मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७९ श्रावण १० मंगलबार ०७:३१:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

युरोपमा रेकर्ड–ब्रेकिङ तातो हावाको लहर, दुई महिना अझै गर्मी रहने

Read Time : > 2 मिनेट
एजेन्सी
२०७९ श्रावण १० मंगलबार ०७:३१:००

दुई महिनाअघि, फ्रान्सले हालसम्मकै सबैभन्दा तातो मे महिना अनुभव गरेको थियो । विभिन्न सहरमा तापक्रम मापन गर्न थालेदेखिकै मे महिनाको तापक्रम सबैभन्दा उच्च मापन भयो । जुनमा पनि फ्रान्समा गर्मी बढ्ने क्रम रोकिएन । यसपटकको तातो हावाको लहरले फ्रान्स मात्रै होइन, स्पेन, इटली र अन्य देशलाई समेत प्रभावित बनायो । 

यो महिना (जुलाई)को सुरुतिर पोल्यान्ड र पूर्वी युरोपका अन्य भाग चरम गर्मीको चपेटामा परे । अहिले आएर युरोपभरि नै तापक्रम फेरि बढिरहेको छ । स्पेनदेखि ब्रिटिस टापुसम्म तापक्रम ३७ डिग्री वा त्योभन्दा माथि पुगेको छ । तातो हावाको लहर बिस्तारै पश्चिम युरोपबाट पूर्वतर्फ फैलिरहेको छ । उच्च तापका कारण धेरै देशका जंगलमा डढेलो लागेको छ । युरोपको अधिकांश हिस्सा लामो खडेरीबाट गुज्रिरहेको छ । 

काई कोर्नहुबर, अनुसन्धानकर्ता, कोलम्बिया युनिभर्सिटी

पोर्चुगलको तटको माथिल्लो भागमा केही समयदेखि रोकिएको न्यूनचापीय वायुको कारण पनि युरोपको तापक्रम बढिरहेको छ । यस प्रक्रियालाई ‘कट अफ लो’ भनिन्छ । न्यूनचापीय क्षेत्रले हावालाई आफूतर्फ तान्छ । युरोपको सन्दर्भमा त्यहाँको न्यूनचापीय क्षेत्रले उत्तर अफ्रिकाबाट निरन्तर हावा तानिरहेको छ ।

युरोपमा अझै दुई महिना गर्मी रहनेछ । वैज्ञानिकहरूका अनुसार प्रत्येक वर्ष युरोपमा विषम गतिमा ताप बढ्दै गएको छ र अहिलेको गर्मी पनि यसैको क्रम हो । अमेरिकालगायत पृथ्वीको अन्य भागको तुलनामा युरोपमा तातो हावाको लहर तीव्र र छिटोछिटो गतिमा बढिरहेको तथ्यांकले देखाउँछ ।

विश्वव्यापी तापक्रम वृद्धिको प्रभावले युरोपमा पनि तातो हावाको लहर बढाउन केही प्रतिशत भूमिका खेलेकै छ । विश्वको तापक्रम औद्योगिकीकरण सुरु हुनुअघि अर्थात् १९औँ शताब्दीअघिको तुलनामा औसतमा २ डिग्री फरेनहाइट (१.१ डिग्री सेल्सियस)बढिसकेकाले त्यसको प्रभाव विभिन्न रूपमा देखिन थालेको छ ।

एकपटक तातो लहर फैलिए दोहोरिने सम्भावना
एकपटक तातो लहर आएको क्षेत्रमा पुनः अर्को लहर आउने सम्भावना उच्च हुन्छ । किनभने उच्च तापक्रमले जमिनको माटोलाई सुक्खा बनाउँछ । माटो ओसिलो हुँदा सूर्यको केही ऊर्जा त्यसको पानीलाई वाष्पीकरण गर्न प्रयोग हुन्छ, जसले गर्दा चिसोको प्रभाव रहन्छ । तर, तातो लहरले माटोको लगभग सबै ओसिलोपन मेटाएपछि अर्को लहर आउँदा वाष्पीकरण हुन त्यति धेरै पानी बाँकी रहेको हुँदैन । त्यसैले सूर्यको अधिक ऊर्जाले सतहलाई धेरै तताउँदा गर्मी थप बढ्छ । 

तापक्रम बढ्नुमा जलवायु परिवर्तनको मात्रै भूमिका छैन

यसकारण बढिरहेको छ युरोपमा तापक्रम

  • जलवायु परिवर्तनको असर
  • ‘कट अफ लो’
  • ‘जेट स्ट्रिम’ अस्थायी रूपमा विभाजन
  • आर्कटिकमा भइरहेको तापक्रम वृद्धि
  • एटलान्टिक मेरिडियन ओभरटर्निङ सर्कुलेसनमा आएको परिवर्तन 

