मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १० मंगलबार ०६:३१:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतीय राष्ट्रपति मुर्मूले सम्हालिन् कार्यभार

मुर्मू आदिवासी समुदाय तथा स्वतन्त्र भारतमा जन्मेको पहिलो राष्ट्रपति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १० मंगलबार ०६:३१:००

भारतकी १५औँ राष्ट्रपति द्रौपदी मुर्मुले सोमबारदेखि कार्यभार सम्हालेकी छिन् । भारतका प्रधानन्यायाधीश एनभी रमणबाट उनले संसद् भवनको केन्द्रीय हलमा शपथग्रहण गरेकी हुन् । राष्ट्रपति संसद्को एक हिस्साका रूपमा मानिने हुनाले शपथ संसद् भवनमा हुने चलन छ । मुर्मु भारतको आदिवासी समुदायकी पहिलो राष्ट्रपति हुन् । उनीअघि प्रतिभासिंह पाटिल भारतको राष्ट्रपति थिइन् । पाटिल १५ अगस्ट १९४७ मा भारत स्वतन्त्र भएपछि जन्मेकी पहिलो राष्ट्रपति हुन् । उनको जन्म २० जुन १९५८ मा भारतको उडिसामा भएको थयो । भारतमा सात सयभन्दा बढी सूचीकृत जनजाति छन् । राष्ट्रपति मुर्मु भारतभरि करिब ९० लाख जनसंख्या रहेको सन्थाल जातिकी हुन् । 

सन् १९७७ देखि राष्ट्रपतिले जुलाई २५ मा शपथ लिने प्रचलन सुरु भएको हो । यो मितिमा तत्कालीन राष्ट्रपति नीलम सञ्जीव रेड्डीले शपथ लिएका थिए । भारतीय दैनिक भास्कर पत्रिकाका अनुसार त्यसयता भारतीय राष्ट्रपतिले निर्वाचित भएपछि २५ जुलाईमा शपथ लिने र कार्यभार सम्हाल्ने क्रम जारी छ । हालसम्म मुर्मुसहित नौजना राष्ट्रपतिले २५ जुलाईमा शपथ लिएका छन् । 

राष्ट्रपतिका रूपमा मुर्मुलाई २१ जुनमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले उम्मेदवार घोषणा गरेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई यो खबर भाजपाको उडिसास्थित मयुरभन्ज जिल्ला अध्यक्ष विकास महतोमार्फत सुनाएका थिए । त्यसवेला मुर्मु आफ्नो गाउँमा थिइन् । मुर्मुको मोबाइल नेटवर्कले गाउँमा काम नगरेका कारण मोदीका स्वकीय सचिवले महतोमार्फत मुर्मुसँग कुरा गर्न चाहेका थिए । 

‘करिब एक मिनेट टेलिफोन कुराकानी (मोदी र मुर्मुबीच) भयो । मेडम मौन हुनुहुन्थ्यो । उहाँको आँखाबाट आँसु बगिरहेको थियो । उनकी छोरी इतिश्री र हामीले उहाँलाई सहयोग गथ्र्यौँ । आफूलाई सम्हाल्नेबित्तिकै उहाँले भनेका कुरा इतिहास बन्न पुग्यो । उहाँले भन्नुभएको थियो– यो धेरै ठूलो समाचार हो र मेरो आफ्नो मात्र होइन,’ महतोलाई उद्धृत गर्दै दैनिक भास्करले समाचार छापेको छ । महतोका बाबु रवीन्द्रनाथ महतो द्रौपति मुर्मुका राजनीतिक गुरु थिए । शिक्षिका बन्ने सपना बोकेकी मुर्मु राष्ट्रपति भएको उनको भनाइ थियो । मुर्मु २१ जुलाईमा राष्ट्रपति निर्वाचित भएकी थिइन् । 

मुर्मुका पति, दुई छोरा र एक छोरीको मृत्यु भइसकेको छ । उनको प्रेमविवाह भएको थियो । उनको गाउँबाट उच्च शिक्षा हासिल गरेकी उनी पहिलो महिला हुन् । शपथग्रहणपछि मुर्मु सोमबारदेखि राष्ट्रपति भवनमा सरेकी छिन् । निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द राष्ट्रपति भवनबाट सरकारले उपलब्ध गराएको सरकारीनिवासमा सरेका छन् । सरकारले उनलाई दिल्लीस्थित १२–अकबर रोडमा निवासको व्यवस्था मिलाएको छ । 

‘म राष्ट्रपति बन्नु प्रत्येक गरिबको उपलब्धि’
उडिसाको साना आदिवासी गाउँमा जन्मेर मुलुकको सर्वोच्च पद राष्ट्रपति हुनुलाई मुर्मुले यो हरेक गरिबको उपलब्धि रहेको बताएकी छिन् । आफूलाई वडा काउन्सिलदेखि राष्ट्रपतिसम्म बन्ने अवसर भारतको लोकतन्त्रले दिएको उनले बताइन् । ‘लोकतन्त्रको जननी भारत वर्षको महानता हो । मेरो होइन, भारतका प्रत्येक गरिबको उपलब्धि हो । भारतका गरिब सपना पनि देख्छन् र सपना पूरा गर्छन् भन्ने सन्देश हो,’ मुर्मुले शपथग्रहणपछि सोमबार संसद्मा भनिन्, ‘गरिब घरमा जन्मेको व्यक्ति सर्वोच्च ठाउँमा पुग्नु लोकतन्त्रको परिणाम हो । म विकासको लाभबाट धेरै पर रहेका गरिब, दलित, आदिवासी जनजातिको प्रतिबिम्ब हुँ ।’ उनले युवा र महिलाको हितलाई सर्वोपरि मानेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

‘स्वतन्त्रताको ५०औँ वर्षमा राजनीति सुरु गरेकी थिएँ, ७५ वर्षमा मलाई नयाँ दायित्व मिलेको छ । स्वतन्त्र भारतमा जन्म लिएको राष्ट्रपति हुँ,’ मुर्मुले भनिन् । उनले भारतका सबै विविधिताको पक्षमा काम गर्ने पनि बताइन् । ‘संविधानको मर्मअनुसार आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्नेछु । मेरा लागि भारत र सबै देशवासीहरूको लोकतान्त्रिक सांस्कृतिक आदर्श सधैँ मेरो ऊर्जाको स्रोत हुनेछन्,’ उनले संसद्मा भनेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले २१ जुलाईमा ट्विटरमार्फत भारतीय राष्ट्रपति मुर्मुलाई बधाई दिएका छन् ।