१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रहरीले नियन्त्रणमा लिएको सुपारीका ट्रक
गणेश लम्साल विराटनगर
२०७९ श्रावण ८ आइतबार १५:०५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तेस्रो मुलुकबाट आयात गरेको सुपारीलाई नेपाली बनाएर भारत लैजाने क्रम रोकिएन

मिलेमतोमा उत्पादन भन्दा तेब्बर बढी सुपारी निकासी

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ श्रावण ८ आइतबार १५:०५:००

तेस्रो मुलुकबाट आयात गरिएको सुपारीलाई नेपाली उत्पादन बनाएर भारत निकासी गर्ने क्रम जारी रहेको खुलेको छ। विराटनगर– १८ स्थित आइसिपी रोडबाट गत शुक्रबार बिहान आठवटा विभिन्न भारतीय नम्बरका ट्रकमार्फत भारत लैजान लागेको शंकास्पद सुपारी मोरङ प्रहरीले नियन्त्रणमा लिएपछि तेस्रो मुलुकको सुपारीलाई नेपाली उत्पादन बनाएर भारत लाने क्रम नरोकिएको खुलेको हो।

प्रहरीले सुपारी लोड गरिएका युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका आठ ट्रकहरू नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएको उक्त दुई लाख १४ हजार २४० केजी सुपारीको मूल्य झन्डै १० करोड रहेको बताइएको छ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त सुपारी भारतको नागपुर लैजान लागेको चालकहरूले बयान दिएका छन्। उक्त सुपारी कसकाे हो र कहाँबाट ल्याइएको हो भन्नेबारे प्रहरीले अझैसम्म केही खुलाएको छैन। नियन्त्रणमा लिएको उक्त सुपारी नेपालमा उत्पादन भएको हो वा होइन भन्ने परीक्षण गराउनुपर्ने प्रहरीको अडान छ। तर, विराटनगर र भारतीय भन्सारबाट समेत जाँचपास भइसकेको सुपारी गैरकानुनी रूपमा प्रहरीले नियन्त्रणमा लिएर हैरानी दिन खोजेको विराटनगर भन्सार एजेन्टले बताएका छन्।

सुपारी जाँचपास गराउने भन्सार एजेन्ट किशोर शाहीले भने, ‘सुपारी उत्पादन संघ र उद्योग वाणिज्य संघले परीक्षण गरेर अनुमति दिइसकेको र नेपाल–भारत दुवैतर्फको भन्सारबाट जाँचपास भइसकेको सुपारी प्रहरीले नियन्त्रणमा लिनु गैरकानुनी हो।’ यसअघि विराटनगर भन्सार हुँदै ७० ट्रक सुपारी भारत निकासी भइसकेको उल्लेख गर्दै उनले अहिले मात्रै समातिनुमा आशंका व्यक्त गरेका छन्।

एजेन्ट शाहीका अनुसार नवीन घिमिरेको नाममा रहेको मनोकामना ट्रेडर्सले निकासी गरेको उक्त सुपारी आठवटा ट्रकमा दुई हजार सात सय ६८ बोरा लोड गरिएको छ। उक्त सुपारी नेपालको झापामा उत्पादन भएको भनेर नेपाली सुपारी विकास संघ र झापा उद्योग वाणिज्य संघले प्रमाणित गरिदिएका छन्। उक्त सुपारी विराटनगर भन्सारले २६ असार ०७९ मा प्रतिट्रक एक सय १३ रुपैयाँ राजस्व तिरेर जाँच पास गराएको थियो। भारतको जोगबनी भन्सारले चाहिँ पैठारीबापत २१ जुलाई २०२२ मा २७ लाख ५० हजार रुपैयाँ शुल्क लिएर विराटनगरदेखि सुनसरीको भन्टाबारी नाकाबाट रि–रुट गराउन अनुमति दिएको थियो।

भारतको बिहार राज्यको बथनाहमा फलामे पुल जीर्ण भएकाले अधिक भारवहन भएका मालवाहक सवारी अझै भन्टाबारी नाकाबाट रिरुट भएर आवतजावत गर्नुपर्ने बाध्यता छ। त्यसैले २६ असारमा विराटनगर भन्सारबाट जाँचपास भएर  जोगबनी भन्सारमा एक हप्ता ढिलो जाँच पास भएका सुपारी बोकेका ती ट्रक शुक्रबार  रिरुट गराउन विराटनगरतर्फ आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।

विराटनगर भन्सारबाट ९१ करोडको सुपारी निकासी, डेढ अर्बको आयात
विराटनगर भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा कुल ९० करोड ६७ लाखबराबरको २२ लाख ४८ हजार आठ सय पाँच केजी सुपारी भारत निकासी भएको छ। सो अवधिमा एक अर्ब २७ करोड ७७ लाख ७७ हजार मूल्यबराबरको ५७ लाख ४८ हजार दुई सय ५५ केजी सुपारी तेस्रो मुलुकबाट आयात भएको छ।

मिलेमतोमा उत्पादनभन्दा तेब्बर बढी सुपारी निकासी
नेपालमा सबैभन्दा धेरै सुपारी खेती झापामा हुने गर्दछ। तथ्यांकअनुसार झापामा मात्र बर्सेनि नाै हजार आठ सय मेट्रिक टन सुपारी उत्पादन हुन्छ। भारतले पनि तेस्रो मुलुकबाट आयात भएको कम गुणस्तरीय सुपारीको पैठारी नियन्त्रण गर्न नेपालबाट वार्षिक नाै हजार मेट्रिक टन नेपाली सुपारी मात्र निर्यात गर्ने अनुमति दिएको छ। त्यसैले अधिक नाफा कमाउन तेस्रो मुलुकबाट आयात भएको सुपारीलाई नेपाली सुपारी भनेर कागजी रूपमा प्रमाणित गराएर भन्सार मार्गबाट भारत निकासी गर्दै आएका छन्।

नेपाल सरकारले नेपालमा उत्पादित कृषिजन्य सामग्री निकासीमा अति न्यून भन्सार शुल्क लिने गरेको छ। त्यसैले व्यपारीहरूले मिलेमतोमा तेस्रो मुलुकबाट आयात गरेको सुपारीलाई नेपाली बनाएर निकासी गर्नेक्रम जारी राखेका छन्। यसले नेपाली सुपारी कृषकहरू भने मारमा पर्दै आएका छन्।

पहिले व्यापक रूपमा तस्करी भएर तेस्रो मुलुकबाट नेपाल आयात भएको सुपारी भारत जाने गरेको थियो। पछिल्लो समय प्रहरीले कडाइ गरेपछि व्यापारीहरूले आयातीत सुपारीलाई नेपाली बनाएर भन्सार मार्गबाटै निकासी गर्दै आएका छन्।