थ भने स्मृतिको गहिरो गल्छीतिर फिरेका छन् । ०५२÷५३ सालतिर । पोखराको पञ्चासे । सरुभक्त र तीर्थ त्यहाँ जाँदा बाटोमा हिउँ थिएन । फर्कंदा भने बाटो हिउँ ओढेर बसेको थियो । 
उनले सरुभक्तलाई हेरे । घुँडा भासिने हिउँ हेरे । हिउँमा ठिंग उभिएको नांगो रुखलाई हेरे । तीर्थले सरुभक्तलाई भने, ‘तँ यो रुखजस्तै होस्, घरगृहस्थी केही नभएको मान्छे, रुखमुनि उभिनू, म फोटो लिन्छु ।’ फोटो खिच्दा आफूले टेकेर आएको लट्ठीले सरुभक्तको नाम पनि लेखे । क्यामेरामा नाम पनि र मान्छे पनि समेटियो । फोटो खिच्दै गर्दा तीर्थको दिमागमा आयो, ‘मानिसको जीवनको क्षणभंगुरता यी हिउँजस्तै हुन्, एकैछिनमा घाम लाग्दा बिलाउँछ ।’ उनकै शब्दमा, ‘त्यो कुराले मलाई धेरै दिनसम्म उद्वेलनमा राख्यो ।’ 
हामी नाम, सम्मान, प्रतिष्ठा खोज्छौँ । कति लामो जीवन छ र ऊ मञ्चबाट तल झरेपछि त मान्छेसँगै घुलमिल हुनुपर्छ । योभन्दा क्षणिकता कहाँ छ ? तीर्थ सम्झन्छन्, ‘कविता लेख्न मलाई डेढ महिनाजति लागेको थियो ।’ उनको कविता सुन्ने पहिलो श्रोता कवि भूपिनलगायत थिए । 
हामीले
लेखेर आएका छौँ
हिउँमा आ–आफ्ना नामहरू
एक छिनपछि हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरू
एक छिनपछि घाम लाग्यो भने पनि
बाँकी रहने छैनन् हाम्रा नामहरू
यस्तै शब्दहरू उने, उनले । यो कविता तीर्थको इनिङको सम्झनलायक पल भएर बस्यो । उनले भने, ‘आठ–दश वर्षको इन्टरभल छ, मेरो कविता लेखनमा । पहिला पञ्चायती विषयलाई फोकस गरियो, तरलवाद र त्यसपछिका हिउँमा लेखिएका नामहरूको समय ।’ यति भनेर तीर्थले गाडी स्टार्ट गरे । पोखरा हुइँकिए । उनको गाडी निकै पर पुगेपछि मात्र आँखाबाट ओझेल प-यो ।