१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण १० मंगलबार ११:१७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोरखा संग्रहालय घुम्न आउने पर्यटकको संख्या बढ्दै 

Read Time : > 2 मिनेट
२०७९ श्रावण १० मंगलबार ११:१७:००

आर्थिक वर्ष ०७८/७९ मा ७६ हजारभन्दा बढीले संग्रहालयको अवलोकन गरे

गोरखा सदरमुकामस्थित संग्रहालयमा नेपालको इतिहास बुझ्न र हेर्न आउने पर्यटकको संख्या बर्सेनि बढ्दै गएको छ । नेपालको शाहवंशीय राजा र नेपाल एकीकरणको समयमा प्रयोग भएका विभिन्न सामग्री हेर्न आउनेको संख्या बढ्दै गएको गोरखा दरबार संग्रहालय गोरखाले जनाएको छ । 

आर्थिक वर्ष ०७८/७९ मा ७६ हजारभन्दा बढीले संग्रहालयको अवलोकन गरेको यस संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार भदौमा ६ सय ९९ जना, असोजमा तीन हजार सातजना, कात्तिकमा सात हजार आठ सय ९१ जना, मंसिरमा १४ हजार नौ सय ५२ जना र पुसमा ११ हजार पाँच सय ७३ जनाले संग्रहालय अवलोकन गरेका थिए । 

यसैगरी, माघमा तीन हजार नौ सय ९४ जना, फागुनमा ६ हजार चार सय ३३ जना, चैतमा आठ हजार ६ सय ३१ जना, वैशाखमा आठ हजार एक सय तीन जना, जेठमा ६ हजार आठ सय तीनजना र असारमा चार हजार दुई सय ४२ जनाले संग्रहालयको अवलोकन गरेको  संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए । 

जसमध्ये देशभरका विभिन्न विद्यालयबाट आएका २६ हजार एक सय ५२ जना विद्यार्थीले संग्रहालय अवलोकन गरेका थिए । उनीहरूबाट दुई लाख ६१ हजार पाँच सय २० रुपैयाँ राजस्व संकलन भएको छ । 

४९ हजार आठ सयजना नेपालीबाट १२ लाख ४५ हजार राजस्व संकलन भएको संग्रहालयले जनाएको छ । त्यस्तै, सार्क राष्ट्रका ५९ जनाबाट दुई हजार नौ सय ५० रुपैयाँ र तीन सय १७ जना विदेशी नागरिकबाट ३१ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए ।

त्यस्तै, संग्रहालयभित्र भिडियो क्यामेरा प्रयोग गरी भिडियो र फोटो खिचेबापत १३ जना नेपालीले दुई सयका दरले २६ हजार, सार्क राष्ट्रका २४ जनाबाट दुई सयका दरले ४८ हजार र संग्रहालय परिसरभित्र विभिन्न म्युजिक भिडियो र फिल्म छायांकन गरेबापत एक हजार रुपैयाँका दरले पाँचजनाबाट पाँच हजार रुपैयाँ राजस्व संकलन भएको छ । संग्रहालयवरिपरि पसलहरू भाडामा दिएबापत एक लाख ६ हजार पाँच सय रुपैयाँ संकलन भएको  छ । कुल १६ लाख ६८ हजार पाँच सय ७० रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । 

आ.व. ०७६/७७ मा ७५ हजार पाँच सय ४८ जनाले संग्रहालयको अवलोकन गरेका थिए । त्यो वर्ष १५ लाख ७८ हजार आठ सय १५ रुपैयाँ राजस्व संकलन भएको थियो । आ.व. ०७७/७८ मा भने कोभिड महामारीका कारण संग्रहालय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ह्वात्तै घटेको थियो । त्यो वर्ष ३३ हजार दुईजनाले मात्र संग्रहालय अवलोकन गरेका थिए । उनीहरूबाट आठ लाख ६० हजार ८५ रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । 

अहिले भने कोभिड महामारी कम भएसँगै संग्रहालय घुम्न आउने  आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको संग्रहालयले जनाएको छ । कात्तिकदेखि मंसिर, पुस र माघसम्म शैक्षिक भ्रमणको सिजन भएकाले आन्तरिक पर्यटकको संख्या धेरै नै बढ्ने गरेको छ ।

नेपाल एकीकरणको समयमा प्रयोग भएका हतियारहरू, शाहवंशीय इतिहास, विभिन्न शिलालेख, नेपाली पहिचान झल्काउने विभिन जातिको वेशभूषा, विभिन्न बाजाहरूलगायतका इतिहासका धेरै महत्वपूर्ण कुराहरू संग्रहालयभित्र राखिएका छन् । 

संग्रहालय सातै दिन खुला 
गोरखा संग्रहालय हप्ताको सातै दिन खुला गरिएको छ । गोरखा संग्रहालय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै ०७८ भदौ २२ गतेबाट हप्ताको सातै दिन खुला गरिएको हो । गोरखा घुम्न आएका पर्यटकहरूले नेपालको इतिहास थाहा पाऊन् र यहाँको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले हप्ताको सातै दिन खुला गरिएको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए । संग्रहालयमा हाल २१ जना कर्मचारी कार्यरत रहेका छन् ।