युरोपमा तातो हावाको लहर आउनुमा जलवायु परिवर्तन मात्रै कारक छैन । अन्य कारक तŒव पनि रहेको अध्येताहरूको भनाइ छ । त्यसमध्ये वायुमण्डल र महासागरको चक्र एक कारक हो । अहिले युरोपमा देखिएको तातो लहर पोर्चुगलको तटको माथिल्लो भागमा केही समयदेखि रोकिएको न्यून चापीय वायुको कारणले भएको वैज्ञानिकले बताएका छन् । यस प्रक्रियालाई वायुमण्डलीय वैज्ञानिकहरू ‘कट अफ लो’ भन्ने गर्छन् । किनभने यो माथिल्लो भागमा रहेर पृथ्वीको चक्कर लगाउने पश्चिमी हावाको लहरबाट कटेको थियो । न्यून चापीय क्षेत्रले हावालाई आफूतर्फ तान्छन् । युरोपको सन्दर्भमा त्यहाँको न्यून चापीय क्षेत्रले उत्तर अफ्रिकाबाट निरन्तर हावा तानिरहेको कोलम्बिया युनिभर्सिटीअन्तर्गतको ‘ल्यामोन्ट–डोहर्टी अर्थ अब्जर्भेटरी’का अनुसन्धानकर्ता काई कोर्नहुबरले बताए । 

यही महिना सार्वजनिक एक अध्ययनमा डा. कोर्नहुबर संलग्न थिए, जुन अध्ययनले विगत चार दशकमा युरोपमा तातो लहरहरूको तीव्रता र दर बढेको देखाएको छ । यसमा आंशिक रूपमा जेट स्ट्रिममा भएका परिवर्तनहरू जोडिएको पाइएको छ ।

अन्वेषकहरूले के पत्ता लगाएका छन् भने महासागरमा नदी जसरी निरन्तर बग्ने धार (जसलाई अंग्रेजीमा ‘जेट स्ट्रिम’ भनिन्छ) अस्थायी रूपमा दुई भागमा विभाजित हुँदा युरोपमा तातो लहर आउने रहेछ । महासागरीय धार दुई धार भएर बग्दा बीचको भागमा कमजोर वायु र उच्च चापको हावा रहने र त्यो विषम ताप निर्माणका लागि सहयोगी हुने गरेको छ । 

पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट रिसर्चका वरिष्ठ जर्मन वैज्ञानिक एफी रोसी अध्ययनका प्रमुख लेखक हुन् । उनले दुई सातादेखि युरोपमा देखिएको तातो वायु लहरका लागि पनि यस्तो फाटिएको धार जिम्मेवार भएको हुन सक्ने बताइन् । यसले ‘कट अफ कम लो’को स्थिति सिर्जना गर्नेदेखि युरोपका कमजोर हावा चल्ने क्षेत्रमा तातो रापलाई जोगाइराख्न सघाएको हुन सक्ने रोसीको प्रक्षेपण छ । ‘यसले अहिलेको तातो हावाको लहरको निर्माणलाई साँच्चै सघाएको देखिन्छ,’ उनले भनिन् । 

उल्लिखित कारणबाहेक अन्य पक्षले पनि युरोपले तातो हावा फैलन योगदान गरेको हुन सक्छ । यद्यपि, यीमध्ये केही अहिले वैज्ञानिकबीच बहसको विषय बनेका छन् । डा. कोर्नहुबरका अनुसार आर्कटिकमा भइरहेको तापक्रम वृद्धिले पनि युरोपको तापक्रममा असर पारेको हुन सक्छ । किनकि आर्कटिक क्षेत्रमा विश्वका अन्य भागभन्दा धेरै छिटो तापमान बढिरहेको छ । आर्कटिक तीव्र गतिमा तात्दा यस भेग र भूमध्यरेखाबीचको तापमान भिन्नता कम हुँदै जान्छ । यसले ग्रीष्मकालीन वायुलाई घटाउँछ, जसले मौसम प्रणालीलाई लामो समयसम्म लम्ब्याउन सक्छ,’ डा. कोर्नहुबरले भने । 

विश्वको प्रमुख महासागर धारहरूमध्ये एक एट्लान्टिक मेरिडियन ओभरटर्निङ सर्कुलेसनमा आएको परिवर्तनले पनि युरोपको मौसमलाई असर गरेको संकेत दिइरहेको छ । डा. रोसीले गत वर्ष शोधपत्र प्रकाशित गरेका थिए, जसमा कम्प्युटर सिमुलेसन प्रयोग गरेर संसारको तापक्रम बढ्दै जाँदा एट्लान्टिक मेरिडियन ओभरटर्निङ सर्कुलेसन कमजोर हुँदा वायुमण्डलीय चक्रमा परिवर्तन हुने देखायो । यसले युरोपले थप सुक्खा ग्रीष्म ऋतु सामना गर्नुपर्ने स्थिति देखियो । 

द न्युयोर्क टाइम्स