मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ७ शनिबार १९:३२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विपद्‌मा प्रयोग हुने एम्बुलेन्स तथा उपकरण सशस्त्र प्रहरीलाई हस्तान्तरण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ७ शनिबार १९:३२:००

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपदमा प्रयोग हुने एम्बुलेन्स तथा उपकरण सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण भएका सामग्रीमा आठवटा विपद् सामूहिक उद्धार एम्बुलेन्स छन् । यी एम्बुलेन्समा भेन्टिलेटर, अल्ट्रासाउन्ड मेसिनलगायत ‘ए क्लास’ को एम्बुलेन्समा हुने सबै खालका उपकरण जडान गरिएका छन् । यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिन्छ ।
 
यी एम्बुलेन्समा सिसिटिभी क्यामेरा जडान गरिएकाले टाढा रहेका विशेषज्ञ डाक्टरहरूले समेत उपचारमा गाइड गर्न सक्ने बताइएको छ । मोबाइल अस्पतालका रूपमा समेत प्रयोग गर्न सकिने यी साधनहरू सातवटा प्रदेशमा एक–एकवटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ । यी एम्बुलेन्स सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपिएफ अस्पतालसँगको समन्वयमा सञ्चालन हुनेछन् ।
  
त्यसैगरी, भूकम्प, पहिरो, आगलागी, वन डढेलो तथा बाढीजस्ता विपद्का घटनापछि खोज तथा उद्धारका लागि आवश्यक पर्ने ६२ प्रकारका खोज तथा उद्धार उपकरणहरू पनि हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपांग कोषसँगको सहकार्यमा खरिद गरिएको अपांगता सहायता सामग्रीहरू राष्ट्रिय अपांग कोषलाई हस्तान्तरण गरिएको छ । ती सहायता सामग्रीमा ह्विलचेयर, कृत्रिम हातखुट्टालगायतका १५१ प्रकारका सामग्री छन् ।

हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले सबै सामग्री सम्बन्धित ठाउँमा पुर्याउन र जनधनको क्षति कम गर्न खोज तथा उद्धारमा सदुपयोग गर्न निर्देशन दिए । गृहसचिव टेकनारायण पाण्डेले मानिसको जीवन जोगाउन एम्बुलेन्स तथा उपकरणहरू महत्वपूर्ण हुने धारणा राखे । 

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरलेले एम्बुलेन्स तथा उपकरणहरूको व्यवस्थाले नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसबाट खोज तथा उद्धारमा ठूलो प्रभाव पर्ने बताए । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट वेला वेला प्राप्त उपकरणहरूले बलको खोज तथा उद्धार क्षमता अभिवृद्धि भएको उल्लेख गरे । 

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, राष्ट्रिय अपांग कोषका अध्यक्ष डेकराज भट्टराईलगायतको उपस्थिति थियो । यी सबै साधन तथा उपकरण नेपाल सरकारको बजेट स्रोतबाट व्यवस्थापन भएको हो । जसमध्ये, विपद् सामूहिक उद्धार एम्बुलेन्स र अपांगता सहायता सामग्री विश्व बैंकको सहयोगमा खरिद गरिएको हो।