मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ श्रावण ११ बुधबार १०:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

समयमै पानी नपर्दा देशभर ७५ प्रतिशत मात्र रोपाइँ

Read Time : > 1 मिनेट
२०७९ श्रावण ११ बुधबार १०:४४:००

गत वर्षभन्दा १३ प्रतिशत बिन्दुले रोपाइँमा कमी, सबैभन्दा कम मधेसमा र धेरै सुदूरपश्चिममा 

साउनको दोस्रो हप्ता आइपुग्दा पनि देशभर ७५ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । यो अघिल्लो वर्षको भन्दा १३ प्रतिशत बिन्दुले कमी हो । यो वर्ष मुख्य सिजनमा पानी नपर्दा धान रोपाइँमा कमी आएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष यही समयमा ८८ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयको तथ्यांक छ ।

धान रोपाइँमा आएको कमीले सरकारले चालू आवमा धान आयात ३० प्रतिशत घटाउने लक्ष्य प्रभावित हुने देखिएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर ११ लाख हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष यही अवधिमा १२ लाख १७ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको थियो । नेपलमा धान रोपाइँ हुने १५ लाख चार हजार हेक्टर जमिन भए पनि १३ लाख हेक्टरमा नियमित धान रोपाइँ हुँदै आएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष सबैभन्दा बढी धान उत्पादन हुने मधेस प्रदेशमा नै सबैभन्दा कम रोपाइँ भएको छ । मधेसमा ६३ दशमलव २ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष उक्त प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार उक्त प्रदेशमा दुई लाख ६५ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको छ । विगतका वर्षहरूमा तीन लाख ४० हजार हेक्टरमा रोपाइँ हुँदै आएको थियो ।

त्यसैगरी, सबैभन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । सुदूरपश्चिम प्रदेशमा ९२ दशमलव ८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष सोही समयमा ९६ प्रतिशत रोपाइँ सकिएको थियो । उक्त क्षेत्रमा एक लाख ७८ हजार हेक्टर जमिनमध्ये एक लाख ६५ हजार हेक्टरमा धान रोपाइँ भएको छ । बागमती प्रदेशमा यस वर्ष ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष ९० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । एक लाख २० हजार हेक्टर जामिन रोपाइँ हुने जमिनमध्ये ९१ हजार हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष उक्त प्रदेशमा ८७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा एक लाख तीन सय १० हेक्टर जामिनमा धान रोपाइँ सम्पन्न भएको छ । 

लुम्बिनी प्रदेशमा ७४ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष ९२ प्रतिशत रोपाइँ भइसकेको थियो । तीन लाख २० हजार हेक्टर रोपाइँ हुने जमिनमध्ये दुई लाख ३९ हजार हेक्टर जमिन मात्र रोपाइँ भएको छ । त्यसैगरी, कर्णालीमा ७८ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ । ३८ हजार आठ सय हेक्टर जमिनमध्ये ३० हजारमा मात्र रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।