१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ९ सोमबार ०८:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विलासिताका वस्तु आयात नगर्न प्रधानमन्त्रीको आग्रह

अर्थतन्त्र बिग्रिँदो अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले सुधारका लागि खोजे निजी क्षेत्रको साथ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ९ सोमबार ०८:०२:००

बढ्दो व्यापार घाटा तथा घट्दो विदेशी मुद्रा सञ्चितिलाई लक्षित गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले महँगा तथा विलासिताका वस्तु आयात नगर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघ (सिएनआई)को १९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अर्थतन्त्रको वर्तमान संकटलाई समाधान गर्न आयातमुखीभन्दा पनि स्वदेशी उत्पादन बढाएर निर्यातमुखी व्यवसाय गर्नुपर्नेमा उनले जोड दिए ।

 समग्रमा निजी क्षेत्र अल्पकालीन लाभभन्दा पनि दीर्घकालीन लाभ कमाउने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘निजी क्षेत्रसँगको सहकार्य तथा औद्योगिक विकासविना अर्थतन्त्रको दीर्घकालीन विकास सम्भव छैन । सोहीअनुसार बिग्रिँदो अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार छ,’ उनले भने, ‘तसर्थ, सरकारले अगाडि बढाएको अभियानमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्दछु ।’

त्यस्तै, निजी क्षेत्रले अब स्वदेशी उत्पादन बढाउने गरी लगानीसमेत गर्नुपर्ने उनको भनाइ छ । ‘अब तपाईंहरूले महँगा र विलासिताका वस्तु आयात गरेर उपभोग बढाउनेतर्फभन्दा पनि सम्भावित स्वदेशी उत्पादन बढाउनतर्फ ध्यान दिनुपर्छ,’ उनले भने, ‘त्यसपछि हामीले आयातसँग पनि प्रतिस्पर्धा गर्न सक्छौँ ।’ निजी क्षेत्रले कृषि क्षेत्रको विकासमा समेत ध्यान दिनुपर्ने उनले बताए । ‘त्यसपछि आर्थिक समृद्धिको जग पनि बलियो हुन्छ भने गरिबी र आर्थिक असमानता पनि हटाउन सकिन्छ,’ उनले भने, ‘निजी क्षेत्रले यस्ता विषयलाई समेत दृष्टिगत गरेर पुँजी परिचालन गर्न आवश्यक छ ।’

उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्दप्रसाद बडूले सरकारले सरकारले उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनको नीति लिएको उल्लेख गर्दै त्यसमा सघाउन निजी क्षेत्रलाई आग्रह गरे ।  सांसद एवं परिसंघका इमिरेट्स प्रेसिडेन्ट विनोद चौधरीले पेट्रोलियम पदार्थ, रासायनिक मललगायत क्षेत्रको व्यवसायमा निजी क्षेत्रलाई समेत खुला गरिनुपर्ने बताए । 

परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघको सुझावअनुसार नै निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्थापछि नेपालको इतिहासमै पहिलोपटक नेपालबाट भारतमा सिमेन्ट तथा छडको निर्यात सुरु भएको बताए । ‘निजी क्षेत्रलाई थोरै प्रोत्साहन गर्दा नै त्यसको सकारात्मक प्रभाव पर्छ भन्ने यो एक ठोस उदाहरण हो,’ उनले भने, ‘अब बिस्तारै अन्य स्वदेशी उत्पादन विदेश निर्यात हुनेछन् । र, व्यापार असन्तुलन न्यून गराउन महत्वपूर्ण भूमिका खेल्नेछन् भन्नेमा हामी विश्वस्त छौँ ।’ 

अध्यक्ष अग्रवालले कोडिभको असरबाट बिस्तारै बाहिर आउन लागेका वेला लगानीयोग्य रकमको अभावले उद्योगी–व्यवसायी पुनः अप्ठ्यारोमा परेको बताए । ‘बजारमा माग घटिरहेको छ । जसरी कोडिभको वेलामा अर्थतन्त्र चलायमान हुन नसक्दा अर्थतन्त्र ऋणात्मक रहन पुग्यो, त्यसैगरी अहिले लगानी विस्तार हुन नसक्दा, मागमा निरन्तर गिरावट आउँदा अर्थतन्त्रमा थप जोखिम पर्न सक्ने देखिएको छ,’ उनले भने, ‘यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने चासो हामीलाई छ । यसमा सरकारको ध्यान जान आवश्यक छ ।’ 

 दुई उद्योगसँगै शर्मा सम्मानित
साधारणसभामा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा सिएनआई प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित भएका छन् । परिसंघले निर्यात प्रवद्र्धनमा योगदान पुर्‍याएबापत गणपति वनस्पति र रिलायन्स स्पिनिङ मिल्सलाई पनि सिएनआई एक्सपोर्ट अवार्डबाट सम्मान गरेको छ । त्यस्तै, परिसंघको राष्ट्रिय परिषद् सदस्य छाया शर्मा, परिसंघको राजस्व समिति, परिसंघ प्रदेश नम्बर एक तथा परिसंघको युवा उद्यमी मञ्चलाई समेत सम्मान गरिएको छ ।