मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण ११ बुधबार ०९:५२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय खेलकुदका लागि गण्डकीका ११ जिल्ला प्रस्ताव : कास्कीमा २५, बाँकीमा ११ खेल

Read Time : > 2 मिनेट
२०७९ श्रावण ११ बुधबार ०९:५२:००

आगामी २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशका ११ जिल्लाका खेलस्थल प्रस्ताव भएको छ । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङ संयोजक रहेको खेलस्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताका लागि ११ जिल्ला प्रस्ताव गरेको हो ।

प्रतियोगितामा ३६ खेल समावेश छन् । सोहीअनुसार प्रदेशका हरेक जिल्लामा कम्तीमा एक खेल खेलाउने गरी खेलस्थल प्रस्ताव गरिएको हो । व्यवस्थापन समिति, पश्चिमाञ्चल खेलकुद विकास समिति र सारोकारवालाहरूले खेलका लागि आवश्यक पूर्वाधार हेरेर पहिलो चरणमा खेलस्थल प्रस्ताव गरेको संयोजक गुरुङले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गतका अधिकांश खेल लेखाउन मिल्ने पूर्वाधार कास्कीमा मात्रै छन् । यसकारण अन्य जिल्लाका पूर्वाधार हेरेर कम्तीमा एक खेल खेलाउने गरी प्रस्ताव गरेको गुरुङले बताए । अब कुन जिल्लामा कुन खेल खेलाउन मिल्छ सोहीअनुसार जिल्लागत रूपमा अध्ययन हुनेछ । 

उपसमितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण प्रमुख कृष्ण तिमिल्सिनाका अनुसार ३६ खेलमध्ये २५ खेल कास्कीमा र ११ खेल प्रदेशका अन्य १० जिल्लामा खेलाउन प्रस्ताव गरिएको छ । ३६ खेलमध्ये फुटबल र भलिबलका पुरुष महिलाको खेल फरक–फरक जिल्लामा खेलाउन प्रस्ताव गरिएको छ । अन्य सबै ३४ खेलको महिला–पुरुषको खेल एकै जिल्लामा सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

०७६ सालमा लुम्बिनी प्रदेशमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनमा नवौँ खेलकुद प्रतियोगिता गर्ने जिम्मेवारी गण्डकीले पाएको थियो । प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने खेलकुद कोरोना महामारीका कारण निर्धारित मितिमा सम्पन्न गर्न नसकिएको हो ।

जिल्लागत रूपमा छनोट गरिएका खेलस्थल  ३६ खेलमध्ये कास्कीमा २५, नवलपुरमा तीन, स्याङ्जामा दुई र बाँकी आठ खेल प्रदेशका अन्य आठ जिल्लामा खेलाउने गरी प्रस्ताव गरेको तिमिल्सिनाले बताए । 

पोखरामा ३९ वर्षपछि प्रतियोगिता 
पोखरामा करिब ३९ वर्षपछि प्रतियोगिता आयोजना हुन लागेको हो । यसअघि पोखरामा १२ देखि २० चैत ०४० मा दोस्रो संस्करणको खेलकुद प्रतियोगिता भएको थियो । प्रतियोगितामा बागमती प्रथम भएको थियो भने गण्डकी दोस्रो भएको थियो ।

सबै खेल गण्डकीमै गर्न माग
खेलस्थल व्यवस्थापन समितिले मंगलबार पोखरामा आयोजना गरेको सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा सहभागीहरूले प्रतियोगितामा समावेश गरिने ३६ खेल गण्डकीमा गर्न माग गरेको छन् । राखेपले पौडी र सुटिङका खेल काठमाडांै गर्ने संकेत गरेपछि उनीहरूले सबै खेल गण्डकी प्रदेशमै गर्न माग गरेका हुन् ।

कास्की

प्रतियोगिताका अधिकांश खेल कास्कीको पोखरामा हुने भएका छन् । पहिलो चरणमा कास्कीमा २५ खेल खेलाउने प्रस्ताव गरिएको छ । फुटबल (पुरुष), एथलेटिक्स (महिला–पुरुष), बक्सिङ (महिला–पुरुष), तेक्वान्दो (महिला–पुरुष), कराते (महिला–पुरुष), भारोत्तोलन (महिला–पुरुष), भलिबल (पुरुष), ब्याडमिन्टन (महिला–पुरुष), उसु (महिला–पुरुष), जुडो (महिला–पुरुष), ह्यान्डबल (महिला–पुरुष), हक्की (महिला–पुरुष), स्क्वास (महिला–पुरुष), सुटिङ (महिला–पुरुष), जिम्न्यास्टिक (महिला–पुरुष), लनटेनिस (महिला–पुरुष), सफ्टटेनिस (महिला–पुरुष), क्रिकेट (महिला–पुरुष), साइक्लिङ –महिला–पुरुष), आर्चरी (महिला–पुरुष), पौडी (महिला–पुरुष), गल्फ (महिला–पुरुष) प्याराग्लाइडिङ (महिला– पुरुष), ट्रायथलन (महिला–पुरुष) र रग्बी सेभेन ए साइडका खेल कास्कीका लागि प्रस्ताव गरिएको छ । साथै, कास्कीमा लोक–दोहोरी तथा लोकनृत्य प्रतियोगिता गर्नसमेत प्रस्ताव गरिएको छ ।

नवलपुर

तीन खेलका लागि नवलपुरलाई प्रस्ताव गरिएको छ । यहाँ कबड्डी (महिला–पुरुष), कुस्ती (महिला–पुरुष) र खो खो (महिला–पुरुष)खेल्न प्रस्ताव गरिएको छ ।

स्याङ्जा

स्याङ्जामा फुटबल (महिला) र फुल कन्ट्याक्ट कराते (महिला–पुरुष) खेलका लागि खेलस्थलका रूपमा प्रस्ताव गरिएको छ । यसैगरी, अन्य खेलका लागि म्याग्दीमा भलिबल (महिला), मनाङमा टेबुल टेनिस (महिला–पुरुष), तनहुँमा बास्केटबल (महिला–पुरुष), मुस्ताङमा बुद्धिचाल (महिला–पुरुष), बाग्लुङमा आइटिएफ तेक्वान्दो (महिला–पुरुष), गोरखामा सेपाकताक्रो (महिला–पुरुष), पर्वतमा फेन्सिङ (महिला–पुरुष) र लमजुङमा शारीरिक सुगठन (महिला–पुरुष)का खेलका लागि खेलस्थलका रूपमा प्रस्ताव गरिएको छ ।

उपसमितिका संयोजक गुरुङका अनुसार पहिलो चरणमा भएको खेलस्थल प्रस्तावको निर्णय राखेप, उपसमिति र सम्बन्धित खेल संघका पदाधिकारीले खेलमैदान अवलोकनपश्चात् मात्रै तय हुनेछ ।