१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गुल्मी सदरमुकामनजिकै पर्ने रेसुंगा नगरपालिका– १२ उर्लेनीको ढुंगाखानीमा छेवैमा बच्चा सुताएर काम गर्दै गर्दै महिला । तस्बिर : नयाँ पत्रिका
२०७९ श्रावण ८ आइतबार ०६:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ज्यान जोखिममा राखेर ढुंगाखानीको काम 

Read Time : > 1 मिनेट
२०७९ श्रावण ८ आइतबार ०६:४४:००

गुल्मीको रेसुंगा नगरपालिका– १२ स्थित उर्लेनी ढुंगाखानीमा ६० भन्दा बढी विपन्न परिवारले ज्यान जोखिममा राखेर काम गरिरहेका छन् । हातमा पन्जा र आँखामा चस्माको त परैको कुरा, उनीहरूको टाउकोमा हेलमेटसमेत छैन ।

यहाँ पटक–पटक ढुंगा खस्ने र पहिरो आउने गरेको छ । केही समयअघि पहिरो खस्दा यहाँ काम गरिरहेका रेसुंगा– १२ का ५१ वर्षीय गुनबहादुर विक गम्भीर घाइते भएका थिए, उपचारका क्रममा उनको ज्यान गयो । सोही खानीमा काम गर्दागर्दै गुल्मी दरबार गाउँपालिका– १ बलिथुमकी गान्टीकुमारी कुँवर अपांग भइन् । उनी अहिले बिस्तारामै छिन् ।

करिब तीन दशकदेखि सञ्चालनमा रहेको यो ढुंगाखानीमा कुनै समय ठूलै संख्यामा मानिसले काम गर्थे, अहिले बिस्तारै काम गर्नेहरू घट्दै गएका छन् । क्रसरमार्फत साना गिट्टी उत्पादन सुरु भएपछि यस ढुंगाखानीबाट उत्पादित गिट्टीको बिक्री कम हुने गरेको छ । तर, अहिले पनि ६० भन्दा बढी परिवारले यहाँ काम गर्छन् । उनीहरूमध्ये धेरैजना बिहान उज्यालो भएदेखि रातिसम्म खट्छन् ।

मानव बस्तीबाट नजिक रहेको यस खानीले मजदुर मात्रै नभएर स्थानीयलाई पनि जोखिममा पारेको छ । ‘खानीले गाउँ नै पुरिने त्रास छ । मजदुरहरू ठूलो जोखिममा छन् । तर, स्थानीय सरकार र निकाय मौन बस्नु दुःखद विषय हो,’ एक स्थानीयले गुनासो गरे, ‘गाउँका केही व्यक्तिले खानीको दुरुपयोग गरे ।’

‘रोजगारीको अर्को उपाय छैन’ 
बाग्लुङ बडिगाड गाउँपालिका– ४ की टेकमाया परियारले ढुंगाखानीमै छोरी हुर्काइन् । अहिले पनि छोरीलाई छातामुनि राखेर ढुंगा कुट्छिन् । उनका श्रीमान् टीकाराम परियार पनि यही खानीमा काम गर्छन् । ढुंगा फोर्दा हात र खुट्टामा धेरैपटक चोट लागिसकेको छ । ‘छोरी बोकेर खानी आउने रहर होइन, बाध्यता हो । बल्लतल्ल घाम छेक्न त्रिपाल राखेका छौँ,’ उनले भनिन् । रोजगारीको अर्को उपाय नभएकाले मजदुरहरू यसरी ज्यानै जोखिममा राखेर काममा खटिएका हुन् । 

प्युठान गौमुखी गाउँपालिका– २ अर्खाकी ५२ वर्षीया सुनिता बुढामगरले उर्लेनी ढुंगाखानीमा काम गर्न थालेको १२ वर्ष भयो । उनी बिहान ८ बजे नै खाना बोकेर आएपछि साँझ अबेरसम्म खानीमा गिट्टी फोर्छिन् । ‘राम्रोसँग गिट्टी फोर्न पाए १० दिनमा एक ट्र्याक्टर पुग्छ । ठेकेदारले एक ट्र्याक्टरको तीन हजारदेखि तीन हजार पाँच सय दिन्छन्,’ सुनिताले भनिन्, ‘ढुंगा फोरेरै छोराछोरीलाई कक्षा १२ सम्म पढाएँ । १५ वर्षदेखि श्रीमान् गोविन्द बुढामगर परिवारको सम्पर्कमा छैनन् । बुढेसकालमा खानीमा आउने रहर थिएन । खानपान, कोठाभाडा र छोराछोरीको पढाइ खर्च यसैबाट पुर्‍याउनुपर्ने बाध्यता छ ।’

रेसुंगा नगरपालिका– १२ का वडाध्यक्ष चेहरसिंह टण्डनले खानी बन्द हुँदा धेरैको रोजीरोटी खोसिने भएकाले तत्कालका लागि सचेत रहन आग्रह गर्नेबाहेकको विकल्प नभएको बताए ।