१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण ६ शुक्रबार १६:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेत्रावती क्षेत्रको बृहत् विकासका लागि पहल गर्छु : राष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
२०७९ श्रावण ६ शुक्रबार १६:१४:००

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नुवाकोट–रसुवा सीमास्थित बेत्रावतीको उत्तरगयाधाममा अवलोकन भ्रमण तथा पूर्जा–अर्चना गरेकी छिन्। उत्तरगया गाउँपालिका– ५ स्थित उत्तरगयाधामको राम मन्दिर र विष्णुपादुकामा उनले पूजा गरेकी हुन्।

बेत्रावतीमा राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याललगायतले स्वागत गर्दै बेत्रावती क्षेत्रको बृहत् विकासका लागि पहल गरिदिन आग्रह गरेका थिए।

राष्ट्रपति भण्डारीलाई बेत्रावती अर्थात् उत्तरगया क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे समन्वय समिति प्रमुख घिमिरेले जानकारी गराएका थिए । उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालले बेत्रावती क्षेत्रको जानकारी समेटिएको पत्रसहित मायाको चिनो प्रदान गर्दै बेत्रावतीको विकासका लागि संघीय सरकारले नै ध्यान दिनुपर्ने बताए। अध्यक्ष अर्यालले उत्तरगयाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई स्थापित गराउन बृहत् धामको रूपमा विकासका लागि समन्वय गर्न आग्रह गरेका थिए।

सो क्रममा राष्ट्रपति भण्डारीले बेत्रावती क्षेत्र, बेत्रावती सन्धिस्थललगायतको विषयमा जानकारी दिँदै उक्त क्षेत्रको संरक्षणमा आफ्नो ठाउँबाट पहल गर्ने बताएकी थिइन्। विदुरस्थित सैन्य तालिम केन्द्रसम्म हेलिकोप्टरमा आएर विदुरबाट बेत्रावतीसम्म गाडीमा गएकी थिइन्। बेत्रावतीबाट फर्किएपछि सैन्य तालिम केन्द्रमा नुवाकोटका संघीय सांसद, प्रदेश सभा सदस्यहरू र स्थानीय तहका जनप्रतिनिधिहरूसँग भेटघाट गरी जिल्लाको विकासका लागि सबै एक भएर अघि बढ्न उनले सुझाव दिइन्।